परासी बजार डुबानमा, सुनवल डाइभर्सन बगायो, घोडाहा पुल भासियो, राजमार्ग अवरुद्ध

परासी बजार डुबानमा, सुनवल डाइभर्सन बगायो, घोडाहा पुल भासियो, राजमार्ग अवरुद्ध

परासी, भाद्र ११

अविरल वर्षाका कारण नवलपरासीको सदरमुकाम परासी बजार डुबानमा परेको छ। सदरमुकाम हुँदै बगेको झरही नदी ओभर फ्लो भै परासी बजारमा बाढी पसेको हो। बाढी पसेर बजार पुरै जलमग्न भएको छ भने सयौं घरहरु डुबानमा परेका छन्। पश्चिम नवलपरासीका झरही, तुरिया र पानभार खोलामा आएको बाढीले २ सयभन्दा बढी घर डुबानमा परेका छन् । सयौं बिघा खेतीमा बाढीले क्षति पुर्‍याएको छ । 

अविरल वर्षापछि आएको बाढीका कारण रुपन्देहीको देवदहस्थित घोडाहा खोला पुल भासिएको छ । पुल भासिएपछि पूर्व-पश्चिम राजमार्गमा यातायात सेवा अवरुद्ध भएको छ । पुल भार्सिसँगै उक्त सडकखण्ड हुँदै आवत-जावत गर्ने सवारी साधनहरु दुवैतर्फ रोकिएका छन् । यस्तै, जिल्लाका सुनवल, बर्दघाट, सरावल, प्रतापपुर र सुस्ता क्षेत्रमा पनि १ सयभन्दा बढी घर डुबेका छन् । बाढीले सुनवलस्थित महेन्द्र राजमार्गको डाइभर्सनमा क्षति पुर्‍याउँदा यातायात बन्द रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख दीपेश बस्यालले बताए । 

परासी बजारमा पर्ने नगरपालिकाको वडा १ सहुवाटिकर, वडा २ को मस्जिदटोल, हाटबजार टोल, ३ को सङम टोल, मालटोल,लोकतान्त्रिक टोल, वडा५ को प्रशासनटोल ड्राइभटोल, इमलीटोल, बुध्चोक्टोल र वडा६ पोखरापाली टोले पुरै डुबानमा परेको छ भने नगरका अरु वडा र क्षेत्रहरु बर्षाको पानीले जलमग्न भएको छ।

बाढीले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र आर्मी ब्यारेकसहित विभिन्न सरकारी कार्यालयहरूमा पनि २ देखि ५ फिटसम्म बाढीको पानी पसि डुबानमा परेको प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए । डिएसपी लामाले भने, ‘अहिले पानी परिरहेको छ बढ्दो बाढीले कतै मुभ हुन सकिएको छैन । जिल्लामा कहाँ के भाको छ पता लगाउन सकिएको छैन भने बजारको वास्तविक क्षतिको विवरण समेत संकलन पनि गर्न सकिएको छैन ।’ ्

यता सुनवल नगरपालिका  वडा ४ को एक १४ बर्षिय बालक बेपत्ता परेको प्रहरीले जनाएको छ। बस्तीमा बाढी पसेकाले उनी बाढीमा बगेको कि कता परेको भने यकिन हुन सकेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस