निउराेमा जीवन टिप्दै राजेश

निउराेमा जीवन टिप्दै राजेश

सुनसरी – सडक सबैको साझा हो । तर, गन्तव्य साझा हुँदैन । भिन्‍नभिन्‍न यात्रीका गन्तव्य पनि भिन्‍नभिन्‍नै। मानिसहरू दौडिरहन्‍छन् । गाडीहरू हुइकिरहन्‍छन् । गतव्यमा पुग्न । दु:ख-सुख यात्राका सहयात्री। दुखः आइपरे यात्रा लामो लाग्‍छ, सुखमा छोटो । सडकमा सबैले यात्रा मात्रै गर्दैनन् छेउमै जीवन खोज्‍नेहरू पनि भेटिन्‍छन् । उनीहरू दौडिदैनन्, दौडिएकाहरू रोकिउन् भन्‍ने अपक्षा राख्‍छन्। 

पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत मोरङको भाउन्ने-कानेपोखरी सडकखण्डको किनारामा एउटा पुरानो साइकल छ । च्यातिएको सेतो टीसर्ट, खुट्टामा फित्ते चप्‍पल, बोरा राखेर बसेका छन् राजेश लिम्बु । कानेपोखरी गाउँपालिका ५ का राजेशको दैनिकै दुई महिनादेखि फेरिएको छ ।

सडकदेखि पाँच सय मिटर पर चिसाङ खोला छ । वर्षा लागेसँगै खोलामा सङ्लो पानी बग्‍न छोडेको छ । खोलामा धमिलो पानी बगिरहेको भए पनि राजेशको जीवन धुमिल छैन । खोला धुमिल भएपछि सडक उनको जिउने सहारा बनेको छ । उनी सडक छेउमै निउरो बेच्‍छन् । उनको दैनिकी यसैमा वित्छ । यसबाट दैनिक पाँच सय रुपैयाँ कमाउँछन् । बिहान ५ बजेदेखि १२/१ बजेसम्‍म चारकोशे जंगलमा निउरो टिप्‍छन् । १ नबज्‍दै आयपुग्‍छन् सडक छेउ । मानिसहरूले उनीसँग निउरो किनेर तरकारी/साग खान्‍छन्, उनी खाना । निउरो उनको खाना मात्रै होइन आम्दानीको स्रोत पनि हो । 

‘जंगलभन्दा खोला खुलोस्’

राजेश हरेक वर्ष जेठ १५ गतेदेखि जंगल छिर्न थाल्छन् । खोलामा बालुवागिट्टी चालेर जीवन चलाउने उनलाई वर्खा लाग्यो कि चिन्‍ता थपिन्‍छ । वर्षामा खोला उर्लिन्‍छ, भेल बढ्छ सँगै बढ्छ राजेशको धड्कन र दौडधुप । उनी खोला छोडेर जंगल पस्‍छन् निउरो टिप्‍न । राजेशका लागि बन्द भएका खोलाका बाटाहरू जंगलतिर खुल्‍छन् । बहानभरी निउरो टिपेर दिनभरी सडक किनारमा न्युरो बेच्‍छन् । निजी सवारीसाधनमा आउने र बढी मोटरसाइकलमा यात्रा गर्नेहरू उनका ग्राहक छन् । एक मुठा (जंगली) सागको २५ रुपैयाँ पाउँछन् ।

उसो त खोला किनारमा जीवन चलाउने उनी एक्‍लै होइनन्। चिसाङ खोला किनारामा करिब दुई सय घर छन् । वर्खामा खोलामा काम बन्द हुने भएकोले उनी भारी मन लिएर जंगल बस्नुपरेको सुनाउँछन् । सरकारले सधैँभरी खोला खुल्ला गरिदिनुपर्ने राजेशको माग छ । खोलामा काम गर्दा मासिक ३० हजार आम्दानी हुन्‍थ्‍यो,’ उनले भने, ‘तर जंगल चहार्दा पाँच सय मुस्‍किलले कमाइन्‍छ । न राम्रो कमाइ न हुन्‍ छ नै । ‘बरु जंगल बन्द होस् तर खोला खुलोस्,’ उनको एकसुत्रीय माग छ । 

कोभिडभन्दा जंगलमा निउरो नभेटिने चिन्ता ​

कोभिड-१९ महामारी भएकाले भिडभाड नगरी बिक्री गर्नु भन्दै प्रहरी बेलाबेलामा दुःख दिने गरेको राजेशले गुनासो गरे । ‘प्रहरीको गाडी देख्‍नसाथ बोरा बोकी जंगलतिर छिर्ने गरेका छौ,’उनी भन्छन्,’ किन्न आएको केही समयसम्म भिड हुन्‍छ।‘ कोभिडले मरिने भन्दा पनि जंगलमा निउरो नभेटिने चिन्ता उनलाई छ । निउरो नपाए भोकभोकै बस्‍नुपर्ने बाध्यता छ ।

खोलामा काम गर्नुभन्दा जंगलमा निउरो खोज्न बढी जोखिम हुन्‍छ । ‘सिस्‍नोले पोल्ने, जुका लाग्‍ने, सर्पको डर र पानी पर्दा ओत लाग्ने ठाउँ हुदैन,’ उनी भन्छन्,’ एक मुठा निउरो जम्‍मा गर्न आधा घण्‍टा लाग्छ ।’

दिउँसो सडक तातिन्‍छ । उनी रुखको छहारीमा आउँछन् । पाँच सय रुपैयाँ आम्दानीले घरमा आवश्यक सामग्री लाने गरेको उनी बताउँछन् । पानीबाहेक सबै किन्नुपर्छ। जंगलको घाँस(निउरो) चामल, नुन र तेल खाने माध्यम बनेको छ ।

राजेशका तीन सन्तान छन् । छोरा पाँच कक्षामा र छोरी दुईमा पढ्छन् । घर नजिकैको सरकारी विद्यालयमा पढने भएकाले छोराछोरीको शुल्क लाग्‍दैन । ‘छोराछोरीको विद्यालय शुल्क तिर्नुपर्ने भए खोला र जंगलको भरमा बाच्‍ने मानिसले केही गर्न सकिदैन थियो,’ उनले बोराबाट निउरो निकाल्दै सुनाए ।

आफू नपढे पनि गिटी र जंगली साग बिक्री गरेर भए पनि छोराछोरीलाई राम्रो पढाउने सोचाइ राखेको राजेशले बताए । उनी कक्षा ४ सम्म मात्र पढेका छन् । ‘समयमा पढनु परेको भए बाच्नका लागि खोला-खोला र जंगल धाउनुपर्ने बाध्यताबाट टाढा रहनुपर्थ्यो,’ उनले भने ।

धनकुटाको ताङखुवामा जन्मेका ३१ वर्षीय राजेश १६ वर्ष अघि मोरङ झरेका थिए । १५ वर्षको उमेरमा बिहे गरेका उनी दुःखलाई जीवनबाट तल झार्ने आशामा आएका हुन् । तर, दुःख घटेन बरु पहाडजस्तै बन्‍यो । 

प्रतिक्रिया दिनुहोस