पाल्पामा ५५ वर्ष माथिकालाई कोरोना विरुद्धको खोप मंगलबारदेखी

पाल्पामा ५५ वर्ष माथिकालाई कोरोना विरुद्धको खोप मंगलबारदेखी

पाल्पा, साउन ४

साउन ५ गते मंगलबारदेखि ७ गते सम्म पाल्पामा कोरोना बिरुद्धको खोप अभियान सुरु हुने भएको छ । ६२ वर्षभन्दा माथिका तथा सरकारले तोकेको ५५ वर्षदेखि ६१ वर्ष उमेर समुहको लागि अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

साउन ५ गते देखि ७ गते सम्म उपलब्धताको आधारमा खोप दिईने भएकाले नागरिकता वा उमेर खुल्ने परिचय पत्र लिएर नजिकैको खोप केन्द्र बाट कोरोना बिरुद्धको खोप लगाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । माग भएअनुसार खोप आएको भए पेशागत क्षेत्रमा क्रियाशिल व्यक्तिलाई पनि खोप लगाउने भनिए पनि र खोपको उपलब्धता कम भएकाले सरकारको नीति अनुसार खोप लगाउने निर्णय भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

सरकारले तोकेको प्राथमिकताका आधारमा खोप लगाए पाल्पाका लागि ३२ हजार बढी कोरोना बिरुद्धको खोप आवश्यक पर्छ । तर खोप कम आएकाले यसअघि प्राथमिकतामा परेका तर छुटेका (६२ वर्ष माथिका) र ५५ वर्षदेखि ६१ वर्षका नागरिकलाई खोप लगाउन निर्णय भएको सुचना अधिकारी पन्थीले बताए । पहिलो प्राथमिकतामा रहेकाहरुलाई दिएर बाँकी खोप उपलब्ध भएमा निर्धारण गरिएको प्राथमिकताको आधारमा खोप दिईने छ ।

पाल्पामा यसअघि ६२ उमेर समूह भन्दा माथि र कोरोना नियन्त्रणका लागि अग्रभागमा खटेका मानिसले खोप लगाइसकेका छन् । यस पटक कोभिड विरुद्धको भेरोसेल खोपको पहिलो डोज खोप दिन लागिएको हो । यस संगै पाल्पाका १० वटै पालिकाहरुले खोप केन्द्र तोकेका छन् ।

प्रतिक्रिया दिनुहोस