तिनाउँमा पहिरोले ५ घर बगाउँदा सुतिरहेका वीरबहादुरको मृत्यू, ७ जना घाइते !

तिनाउँमा पहिरोले ५ घर बगाउँदा सुतिरहेका वीरबहादुरको मृत्यू, ७ जना घाइते !

पाल्पा, असार २४
पहिरोले घर बगाउँदा पाल्पाको तिनाउ गाउँपालिका–५ गिट्टीखानीमा घरमै सुतिरहेका एक जनाको मृत्यु भएको छ । पहिरोले पाँच घर बगाउँदा ७ जना घाइते भएका छन् । पहिरोले घर सहित बगेका अन्दाजी ४५ वर्षको बिर बहादुर गुरुङको पुरिएर मृत्यु भएको छ । ७५ वर्षीया सुन्दरी गुरूङ गम्भीर घाइते भएकी छिन् ।

बिहीबार बिहान ४ बजेतिर गएको पहिरोमा पुरिएर ४ वर्षीय आरभ परियार बेपत्ता भएका छन् । आरभका बुवा रमेश र आमा पूजा परियार पनि घाईते अवस्था उद्दार गरिएको छ । तिनाउँ गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष बलबहादुर दर्लामीले धेरै माथिबाट गिट्टी र ठूला ढुङ्गा सहितको पहिरोले ५ घर बगाएको बताए । उनी भन्छन्, ‘धेरै माथीबाट पहिरो आएको छ । खानीका कारण वा अन्य पनि कारण हुन सक्छ ।’ अहिले पहिरोका कारण विस्थापितहरुलाई स्थानीय बालकल्याणी आधारभूत विद्यालय, मस्याममा राखिएको वडाध्यक्ष दर्लामीले बताए ।

पहिरोमा परि स्थानीय बर्ष २६ को रमेश परियार, २४ वर्षकी पुजा परियार, ५० वर्ष को बल बहादुर पुन, २० वर्ष को आकाश तामाङ, २२ वर्षको दिल बहादुर राना र दिपेश पुन घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य नै रहेको छ । घाइतेको लुम्बिनी मेडिकल कलेजमा उपचारको लागि पठाईएको छ ।
स्थानीय प्रेम श्रेष्ठले विस्थापितहरुलाई खाना र बासका लागि अस्थायी रुपमा विद्यालयमा व्यवस्थापन गरिएको बताए । उनले स्थानीयकै सहयोगमा घाईतेहरुलाई उद्दार गरि पठाईएको बताए ।

यता दर्जनौं स्थानमा पहिरोका खसेका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडकखण्ड बन्द भएको छ । धेरै स्थानमा पहिरो खसेका कारण आज राजमार्ग सञ्चालनमा आउन कठिनाई पर्ने बताइएको छ ।
घटनास्थलमा खटिरहेका प्रहरी निरीक्षक लक्ष्मण पचभैंयाले बेपत्ता बालकको स्काभेटरको सहयोगमा खोजी कार्य गरिरहेको बताए । उनले पानी परिरहेका कारण खोजी कार्यमा केही कठिनाई भएको बताए । यद्यपी सडक खुलाउने प्रयास भने जारी छ । तानसेनतर्फ र तिनाउँतर्फबाट डाेजर लगाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस