गण्डकीमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्दै विपक्षी गठबन्‍धन

गण्डकीमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्दै विपक्षी गठबन्‍धन

२८ जेठ, पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न आह्वान गरेकी छन् ।

संविधानको धारा १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि १६८(५) अनुसार सरकार गठनको प्रक्रिया सुरु भएको हो । प्रदेश प्रमुख पौडेलले भोलि २९ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गरेकी छन् ।

यसैबिच कांग्रेस नेतृत्वको गठबन्धन बहुमत दाबी गर्दै प्रदेश प्रमुख कहाँ गएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले बहुमत दाबी गरेर आउन दलहरूलाई आह्वान गरेपछि विपक्षीहरू प्रदेश प्रमुख कहाँ गएका हुन् । 

कांग्रेसका १५, माओवादीका ११, जनमोर्चाका २ (कृष्ण थापा बाहेक ), जनता समाजवादीका २, स्वतन्त्र सांसद दीपक मनाङेको हस्ताक्षरसहित उपस्थित भएको जनाइएको छ ।  प्रदेश प्रमुखले दाबी हेरेर सरकार गठन गर्न दिने/नदिने निक्र्योल गर्ने छिन् । गण्‍डकीमा माओवादीका १२ सांसद भए पनि एक जना सभामुख छन् । 

संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि भोलिसम्म बहुमत दाबी गरेर आउन प्रदेश प्रमुख सीताकुमारी पौडेलले आह्वान गरेकी हुन् ।

बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन असफल भएपछि प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेकी हुन् । ६० सदस्यीय गण्डकी प्रदेश सभाका २७ सांसदले उनलाई विश्वासको मत दिएका थिए । अविश्वासमा ३० र १ जना तटस्थ बसेका थिए। १ सांसद अनुपस्थित रहे । जनमोर्चाका कृष्ण थापाले तटस्थ बसेका थिए ।

यसअघि कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरेर गठबन्धनले अविश्वास प्रस्ताव समेत ल्याइएको थियो । २ वैशाखमा अविश्वास प्रस्ताव प्रदेश सभा सचिवालयमा पेश भएको थियो । तर अविश्वास प्रस्तावमा मतदान हुन पाएन ।

१५ वैशाखको बैठकमा मतदान हुने कार्यसूची भए पनि जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएपछि सभामुख नेत्रनाथ अधिकारीले बैठकलाई अनिश्चितकालका लागि स्थगित गरिदिएका थिए । पछि कार्यव्यवस्थाको बैठकले २७ वैशाखमा अविश्वासमा मतदान हुने निर्णय गरेको थियो । मतदान हुनु एक दिनअघि मुख्यमन्त्री गुरुङले राजीनामा दिएर मार्ग प्रशस्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस