कृषि उपज संकलन गर्न रम्भामा कृषि एम्बुलेन्स

कृषि उपज संकलन गर्न रम्भामा कृषि एम्बुलेन्स

रम्भा गाउँपालिकामा कृषि उपजको बजारीकरणको लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याईएको छ । स्थानिय उत्पादनको बिक्रि गर्न कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

रम्भा गाउँपालिका भित्रका उत्पादनहरू बिक्रि वितरण गरि किसानकाे उत्पादन बजारसम्म पुर्याउन सहज हाेस् भनेर कृषि एम्बुलेन्स सञ्चालनमा अाएकाे अध्यक्ष भण्डारीले बताए । रम्भा गाउँपालिका वडा नं १ अर्सेदीमा एक कार्यक्रमको आयोजना गरि सुरु गरिएको कृषि एम्बुलेन्स कार्यक्रममा पालिकाको विभिन्न बजार क्षेत्रमा लगेर किसनाको उत्पादनलाई विक्रि गर्ने लक्ष्य पालिकाले लिएको छ ।

हेफर इन्टरनेश्नल र उपहार समाजिक उद्यमी महिला सहकारी संस्थाको सहकार्यमा कृषि एम्बुलेन्स कार्यक्रम सुरु गरिएको हो । कृषि एम्बुलेन्स मार्फत बेसीको उत्पादन लेकमा र लेकको उत्पादन बेसीमा ल्याएर बजार सन्तुलन कायम गर्ने लक्ष्य अनुरुप रम्भाको हुँगी, फोक्सिङ्गकोट, ताहुँ, पिपलडाँडा, अगाहाखोला लगायतको स्थानिय बजारमा कृषि एम्बुलेन्सले कृषि उपज पु्याउने छ ।

गाउँघरमा फालिएर खेरा गएको सागसब्जी,तरकारी,फलफूल लगायको कृषि उत्पादनको घरबाट नै बिक्रि भई राम्रो मुल्य पाउँदा कृषिप्रति हौशला थपिएको रम्भा १ हुँगीकी कृषक कुबिजा बस्याल अर्यालले बताइन् । गत वर्ष समेत कृषि एम्बुलेन्स मार्फत खेतबारीबाटै कृषि उपजको बिक्रि हुँदा स्थानिय सरकार रम्भा गाउँपालिकाले कृषि एम्बुलेन्स सुरु गरेर राहात मिलेको कृषक अर्यालको भनाई छ ।

निषेधाज्ञा बाहेकको समयमा उत्पादको बिक्रिको लागि छिमेकी जिल्लाको मालुङ्गगा,गल्याङ्ग लगायतको बजारमा डोकोमा बोकेर लैजानुपर्ने बाध्यता रहेकोमा निषेधाज्ञाको समयमा कृषि एम्बुलेन्स सुरु हुँदा घरघरबाटै उत्पादनले बजार पाउँदा राहात मिलेको कृषक अर्यालले बताइन् ।

गत वर्षको कोरोना महामारीको बिचमा समेत रम्भाले कृषि एम्बुलेन्स सुरु गरेको थियो । कृषको माग र उनिहरुलाई कृषि कर्ममा निरन्तरता प्रदान गरि हौशलाको लागि कृषि एम्बुलेन्स प्रभावकारी भएको वडा नं १ हुँगीका वडा अध्यक्ष कृष्ण प्रसाद रेग्मीले बताए । कृषि एम्बुलेन्स मार्फत लिचि, आलु, कुरिलो, बण्डा, खुर्सानि, सिमी, बोडी, भान्टा, साग लगायतको उपजको संकलन गरि बिक्रि हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस