लिची बिक्रि नहुँदा कृषक समस्यामा, फेसबुकले झुक्यायाे किसान !

लिची बिक्रि नहुँदा कृषक समस्यामा, फेसबुकले झुक्यायाे किसान !

पाल्पा, जेठ २४

निषेधाज्ञाका कारण लिची बिक्रि नहुँदा किसान समस्यामा परेका छन् । पाल्पाको रम्भा गाउँपालिका–१, हुँगीमा व्यावसायिक रुपमा लिची उत्पादन हुँदै अाएकाे भएता पनि निषेधाज्ञाका कारण लिची बिक्रि हुन नसकेकाे हाे ।

लिचीको बिरुवासमेत आफैँ उत्पादन गरेर व्यावसायिकरुपमा लिची खेती गरेका किसानहरु समस्यामा परेका छन् । राम्राे अाम्दानी दिने लाेभमा खेत तथा बारीमा लगाएकाे लिची झरेर कुहिन थालेपछि समस्या थपिएकाे कृषक कृष्णबहादुर काेइरालाले बताए । गत वर्ष पनि लिची बेच्न पाइएन याे वर्ष पनि यस्तै भयाे, कृषक काेइरालाले भने, लिची खेती गर्दा वर्षमा एक पटकमात्र उत्पादन हुने हाे, झण्डै चार क्विन्टल लिची ब्रिक्री नभएपछि बाेटमै कुहिएर झर्न थालेकाे छ । उनले बुटवलका व्यापारीकाेमा पुर्याउन सके लिचीकाे माग उच्च रहेकाे तर यसतर्फ गाउँपालिकाकाे ध्यान नपुगेकाे बताए ।

दुइ वर्ष अगाडी यस क्षेत्रकाे लिचीलाई प्रतिकिलो रु ७० मा बोटबाट नै खरिद हुँदै आएकाे थियाे । पाल्पाको हुगीमा उत्पादन हुने लिची पोखरा, स्याङ्जा, रुपन्देही र पाल्पाको स्थानीय बजारमा खपत हुँदै आएकोमा निषेधाज्ञाका कारण बजार पुर्याउन समस्या भएकाे हाे । कृषक शान्ति सापकाेटाले वर्षभरिकाे मेहनत गरेर फलाएकाे लिचीले बजार नपाउँदा समस्या परेकाे गुनाशाे गरिन् । पहाडी जिल्ला पाल्पाको हुगीमा उत्पादित लिची नेपालको उत्कृष्ट रहेको यहाँका किसानको दाबी छ । हुगीमा उत्पादित लिचीको दाना (बियाँ) सानो हुने र लिचीको सेतो भाग बाक्लो, रसिलो हुने भएकाले यहाँको लिचीको बजार राम्रो रहेको लिची व्यवसायीहरू बताउँछन् । कालीगण्डकी कोरिडर विस्तार भएपछि यहाँका किसान यातायातको पहुँचमा छन् । तर बजार पुर्याउनका लागि गाउँपालिकाले यथाेचित् पहल नगरेकाे कृषक हरिकुमारी न्याैपानेले बताइन् ।

लिची खेतीबाट वार्षिक रु ५० हजारदेखि दुई लाख ५० हजार आम्दानी गर्ने करीब २० जनाभन्दा बढी किसान रहेका छन् । समतल र गर्मी मौसममा लिची राम्रो हुने गर्दछ ।

गाउँपालिका अध्यक्षकाे फेसबुकले झुक्यायाे !

किसानकाे लिची ब्रिक्री नभएकाे समयमा रम्भा गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारीकाे फेसबुकवालमा गाउँपालिका भित्रका किसानकाे लिची खरीद गर्न कृषि एम्बुलेन्स अाउने खबरले हाैसिएका कृषक पूनः निराश बनेका छन् । कृषि एम्बुलेन्स अाउने खबर पाएका किसानकाे खुसी एक दिन पनि टिक्न नपाउँदै हराएकाे छ । गाउँपालिका अध्यक्षकाे फेसबुक वालबाट समेत उक्त सूचना डिलिट भएपछि किसान निराश बनेका हुन् ।

यसै विषयमा रम्भा गाउँपालिका १ का युवा इश्वर काफ्ले फेसबुकमा यस्ताे लेखेका छन्…

लिच्चिको सिजन कृषकको फसलले सुबिधा पाउने अभिव्यक्ति एकाएक कसरी डिलेट भयो ?
हामिले कुन अप्सनबाट बुझौं ? कृषि एम्बुलेन्स संचालन गर्न नसकेको ?
या हुङ्गिका ब्यापारिलाई झटारो हानेर तर्साएको ? रम्भा मार्टमा समान चाहिँ रोबर्टले झार्छ पोखरा बाट ? कि पालिकाको नाम राखेकाहरुमा कोरोना सर्दैन ? एउटा् जिम्मेवार ब्याक्तीको एकाउन्ट बाट लेखिएका अभिव्यक्ति डिलेट हुन्छ्न भने ? हामी कुन आधारले बिश्वास गर्नु अभिभावक भनेर ? #दालमेकुचकालाहै

कृषि एम्बुलेन्स सञ्चालनका सम्बन्धमा रम्भा गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले अाफूहरूले खरीद गरेर बिक्री गर्न नसक्ने तर धेरै भिडभाड हुने गरि बिक्री नहाेस् भनेर फेसबुकमा पाेष्ट भएकाे बताए । फेसबुककाे पाेष्ट किन डिलिट भएकाे हाे त भन्ने सेराेफेराेकाे जिज्ञाशामा अध्यक्ष भण्डारीले भने त्यो होइन, एक दुईजना गएर खरीद गर्नेलाई केही भएन भनेका छाैं, धेरै व्यापारीहरु ग्रुपमा आउँदा काेराेना फैलिन सक्छ भनेर उल्लेख गर्न खाेजेकाे तर याे सबै वडा कार्यालय मार्फत हाेस् भनेर त्यसाे भएकाे हाे । उनि भन्छन्, किसानकाे लिची बिक्री हाेस् भनेर पहिराेका कारण राेकिएकाे बाटो खोलेर भोलीबाट कृषि एम्बुलेन्स चलाउँदैछाैं । उपहार सामाजिक उद्यमी महिला समूहबाट एम्बुलेन्स चल्छ ।

प्रतिक्रिया दिनुहोस