पाल्पामा बजेटः पर्यटकीय पूर्वाधार विकाससँगै जल यातायातसम्मका कुरा

पाल्पामा बजेटः पर्यटकीय पूर्वाधार विकाससँगै जल यातायातसम्मका कुरा

सुशीला रेग्मी
रामपुर (पाल्पा) १८ जेठ
ऐतिहासिक एवम् पर्यटकीय जिल्ला पाल्पामा पर्यटकीय पूर्वाधार विकाससँगै जल यातायातसम्मका कुरा आर्थिक वर्ष २०७८÷०७९को बजेटमा समेटिदा यहाँका स्थानीयमा आशा जगाएको छ ।
आगामी आर्थिक वर्ष २०७८÷०७९ को वजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पाल्पाको राम्दीदेखि देवघाटसम्म जल यातायात सञ्चालनका लागि अध्ययनका लागि बजेट व्यवस्थापनका साथै पर्यटकीय पूर्वाधार विकासका लागि विभिन्न योजना अघि सारिएको बताउनुभयो ।
कालीगण्डकी करिडोर निर्माण कार्यको निरन्तरता दिई कालीगण्डकीको राम्दीदेखि देवघाटसम्म जल यातायात सञ्चालनार्थ सरकारले वजेट व्यवस्थापन गर्ने वजेट भाषणमा उल्लेख छ ।
धार्मिक, साँस्कृतिक, पर्यटकीय हिसाबले महत्वपूर्ण कालीगण्डकीमा जल यातायात सञ्चालनका निम्ति सरकारले प्राथमिकतामा समेटिएपछि कालीगण्डकी तटका नागरिकले धेरै फाइदा लिन सक्ने नेकपा एमाले रामपुर नगर ईन्चार्ज राजुप्रसाद श्रेष्ठ बताउनुहुन्छ ।
“कालीगण्डकी नदी राम्दीबाट डाईभर्सन गर्ने कुरा पनि उठिरहेको छ, हामी तल्लो क्षेत्रका नागरिक डाईभर्सन गर्न नदिने पक्षमा उभिएका छौँ, प्रसङ्ग जे उठेपनि बहेको नदीको पानीलाई सदुपयोग गर्दै व्यवसायिक रुपमा जल यातायात सञ्चालनका लागि नेपाल सरकारले ल्याएको योजना अति उत्तम छ, जलबिनाको जल यातायात सञ्चालनका लागि सरकारले पक्कै पनि योजना अगाडी त सारेको छैन होला” उहाँले भन्नुभयो ।
कालीगण्डकी वारिपारी सिंचाई अभावमा सुख्खा वस्ती धेरै रहेको हुँदा त्यस क्षेत्रमा सिंचाईका लागि लिफ्टिङ्ग प्रणालीमार्फत खेतबारीमा सिंचाई सुबिधा, नदीमा जल यातायात सञ्चालन भएपछि कालीगण्डकी वेशीका तल्ला क्षेत्रका नागरिकमा ठूलो परिवर्तन आउने श्रेष्ठ बताउनुहुन्छ ।
बहेको पानीलाई सदुपयोग गरी आयस्रोत लिने र पर्यटकीय क्षेत्र विकास गर्न कालीगण्डकीमा जलयात्राका सञ्चालनका लागि विभिन्न समयमा विभिन्न निकायबाट परीक्षणका कार्य पनि भइरहेको छ ।

कालीगण्डकीको तल्लो भाग राम्दीदेखि देवघाटसम्म नियमित ¥याफ्टिङ चलाउन कर्णाली ¥याफ्टिङ एण्ड एड्भेन्चरका बिज्ञ सहितको टोलीले दुई वर्ष अघि नै तीन खण्डमा कालीगण्डकीमा सफल परीक्षण गरिसकेका छन् । सो परीक्षण पश्चात यो क्षेत्र पारिवारिक जलयात्राका लागि अति उत्तम मानिएको विज्ञ सतिको टोलीले निष्कर्ष निकालेपछि यसले व्यापक चर्चा पाएको छ ।
पारिवारिक जलयात्राको अनुभूति दिलाउन, व्यवसायिक हिसाबले नियमित जलयात्रा सञ्चालन गर्न रामपुर नगरपालिकाको आयोजनामा बृहत कालीगण्डकी जलयात्रा महोत्सव पनि गरियो ।
विसं २०७६ को वैशाख ६ र ७ गते नेपाल पर्यटन बोर्डको प्रर्वद्धनमा भएको बृहत् जलयात्रा महोत्सव पश्चात् धेरैले यहाँ व्यवसायिक ढङ्गबाट जलयात्रा गर्न सुझाव समेत दिएका छन् । यस नदीमा नियमित जलयात्राका माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने प्रशस्त सम्भावना छ ।
कालीगण्डकी वेशीका पाल्पाको रम्भा गाउँपालिका, स्याङ्गजाको चापाकोट नगरपालिका, तनहुँको घिरिङ गाउँपालिकाले ऐक्यबद्धता जनाउँदै यस नदीको पानीलाई पर्यटनसँग जोडेर पारिवारिक जलयात्रा गरी विश्वसामु चिनाउन स्थानीय तहको पहलमा अगाडी बढ्ने बताइएको छ ।
करिव तीन सय जना सहभागीले रमाईलोसँग राम्दीको मालुङ्गाधामदेखि पुट्टारघाटसम्म जलयात्रामा मनोरञ्जन लिए । यसबाट पनि धेरैले व्यवसायिक तवरबाट जलयात्रा गर्न सुझाव दिएका छन् ।
त्यस समयमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ्गले नदी महोत्सवको उद्घाटन गर्नुभएको थियो । उहाँले पवित्र यस कालीगण्डकी नदीमा जलयात्रा सञ्चालन गरेर नागरिकले भरपुर आयस्रोत लिन सक्ने बताउनुुहुदै ड्राईभर्सन गरेर अन्यत्र लगिए कालीगण्डकीको तल्लो क्षेत्रमा ठूलो असर पुग्ने बताउनुभएको थियो ।
नदी ड्राईभर्सन भएको खण्डमा जलवायु, वातावरणिय, धार्मिक तथा साँस्कृतिक अस्तित्व नै मेटिने बताउँदै मन्त्री गुरुङ्गले गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको भविष्य कालीगण्डकीसँग जोडिएकाले पनि नदीलाई ड्राईभर्सन गरेर अन्यत्र लैजान नहुने बताउनुभएको थियो ।
मन्त्री गुरुङ्गले राम्दीबाट कालीगण्डकी नदी थुनेर नेपालका तराई र भारतीय भागमा लैजादा तल्लो भेगका जनताको शिर काटीए सरह हुने पनि अभिव्यक्ति दिनुभएको थियो ।
नदी महोत्सवको उद्घाटनका क्रममा “हाम्रो शिर काट्न हामी तयार छौँ तर जनताका शिर काट्न कुनैपनि हालतमा हामी दिदैनौ” मन्त्री गुरुङ्गले भन्नुभयो । गण्डकी प्रदेशले पनि कालीगण्डकी ड्राईभर्सन गरेर अन्यत्र लैजान नदिने निर्णय पनि गरेको त्यस समयमा मन्त्री गुरुङ्गले जानकारी गराउनुभयो ।

उहाँले राष्ट्रिय योजनाका रुपमा नदी ड्राईभर्सन गर्न नहुने कुरा केन्द्रिय स्तरमा नै पुगिसकेको बताउँदै शिर देखि तीर सम्मका जनता एक भएर यस कार्यमा लाग्न नागरिकलाई आग्रह गर्नुभएको थियो ।
कालीगण्डकी नेपालकै नदीमध्ये महत्वपूर्ण नदी रहेको र कालीगण्डकीसँग जोडिएका लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका विभिन्न भाग पुल, सडक समस्याका कारण पछाडी परिरहेको बताउँदै कालीगण्डकी उपत्यका विकासका लागि एकिकृत विकास आवश्यक रहेको उहाँले बताउनुभयो ।
कालीगण्डकीले दुई प्रदेश बीचको भबिष्य जोडिएकाले पनि बिभिन्न सडक सञ्जाललाई जोडेर कालीगण्डकी उपत्यकाको विकास गर्नुपर्नेमा मन्त्री गुरुङ्गले जोड दिनुभएको थियो ।
यस पटकको बजेट भाषणमा सरकारले कालीगण्डकीलाई जलयात्रा सञ्चालनका लागि समावेश भएकोमा सरकारलाई धन्यवाद दिन चाहान्छु तर यो सँगै कालीगण्डकी तिनाउँ डाईभर्सन योजना पनि समावेशमा परेको हुँदा जनतालाई भ्रम सिर्जना गरेजस्तै लागेको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।
“राम्दीबाट नदीलाई डाईभर्सन गरेर तिनाउँमा लैजाने प्रक्रियाका बिरोधमा नदी बचाउँन र यसको साँस्कृति, धार्मिक अस्तित्व जोगाउनका लागि हामी लागि परिरहेका छौँ, अहिले कालीगण्डकीमा जल यातायात सञ्चालन र तिनाउँ डाईभर्सन योजना पनि एकैसाथ समावेश गरिदा नागरिकलाई दोधारमा पार्ने काम भएको जस्तो मात्र लागेको छ” नगर प्रमुख थापाले भन्नुभयो ।
सरकारले कालीगण्डकी नदीमा जल यातायात सञ्चालनका लागि ल्याएको योजना स्वागतयोग्य र धैरै राम्रो रहेको हुदा नदीमा व्यवसायिक तवरले जल यातायात सञ्चालन गरेर आर्थिक समृद्धि भित्र्याउन सकिने रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी बताउनुहुन्छ ।
तिनाउँ कालीगण्डकी डाईभर्सन आयोजना अन्तर्गत नौ डायामिटरको सुरुङ्ग निर्माण हुनेछ । कालीगण्डकीमा जल यातायात सञ्चालन र तिनाउँ डाईभर्सन योजना पनि एकैसाथ समावेश गरिदा बिरोध र समर्थनका नागरिकले आ आफ्ना तर्क, अभिव्यक्ति सामाजिक सञ्जालमार्फत व्यक्त गरिरहेका छन् ।
कतिपयले कालीगण्डकीमा जल यातायात सञ्चालन हुने कुराले नागरिकको जीवनस्तर उकासिनेमा खुशी व्यक्त गरेका छन् भने कतिपयले तिनाउँ डाईभर्सन योजना पनि वजेट भाषणमा सम्बोधन भएकोमा राम्दीबाट पानी थुनेर तिनाउँमा लैजाने कार्यले तल्लो क्षेत्रमा नदीमा पानीको बहाव घट्ने हुदा कालीगण्डकीमा जल यातायात सञ्चालन कार्य वजेट भाषणमा मात्र सिमित बन्ने पनि टिकाटिप्पणी गरिरहेको पाइन्छ ।
यस्तै नेपाल सरकारको तर्फबाट कालीगण्डकी नदीमा जलयान अर्थात पानीजहाज सञ्चालनका निम्ति विसं. २०७७ को चैत पहिलो साता सर्वे गरिएको छ । पाल्पाको राम्दीदेखि देवघाटसम्म जलयान सञ्चालन निम्ति छ वटा समूहले स्थलगत परीक्षण तथा सर्वे गरेको हो । पाल्पाको राम्दीदेखि देवघाटसम्म एक सय ३५ किलोमिटर जलयान सञ्चालनको योजना बनाइएको छ ।
सरकारले नेपालका विभिन्न नदीमा जस्तै कालीगण्डकीमा पनि पानीजहाज सञ्चालनका निम्ति परीक्षण गर्न सर्वे गरिएको सर्वेका क्रममा नेपाल पानीजहाज कार्यालय काठमाडौंका निमित्त प्रमुख विपिनराज भण्डारीले जानकारी दिनुभयो ।
उहाँले अन्र्तराष्ट्रियस्तरमा सञ्चालन हुने पानीजहाजमा नेपालको झण्डा राखेको पानीजहाज सञ्चालन गर्ने योजना रहेको र आन्तरिक रुपमा नेपालका नदीमा पानीको बहाव अनुसारका साना खालका पानी जहाज सञ्चालन गरिने बताउनुभयो ।
कोशी नदीमा तुम्लीङटारदेखि चतरासम्म, नारायणीमा देवघाटबाट तल गण्डकसम्म, कालीनदीमा राम्दीदेखि देवघाटसम्म तथा कर्णाली नदीमा जहाज सञ्चालनका निम्ति सर्वेको काम गरिएको नेपाल पानी जहाज कार्यालय काठमाडौंका निमिक्त प्रमुख भण्डारीले बताउनुभएको थियो ।
सर्वे कार्यमा निस्कनुभएका जलश्रोतविद् अनुप खनालले नदीमा पानीको सतहलाई हेर्दा पानीजहाज सञ्चालनका निम्ति सम्भव रहेको बताउनुभयो ।
उहाँले कालीगण्डकी नदीमा नेपालमै पहिलो पटक अत्याधुनिक मेसिनबाट पानीको गहिराई नाप गरिएको, केही ठाउँमा गहिराई नपुग्ने तथा छेउछाउका ढुङ्गा हटाउनुपर्ने ठाउँमा हटाउने र अन्र्तराष्ट्रियस्तरमा भएका प्रयासलाई प्रयोग गरी तयार गरेको प्रतिवेदन सरकारलाई बुझाउने जानकारी दिनुभयो ।
छ वटा टोलीले राम्दीदेखि देवघाटसम्म कालीगण्डकी नदीका विभिन्न भागमा परीक्षण गरेको छ । विसं २०४०÷०४१ सालतिर पानीको अनुमानित आँकलनबाट पनि सञ्चालन भएको जलयान पनि त्यो समयमा कालीगण्डकी नदीमा सफल भएकोले अहिले प्रविधिको प्रयोगबाट सुरक्षित हिसावले नाप जाँच परीक्षण गरिएको टोलीले जानकारी दिएको छ ।
नेपालकै एकमात्र शालिग्राम पाइने कालीगण्डकी नदीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न पानीजहाज अर्थात् जलयान सञ्चालन गरेर प्रशस्त आयस्रोत लिन सकिने छ । पानीजहाज सञ्चालन कार्य सुरु भएपछि गण्डकी वारिपारीका स्थानीयले धेरै फाइदा लिन सकिने हुदा सफल परीक्षण पश्चात् व्यवसायिक रुपमा जलयान सञ्चालन गर्न सम्बन्धित निकाय अग्रसर भएर लाग्नुपर्ने छ ।
धार्मिक, ऐतिहासिक, प्राकृतिक र पर्यटकीय तथा जैविक विविधताले भरिपूर्ण मानिएको कालीगण्डकीमा जलयात्रा गरेर प्रशस्त आम्दानी लिन सकिने सम्भावना छ । शालिग्राम पाइने नदीका नामले विश्वसामु परिचित बनेको यो नदीमा अब नियमित जलयात्रा गरेर आम्दानीको स्रोत जुटाउन सकिन्छ ।
लुम्बिनी प्रदेश र गण्डकी प्रदेशलाई जोड्ने यस नदीमा व्यवसायिक तवरले जलयात्रा सञ्चालन गरियो भने तल्लो क्षेत्रका स्थानीयको आर्थिक समृद्धिमा टेवा पुग्ने देखिन्छ ।
चारैतिरबाट सडक सञ्जाल जोडिएको यो क्षेत्र धार्मिक, पर्यटकीय क्षेत्रका हिसाबले अत्यन्तै राम्रो मानिएकाले नदीको बहेको पानीबाट पनि आर्थिक लाभ लिने गरी नियमित जलयात्रा सञ्चालन गरेको खण्डमा तल्लो तटीय क्षेत्रका नागरिकले आर्थिक लाभ लिनेछन् ।
कालीगण्डकी उपत्यकालाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने, नियमित जलयात्रा गरी रोजगारीबाट आयआर्जन बढाउन, विश्वभर यस कालीगण्डकीलाई चिनाउन, नदी र जीवनको महत्व जोडिने भएको हुँदा यसको उपयोग गरी स्थानीयले प्रशस्त आम्दानी गर्ने सुनौलो अवसर प्राप्त गर्नेछन् ।


धार्मिक महत्वका हिसाबले परिचित यस नदीमा जलयात्राबाट कालीगण्डकीले धेरैलाई रोजीरोटी गर्ने अवसर प्रदान गर्न सकिनेछ । राष्ट्रिय गौरवकै आयोजना रहेको कालीगण्डकी करिडोर यसै नदीसँगै जोडिएकाले पनि यहाँ जलयात्राबाट गतिलो आम्दानीको स्रोत भित्र्याउन सकिन्छ ।
मुक्तिनाथदेखि देवघाटसम्म जोड्ने कालीगण्डकी करिडोरको काम धमाधम अगाडी बढ्दैछ । भोटेकोशी, त्रिशुली नदीमा दुई चार दिनको समय लगाएर रमाउने पर्यटकहरूलाई यहाँसम्म ल्याउने वातावरण बनाइयो भने जलयात्राका लागि कालीगण्डकी धेरैको रोजाई बन्न सक्छ ।
लुम्बिनी र पोखराको बीच भागमा पर्ने भएकाले पनि कालीगण्डकीको जलयात्रालाई सफल व्यवसायिकताका रुपमा लिन सकिन्छ ।
पाल्पामा कुन कुन क्षेत्रमा वजेट विनियोजन
अर्थमन्त्री पौडेलले शनिबार प्रस्तुत गर्नुभएको बजेटमा सिद्धबाबामा सुरुङमार्ग निर्माण र स्तरोन्नति, सिद्धार्थ राजमार्गलाई डबल लेन बनाउने, पाल्पा तम्घास सडकको प्रभास जोर्ते खण्डमा सुरुङ्गमार्ग निर्माणको लागि सम्भाव्यता अध्ययन गर्ने र विस्तृत परियोजन प्रतिवेदन तयार गर्न वजेट विनियोजन भएको छ ।
ऐतिहासिक पुरानो शहर तानसेनलाई शहर पूर्वाधार विकास गरि पूनः जागृत गर्ने, रानीघाटमा आधुनिक पूर्वाधार विकास गरिने भएको छ । आगामी वर्ष तानसेन ६ बर्तुङमा लिफ्टिङ्ग खानेपानी आयोजना सम्पन्न गर्न समेत सरकारले वजेट विनियोजन गरेको छ ।
पश्चिम पाल्पाको रिब्दीकोट जडान भईरहेको मौसम मापन यन्त्र राडरको कामलाई निरन्तरता दिई पुर्वाधार थप गर्न बजेट विनियोजन भएको छ ।
पाल्पाका धार्मिक तथा पर्यटकीय स्थल सत्यवती मन्दिर, रुरुक्षेत्र रिडि, भैरवस्थान मन्दिरमा थप पूर्वाधार विकास गरी सौन्दर्यकरणको लागी वजेट विनियोजन भएको छ । कालीगण्डकी तिनाउँ डाईभर्सन, सिंचाई प्रबन्ध, झुम्साखोलामा खानेपानी आयोजना पुरा गर्न वजेट विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस