पाल्पामा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु

पाल्पामा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु

पाल्पा,बैशाख २३
पाल्पाको रम्भा गाउँपालिका ३ पिपलडाँडामा बुधबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाईते भएका छन् । कालीगण्डकी करिडोरको जिरो कि.मी. बाट रम्भा वडा नं ३ पिपलडाँडा तर्फ ढुङ्गा लिएर जादै गरेको लु ३ त ६८९९ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो ।
ट्याक्टरमा सवार बगनासकाली गाउँपालिका वडा नं ६ बस्ने २२ वर्षीय जिवन न्यौपानेको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिनुभयो । घाईते हुनेमा रम्भा गाउँपालिका वडा नं ३ का ४० वर्षीय हरी बस्याल रहेका छन् । उनलाई थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको र स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
ट्याक्टरका चालक फरार रहेका छन् । प्रहरीले ट्याक्टर चालकको खोजताल कार्य जारी रहेको र घटनाको सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ । ट्याक्टर सडक बाट झण्डै एक सय मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस