पाल्पाका पालिकाहरूले दिएनन् काेभिड अस्पताललाइ रकम, आर्थिक अभावका बीच सेवा निरन्तर

पाल्पाका पालिकाहरूले दिएनन् काेभिड अस्पताललाइ रकम, आर्थिक अभावका बीच सेवा निरन्तर

पाल्पा अस्पतालमा ओपिडी सेवा बन्द हुने भएको छ। कोरोना महामारी फैलिएपछि यसको नियन्त्रण गर्न ओपिडी सेवा बिहिबारदेखी बन्द हुने भएकाे हाे ।

अस्पतालकाे आकस्मिक सेवा भने चौविसै घण्टा सुचारु रहने छ। स्वास्थ्य बीमा गरेकाहरू रेफरल बिना नै सिधै सम्बन्धित अस्पतालमा पुगेर उपचार सेवा लिन सकिने अस्पतालले जनाएकाे छ ।

यस्तै अस्पतालमा अक्सिजनयुक्त १५ शैया थप गरिने भएको छ। कोरोना महामारी फैलिएपछि उपचार सेवा प्रभावकारी बनाउन अक्सिजनयुक्त शैया थप गर्न लागिएको हो।  अस्पतालमा अहिले ४ वटा आइसोलेसन शैया (अक्सिजनयुक्त) छन्। अबको केही दिनमै थप १५ शय्या निर्माण गरिने छ।

जिल्लाका पालिकाहरूले दिएनन् काेभिड अस्पताललाइ रकम

पाल्पाकाे तानसेन काजिपाैवामा रहेकाे काेभिड अस्पताललाइ जिल्लाका केही पालिकाहरूले रकम नदिएकाे अस्पताल व्यवस्थापन समितिले पत्रकार भेटघाटमा जानकारी गराएकाे छ । बुधबार तानसेनमा गरिएकाे पत्रकार भेटघाटमा बाेल्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्र पाण्डेले जिल्लाकाे रामपुर नगरपालिका, निस्दी गाउँपालिका र माथागढी गाउँपालिकाले रकम निकासा नगरिदिँदा समस्या थपिएकाे बताए । उनी भन्छन्, पालिकाहरूसँगकाे समन्वयमा मेशिन खरीद गरेर ऋणमै काेभिड परीक्षण कार्य सुरू गरेका थियाैं, रिब्दीकाेट गाउँपालिकाले ५ लाख रूपैयाँ दिन बाँकी छ र अरू रामपुर नगरपालिका, निस्दी गाउँपालिका र माथागढी गाउँपालिकाले १०/१० लाख रूपैयाँ दिन बाँकी छ ।

माथागढी गाउँपालिकाका अध्यक्ष सन्ताेष कुमार थापाले लेखाका कर्मचारी नहुँदा रकम दिन नसकिएकाे बताए । सम्बन्धित शीर्षकमा रकम पनि थिएन अहिले दिन सकिँदैन भनेर पहिले पनि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पाण्डे सरसँग कुरा भएकाे हाे । २/३ दिन भयाे लेखामा कर्मचारी अाउनुभएकाे छ, अाज चेक काट्न लगाएर दिने कुरा भएकाे छ, अध्यक्ष थापाले भने ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्र पाण्डेले आर्थिक अभावमा बीच काेभिड ल्याव निरन्तर सञ्चालनका लागि लागि पर्दै अाएकाे बताए । उनी भन्छन्, मासिक झण्डै तीन लाख रूपैयाँ खर्च लाग्ने रहेछ, प्रदेश सरकारलाइ भन्दा केन्द्रकाे बजेटबाट गर्नु भन्छ, केन्द्रमा भन्दा प्रदेश सरकार मातहत भएकाेले त्यहिबाट व्यवस्थापन गर्नुपर्छ भन्छन् । अस्पतालको एउटा कक्षमा शय्या निर्माण गरी पाइप लाइनमार्फत अक्सिजनको व्यवस्था मिलाइने छ। ‘जनतालाई सर्वसुलभ र सरल तरिकाले सेवा दिने गरी स्थापना भएको सरकारी अस्पताल हो,’ पाण्डेले भने, ‘कोरोनाका कारण गम्भीर बिरामी भएकालाई तत्काल केही राहत दिने उद्देश्यले अक्सिजनयुक्त शय्या थप्ने प्रयास गरेका छौं।’ यहाँबाट पाइने कुनैपनि उपचारमा कमी हुन नदिने उनले बताए।

विशेषज्ञ बोलाएर अक्सिजनयुक्त शैया निर्माणको लागि स्टिमेट तयार गर्ने काम सम्पन्न भएको अस्पतालका प्रमुख डाक्टर जगदीश कुँवरले बताए। उनका अनुसार अबको एक हप्तामा शय्या तयार हुने छ। यहाँ फार्मेसी सेवा संचालनमा रहेको छ। फार्मेसीमा तीन सय प्रकारका औषधीको व्यवस्था रहेको उनले बताए। यहाँबाट कम्तिमा १० प्रतिशत छुटमा यहाँबाट औषधी उपलब्ध गराइन्छ। थाइराइड परीक्षण गर्ने मेसिनसमेत खरिद गरेर ल्याएको उनले बताए। यस्तै डिजिटल एक्सरे र ल्याबको  पनि व्यवस्था छ। तानसेनस्थित काजीपौवामा रहेको प्रयोगशालामा पाल्पासहित छिमेकी जिल्ला स्याङ्जा, गुल्मीका स्वाब परीक्षण हुँदै आएको छ। आर्थिक अभावले प्रयोगशाला संचालनमा समस्या भएको कुँवरले बताए। उनका अनुसार कर्मचारीलाई तलब दिन, कीट, पीपीइ लगायतका सामग्री खरिद गर्न समस्या भएको उनले बताए।

यस अस्पतालमा ९० जना कर्मचारी छन्। जसमध्य आठ जना मेडिकल अफिसर, दाँत सम्बन्धी काम गर्ने तीन जना र १४ जना स्टाफ नर्स रहेका छन्। आफूहरूको क्षमता अनुसार यहाँ आउने सेवाग्राहीलाई गुणस्तरीय उपचार सेवा दिइने छ। पाल्पा अस्पतालले गत वर्षदेखि कोभिड–१९ परीक्षण प्रयोगशालासमेत संचालनमा ल्याएको छ। यसअघि स्वाब परीक्षण गरेवापत २ हजार लिइन्थ्यो। मंगलबार सरकारले निर्णय गरेपछि अब एक हजार रुपैयाँमा पीसीआर परीक्षण गर्नुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस