पाल्पामा थपिए २७ संक्रमित, विद्यालयका प्रधानाध्यापक समेत संक्रमित

पाल्पामा थपिए २७ संक्रमित, विद्यालयका प्रधानाध्यापक समेत संक्रमित

पाल्पा, वैशाख ५

पाल्पामा थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । जिल्लाकाे माथागढी, रैनादेवी छहरा, रिब्दीकाेट, रम्भा र निस्दी गाउँपालिकामा ३/३ जना, पूर्वखोला, बगनासकाली, तिनाउ गाउँपालिकामा १/१ जना र तानसेनमा १२ जनामा काेराेना पुष्टि भएकाे हाे ।

स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार चैत ३० गतेदेखि बैशाख ५ गतेसम्ममा २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हाे । जिल्लाका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा गरी ३७ जना सक्रिय सङ्क्रमित रहेका छन् । कुल १ सय ९ जनामा गरिएको परीक्षणमा २७ जना संक्रमित देखिएको हाे । पाल्पामा हालसम्म ३८ जना कोरोना सङ्क्रमितको मृत्यु भैसकेकाे छ । कोरोनाको महामारी सुरू भएदेखि हालसम्म पाल्पामा कोरोना संक्रमित संख्या २०३६ पुगेको छ।

जिल्लाका केही विद्यालयहरूका शिक्षक तथा विद्यार्थीहरूमा समेत काेराेना सङक्रमण देखिएकाे छ । तर सङक्रमण पुष्टि भैसकेकाे विद्यालयहरू भने नियमित सञ्चालनमा रहेका छन् । अाइतबार काेराेना पुष्टी हुने एक विद्यालयका प्रधानाध्यापक समेत रहेकाे सेराेफेराेलाइ प्राप्त स्राेतले जनाएकाे छ ।

यस्ता काेराेना सङक्रमण लुकाउँदै विद्यार्थी पढाउन थालेकाे भन्दै सामाजिक सञ्जालमा अालाेचना हुन थालेकाे छ । विद्यार्थी नेता सुवास गैरेले फेसबुकमा लेखेका छन्, तानसेन विभिन्न स्कुल मै शिक्षक कर्मचारी हरूलाई कोरोना लागेको जानकारी आउदै गर्दा म सम्बन्धित निकाय को नजर समय मै जाओस् भन्न चाहान्छु !(नोट-होस् गरौ बाल बच्चा को भविष्य माथि खेलवाड नहोस्)

दाेस्राे डाेज खाेप दिइँदै…

पाल्पामा वैशाख ७ गतेदेखी १० गतेसम्म काेभिड खाेपकाे दाेस्राे डाेज दिन लागिएकाे छ । स्वास्थ्य कार्यालय पाल्पाले एक सूचना जारी गर्दै ताेकिएकाे समय र स्थानमा खाेप लगाउन अनुराेध गरेकाे छ । पाल्पामा हालसम्म १४ हजार बढीले काेभिसिल्ड खाेपकाे पहिलाे डाेज लगाइसकेका छन् भने दाेस्राे डाेज लगाउनेकाे संख्या ८ सय नाै जना रहेका छन् ।

छैन, स्वास्थ्य मापदण्ड पालना

पाल्पामा काेराेनाकाे दाेस्राे लहर देखिएकाे भएता पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना हुन छाडेकाे छ । जिल्लामा बढ्दाे सङक्रमणका बीच सामान्य स्वास्थ्य सुरक्षा मापदण्डमा पर्ने मास्क समेत लगाउन छाडिएकाे छ । स्वास्थ्य सुरक्षा मापदण्ड पालना भए नभएकाे हेर्ने निकायहरू समेत प्रायः माैन देखिएका छन् । जिल्लाका सबै संस्थागत तथा सामुदायिक विद्यालय खुलेका छन् । विद्यालयहरूमा सिफ्ट बिना एउटै बेञ्च ४/५ जनासम्म बसेर अध्ययन गर्न बाध्य छन् । विद्यालयमा मास्क तथा सेनिटाइजरकाे व्यवस्था छैन । विद्यार्थीहरू क्यान्टिनमा बसेर खाजा खाइरहेका छन् । हात धुने साबुन पानीकाे समेत व्यवस्था देखिँदैन । ठेलमठेल विद्यार्थीहरू बसमा अाेहाेरदाेहाेर गरिरहेकाे दृश्यले जिल्लाका सराेकारवालाहरूलाइ गिज्याइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस