कास्कीका १२५ विद्यार्थीलाई छात्रवृत्ति वितरण

कास्कीका १२५ विद्यार्थीलाई छात्रवृत्ति वितरण

पोखरा ५, वैशाख
पूर्व मन्त्री तथा वरिष्ठ उद्योगपति हरिप्रसाद पाण्डेले कास्कीका ५ पालिकाका १ सय २५ जना विद्यार्थीलाई झण्डै ४० लाख रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरेका छन् । जिल्लाका पोखरा महानगरपालिका, माछापुच्छे, अन्नपूर्ण, मादी र रुपाँ गाउँपालिकाका गरी कुल ७२ वडाको प्रतिनिधित्व गर्दै २१ छात्र र ८४ छात्रा गरी १ सय २५ जनालाई छात्रवृत्ति रकम वितरण गरिएको हो । जसमा दलित विद्यार्थीका लागि ३ लाखसहित कुल ३९ लाख बराबरको छात्रवृत्ति रकम तय गरिएको थियो ।

पाल्पाली समाज पोखराको व्यवस्थापन तथा मातृसेवा प्रतिष्ठान नेपालको आयोजनामा शुक्रबार पोखरामा उनीहरुलाई बढीमा ५० हजार रुपैयाँसम्म ‘कर्मभूमि छात्रवृत्ति’ वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष तुलसा पाण्डेले जानकारी दिइन् । छात्रवृत्ति प्राप्त गर्नेमा कास्की जन्मस्थल तथा ननग्राजुयट प्राविधिक शिक्षा अध्ययन गरेको हुनुपर्नेछ । उनीहरु स्वास्थ्य चिकित्सा शास्त्र, कृषि, भेटेनरी, इन्जिनियरिङ, होटल म्यानेज्मेन्ट लगायत विषय पढिरहेका छन् । कर्मभूमि छात्रवृत्ति वितरण समारोहमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले छात्रवृत्तिबाट गरिब तथा जेहेनदार विद्यार्थीको भविष्य उज्वल बनाउन मद्दत मिल्ने बताए ।

प्रतिष्ठानका संस्थापक अध्यक्ष समाजसेवी हरिप्रसाद पाण्डेले सरल जीवन बाँच्नुपर्ने सुझाव दिँदै छात्रवृत्तिको सदुपयोग गर्न विद्यार्थीलाई सुझाव दिए । गत वर्ष पनि प्रतिष्ठानले पाल्पामा ४० लाख ५० हजार बराबरको ‘रम्भादेवी छात्रवृत्ति’ वितरण गरेको प्रतिष्ठानका सचिव श्रीराम पाण्डेले जानकारी दिए । प्रतिष्ठान अध्यक्ष तुलसा पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ श्याम, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवर, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, माछापुच्छे गाउँपालिकाका वडा ९ अध्यक्ष दुर्गाबहादुर क्षेत्री लगायतले बोलेका थिए ।

स्वागत पाल्पाली समाज पोखराका निवर्तमान अध्यक्ष कुलप्रसाद घिमिरे, संचालन कार्यक्रम संयोजक एवं समाजका सल्लाहकार खेमबहादुर सारु र धन्यवाद ज्ञापन समाजका अध्यक्ष रेशम रचक थापाले गरेका थिए । कार्यक्रममा प्राविधिक विषय पढाउने कास्कीका विभिन्न शैक्षिक संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो । अतिथिलाई पाल्पाको पहिचान पाल्पाली ढाकाटोपी लगाएर स्वागत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस