नेपाल पत्रकार महासंघ पाल्पामा पद हस्तान्तरण

नेपाल पत्रकार महासंघ पाल्पामा पद हस्तान्तरण

पाल्पा, वैशाख ३
नेपाल पत्रकार महासंघ पाल्पामा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । चैत २५ गते सम्पन्न २६ औं अधिवेशनबाट निर्वाचित रेखिराम राना अध्यक्ष सहितको कार्यसमितिलाई पुरानो कार्यसमितिले पद हस्तान्तरण गरेको हो ।
पद हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष राजेश कुमार अर्यालले सामाजिक तथा आर्थिक अनुशासन कायम राख्न नयाँ कार्यसमितिलाई शुभकामना प्रदान गरे । उनी भन्छन्, निर्वाचनको कार्यक्रमबाट नयाँ कार्यसमिति आउँदा केही साथीहरु छुटेको भएता पनि नयाँ कार्यसमितिले सबैलाई समान व्यवहार गर्दै संस्थागत हितमा काम गर्न अग्रसर हुनुपर्छ । ‘उर्जाशील नयाँ पत्रकारहरुको शक्ति महासंघमा आएको छ, यसलाई संयमीत बनाउन उपाध्यक्ष निकै पाको पनि हुनुहुन्छ चेक एण्ड ब्यालेन्समा महासंघ अगाडी बढ्ने विश्वास लिएको छु,’ निवर्तमान अध्यक्ष अर्यालले भने ।
कार्यक्रममा बोल्दै शाखाका सल्लाहकार गोविन्द भट्टराईले पत्रकारले कुनै पनि विषयवस्तुलाई सहि र गतल छुट्याउन सक्ने भएका कारण अग्रहहरुको सम्मान गर्दै अगाडी बढ्नुपर्ने सुझाए । यस्तै सल्लाहकार झपेन्द्र गहिरेले लोकतान्त्रिक व्यवस्था अनुसार बनेको कार्यसमितिले अहिलेको गरिमालाई कायम राख्दै संस्थागत हितमा काम गर्न शुभकामना व्यक्त गरे ।

पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष रेखिराम रानाले सुशासनका लागि सूचनाको हक कार्यान्वयन गर्न तथा अग्रजहरुले देखाएको बाटोमा अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिले निर्वाचित भएको प्रमाण पत्र प्रदान गरेको थियो । यस्तै निर्वाचन समितिका तर्फबाट जोगलाल विकले निष्पक्ष निर्वाचन कार्यक्रमबाट नयाँ कार्यसमिति चयन भएको भन्दै शुभकामना व्यक्त गरे । यस्तै अध्यक्ष पदका उम्मेदवार जीवलाल सुवेदीले लाेकतन्त्रमा निर्वाचनमा सामेल भएर जस्ताे नतिजा प्राप्त भएकाे भएता पनि संस्थागत हितमा केन्द्रित रहेकाे र अाफूले सदैव सहयाेग गर्दै अगाडी बढ्ने बताए ।
महासंघको २६ औं अधिवेशनबाट अध्यक्षमा रेखिराम राना, उपाध्यक्षमा भरत शर्मा, महिला उपाध्यक्षमा सिर्जना घिमिरे, सचिवमा यज्ञमूर्ती तिमिल्सिना, कोषाध्यक्षमा मुक्ति न्यौपाने, सहसचिवमा रीमा सोमै, सहसचिव समावेशीमा कृष्ण दर्नाल तथा सदस्यहरुमा कृष्ण प्रसाद पोखरेल, भुवन रायमाझी, दुर्गेश मल्ल र सुनिल कार्की, समावेशी तर्फ जनजाति सदस्यमा अनिल लिगल, दलित सदस्यमा विजय बौडेल, अल्पसंख्यकमा रन बहादुर कुमाल निर्वाचित भएका थिए ।
यस्तै राष्ट्रिय परिषद् सदस्यमा भगवान भण्डारी र देव बहादुर पचभैया तथा प्रदेश परिषद् सदस्यमा नरभुपाल वि.क (मिलन) र सुकुम नेपाली निर्वाचित भएका थिए । शुक्रबार बसेकाे नवनिर्वाचित कार्यसमितिकाे बैठकले शाखाका निवर्तमान अध्यक्ष राजेश कुमार अर्यालले नेपाल सरकारका तर्फबाट सम्माननीय राष्ट्रपतिज्यूबाट प्रबल जनसेवा श्री चतुर्थबाट सम्मानित भएकाेमा बधाइ ज्ञापन गर्दै निर्वाचन कार्यक्रम सम्पन्न गराउने सम्पूर्ण निर्वाचन अधिकृत सहितकाे समूहलाइ धन्यवाद ज्ञापन गरेकाे छ ।

View Post

प्रतिक्रिया दिनुहोस