समाजकाे ऐनाका रूपमा काम गर्ने प्रतिवद्दता

समाजकाे ऐनाका रूपमा काम गर्ने प्रतिवद्दता

सूचना, शिक्षा तथा मनोरञ्जन एकसाथ उपलब्ध गराउने उद्देश्यका साथ सुशासनका लागि समाजको ऐनाका रुपमा काम गर्दै आएको सेरोफेरोन्यूज (सेरोफेरो समाचार) आजबाट चौथो वर्षमा प्रवेश गर्दै छ । यस अवसरमा हामी हाम्रा सम्पूर्ण पाठक, लेखक, संवाददाता, भिजिटर, फलेअर्स, सब्सक्राईबर तथा हामीलाई माया गर्नुहुने तपाईं सबैलाई नयाँ वर्ष २०७८ काे हार्दिक मंगलमय शुभकामनासँगै हार्दिक आभार व्यक्त गर्दछौं ।


हाम्रो देश नेपाल पूर्ण संघीयताको अभ्यास गर्दैछ । गणतन्त्र स्थापना भैसकेपछि आमूल परिवर्तन आउँछ भन्ने जनताले आशा अझसम्म पनि जीवितै छ । संविधान कार्यान्वयन गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न निर्वाचनका अतिरिक्त संविधान बमोजिम विभिन्न कानुनहरुको निर्माण गर्ने तथा भइरहेका कानुनहरुमा समयसापेक्ष सुधार गर्ने विषयलाई सरकारले उच्च प्राथमिकतामा राख्नु आवश्यक देखिन्छ । स्थानीय तह, प्रदेश तथा सङ्घीय व्यवस्थापिकाको निर्वाचन पश्चात् संविधान कार्यान्वयनका लागि महत्वपूर्ण आधारशीला निर्माण गर्नु आवश्यक छ ।

संविधान बमोजिम उच्च अदालतको स्थापना भई न्याय प्रशासन, सङ्घीय न्याय सेवा आयोग तथा न्याय परिषद्सम्बन्धी कानुन लागू भइसकेको छ । न्यायोचित विकासका लागि पूर्वाधारको उपयोग तथा व्यवस्थापन गरिनुपर्दछ । गणतन्त्रलाई संस्थागत गरी आमजनताको जीवनमा गुणस्तरीय परिवर्तन ल्याउनु हाम्रो आधारभूत कार्यभार अहिलेको आवश्यकता हो । सुशासन, आधुनिक बस्ती विकास, नैतिक, भौतिक र प्राविधिक शिक्षामा जोड, जनउत्तरदायी नेतृत्व र शासन प्रणाली हाम्रो प्राथमिकतामा हो ।

राजनीतिक अधिकार प्राप्तिपछि दिगो विकासको लक्ष्य हासिल गर्न सबै वर्ग, क्षेत्र, लिङ्ग र जातजातिको समावेशी विकास प्रमुख हुनुपर्दछ । सूचना, शिक्षा र सञ्चार क्षेत्रलाई अझ बढी परिष्कृत गर्दै समावेशी समाज निर्माणमा हाम्रो अभियान स्थानीय तह, प्रदेश तथा सङ्घीय सरकारसँगै हातेमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्दछौं । –सम्पादक

प्रतिक्रिया दिनुहोस