सामुदायिक रेडियो मदनपोखरा तेइसौँ वर्षमा

सामुदायिक रेडियो मदनपोखरा तेइसौँ वर्षमा

पाल्पा, चैत २४


यस क्षेत्रकै पुरानो सामुदायिक रेडियो मदनपोखरा पाल्पा २३ बर्षमा प्रबेश गरेको छ ।
सो अवसरमा सोमबार आयोजित कार्यक्रममा वार्षिक पत्रिकाबोली र सारेम भित्तेपात्रोको सामूहिक विमोचन गरिएको छ । सामुदायिक रेडियो मदनपोखराका सञ्चालक समितिका अध्यक्ष झपेन्द्र जिसी, त्रिभुवन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टंक भट्टराई, तानसेन नगरपालिकाका उपप्रमुख लक्ष्मीदेवी पाठक, बगनासकाली गाउँपालिकाका उपाध्यक्ष सरस्वती चिदी, माथागढी गाउँपालिकाका उपाध्यक्ष निर्मला भट्टराई, साहित्यकार टंक पन्थलगायतले सामूहिक रूपमा विमोचन गर्नुभयो ।
कार्यक्रममा सामुदायिक रेडियो मदनपोखरा सञ्चालक समितिका अध्यक्ष झपेन्द्र जीसीले रेडियोले विगतमा लोकतान्त्रिक गणतन्त्र, जनपक्षीय संविधान निर्माण, सामाजिक न्याय, सामुदायिक भावना र सदाचारका निम्ति बोलेको र सभ्य, सुसंस्कृत र समृद्ध समाज निर्माणका निम्ति बोलिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो । सारेमका स्टेशन प्रबन्धक राजेशकुमार अर्यालले आर्थिक वर्ष २०७६÷०७७ मा ५१ लाख बराबरको आयव्यय विवरण प्रस्तुत गर्नुभयो ।
महिला सशक्तीकरणका लागि स्थानीय रेडियोको भूमिका विषयका संवादमा तानसेन नगरपालिका प्रमुख लक्ष्मीदेवी पाठकले महिलाको सुरक्षा, सम्मान, रोजगारी, शिक्षा र स्वास्थ्यमा सुधार ल्याउन रेडियो मदनपोखराको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । बगनासकाली गाउँपालिकाका उपाध्यक्ष सरस्वती चिदीले वर्गीय शोषण, जातीय दमन र लैंगिक विभेदका विरुद्ध रेडियोले बुलन्द आवाज दिएको बताउनुभयो । माथागढी गाउँपालिकाका उपाध्यक्ष निर्मला भट्टराईले महिलालाई सबल र सक्षम बनाउन रेडियोले दिने आवाज सहयोगी हुने विचार व्यक्त गर्नुभयो ।
सारेमले व्यावसायिक कृषिका लागि किसानका योजना र सफलता विषयक संवाद कार्यक्रमसमेत सञ्चालन गरेको थियो । कोभिड १९ को असहज परिस्थितिलाई मध्येनजर गरेर सारेमले प्रतिनिधिमूलक उपस्थितिमा संक्षिप्त कार्यक्रम आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस