स्वास्थ्य बीमा अब ७७ वटै जिल्लामा लागू हुने

स्वास्थ्य बीमा अब ७७ वटै जिल्लामा लागू हुने

काठमाडाैं- सरकारले यही आर्थिक वर्षमा ७७ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने भएको छ। २०७२ बाट सुरु भएको स्वास्थ्य बीमा बोर्डले छोटो समयमा नै ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न थालेको हो। 

यही चैत २५ गते ६ जिल्लामा सुरुवात र त्यसपछि काठमाडौं तथा ललितपुरमा लागू गर्न थालिएको बोर्डका वरिष्ठ स्वास्थ्य प्रशासक डा माधव लम्सालले बताए। चैत २५ गते ताप्लेजुङ, दोलखा, बारा, सर्लाही, मनाङ र मुस्ताङमा स्वास्थ्य बीमा कार्यक्रम तथा वैशाखमा काठमाडौं र ललितपुरमा लागू गर्न थालिएको हो। 

बीमा कार्यक्रममार्फत् पाँच जनासम्मको परिवारको रू तीन हजार ५०० बुझाएपछि त्यसघरमा रहेका सदस्यले रु एक लाख बराबरको औषधि उपचार सरकारले तोकेको अस्पतालमा निःशुल्क गर्न पाइन्छ। पाँच जनाभन्दा बढी सदस्य भएपछि प्रतिसदस्यका दरले रू ७०० बुझाउनु पर्दछ। पाँच जनाभन्दा बढी सदस्यले प्रतिसदस्य रू २० हजारदेखि दुई लाखसम्म निःशुल्क उपचार गर्न पाउने व्यवस्था छ।

बोर्डले बीमा कार्यक्रमका लागि देशभरिका सरकारी र निजी गरी ३७५ अस्पताललाई सूचीकृत गरेको छ। ती अस्पतालमा बीमा लागू गरेका परिवारका सदस्यले उपचार गराए रू एक लाखसम्मको निःशुल्क उपचार गराउन पाउनेछन्।    

बोर्डका सदस्य चन्द्र थापाले ७७ वटै जिल्लामा कार्यक्रम लागू गरेपछि सबै नागरिकलाई बीमामा आबद्ध गराउने पहल गरिने बताए। ‘अहिले हामी सबै जिल्लामा कार्यक्रम लागू गर्दछौं’, उनले भने, ‘त्यसपछि नागरिकलाई बीमाप्रति जनचेतना जगाई सबैलाई आबद्ध गर्दछाैं।’     

प्रतिक्रिया दिनुहोस