रामपुरमा अनुदानमा कृषकलाई कृषि औजार

रामपुरमा अनुदानमा कृषकलाई कृषि औजार

सुशीला रेग्मी
रामपुर (पाल्पा), चैत १२
रामपुर नगरपालिका कृषि शाखाले अनुदानमा कृषकलाई कृषि औजार वितरण गरेको छ । परम्परागत कृषि प्रणालीलाई बिस्थापन गरी आधुनिक प्रबिधिबाट खेती गरी व्यवसायीक बनाउने उद्धेश्यले कृषक समुह, कृषि सहकारी, कृषिफार्म गरी ५४ जनालाई अनुदानमा कृषि औजार उपलब्ध गराएको छ ।
लुम्बिनी प्रदेश सरकारको सशर्त कार्यक्रम अन्तर्गत १७ लाख ५० हजार बराबरको औजार तथा विभिन्न उपकरण वितरण गरिएको हो । प्रदेश सरकारको सशर्त कार्यक्रम अन्तर्गत कोभिड विशेष कृषि कार्यक्रम अन्तर्गत ३५ वटा हाते ट्याक्टर, १६ वटा च्यापकटर मेसिन, एक वटा धान काट्ने रिपर मेसिन, एकवटा घाँस काट्ने ब्रस कटर मेसिन कृषकलाई ५० प्रतिशत अनुदानमा (बढीमा ३५ हजार सम्म अनुदान) वितरण गरिएको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले जानकारी दिनुभएको छ ।
रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले कृषि औजार वितरण गर्दै अनुदानमा वितरण गरिएका सामाग्री सही ठाउमा सदुपयोग गर्न अनुरोध गर्नुभएको छ । रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत आर्थिक विकास समिति संयोजक हुमनाथ न्यौपानेको गर्नु भएको कार्यक्रमको संचालन कृषि शाखा प्रमुख पाण्डेयले गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस