पाणिनी गाउँपालिका अध्यक्ष गाैतमकाे लाेभलाग्दाे कृषि व्यवसाय -भिडियाे

पाणिनी गाउँपालिका अध्यक्ष गाैतमकाे लाेभलाग्दाे कृषि व्यवसाय -भिडियाे

अग्लाे र सुख्खा डाँडा । डाँडाकाे बीचमा रहेकाे सुन्दर घर । घर वरपर देखिएका सेता र काला प्लाष्टिक घरहरू । चारैतिरबाट घेरिएकाे तारबार तथा जालि भित्रकाे हरियालीले सबैकाे ध्यानाकर्षण गर्दछ । अर्घाखाँचीको पाणिनी गाउँपालिका पाेखराथाेक पुग्ने जाे सुकैकाे पनि ध्यान तान्ने कृषि व्यवसायमा संलग्न छन् पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतम ।

गाउँपालिका अध्यक्ष गाैतमकाे कृषि व्यवसाय हेर्न अहिले जिल्ला भित्र र बाहिरबाट समेत कृषि उद्यमीहरू पुग्न थालेका छन् । गाैतमले कृषि पेसालाई व्यवसायिकरण गरेर उदाहरणिय कार्य गरेका छन् । अर्घाखाँचीको पाणिनी गाउँपालिकाका अध्यक्ष गौतमले घरवरपर रहेकाे बारिमा बाेधिचित्तदेखी आलुप्याजसम्मकाे व्यवसायिक खेती गर्दै आएका छन् ।

स्थानीय सरकारका प्रमुखहरूलाइ भाषण गर्न भ्याइनभ्याइ भएकाे समयमा पाणिनी गाउँपालिका अध्यक्ष गाैतम भने फुर्सदमा बेतुकका गफ गर्नुभन्दा खेतिपातीमा रमाउँदै आएका छन् । फुर्सद निकालेर बिहान, बेलुका तथा विदाको समय उनी तरकारी लगाउने, गाेडमेल गर्ने तथा कुखुरापालनमा बिताउने गर्छन् । ‘म फुर्सद निकालेर कृषि व्यवसाय हेर्ने गर्छु, अरू समय बुबा र म्याडमले हेर्ने गर्नुहुन्छ’, उनले भने, काम गर्नका लागि ३ जना कामदार पनि राखेकाे छ ।’

क्याम्पस पढ्दा पढ्दै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय गाैतम साविक पोखराथोक गाविसको नेपाली कांग्रेसको सभापति थिए । गाविसको पाटी सभापति रहँदा उनी त्यस क्षेत्रको राम्रो नेताको रूपमा स्थापित भए । कार्यकर्ताले जागीर लगाइदिन आग्रह गर्दा उनले आफूलाई कृषि व्यवसायमा तल्लिन बनाएर सबैलाई उदाहरण बने । धेरै मानिसहरूले छोरा, छोरी र बुहारीलाई जागिरको माग गर्थे । तर उनले जागिरभन्दा आफैं केही गर्नुपर्छ । कृषि र पशुपालन व्यवसाय गरेमा जागिरमाभन्दा बढी आम्दानी गर्न सकिन्छ भनेर सम्झाउँथे । तर कृषि र पशुपालनमा कसैले ध्यान दिँदैनथे । हाम्रो समाजमा बरु चार, पाँच हजारको जागिर गर्न मन पराउने तरकारी खेती र कुखुरापालन गर्न हिच्किचाउने मानिस छन् ।

गाैतमकाे फर्ममा अहिले स्थानीय र लेयर्स जातका कुखुराहरू छन् । यस्तै विभिन्न प्रजातीका च्याउ, टमाटर, आलु, प्याज, लसुन, काउलिबन्दा खेतीसँगै कागती, सुन्तला तथा बाेधिचित्त समेत लगाइएकाे छ । गाइ, भैसी र बाेयरजातका बाख्रापालन गरिएकाे छ ।

उनले अहिले कुखुरापालन र तरकारी खेतीबाट सबै खर्च कटाएर वार्षिक १८ देखि २५ लाख रुपैयाँ आम्दानी गर्न सफल भएकाे बताउँछन् । भिरालो पाखोबारीमा बनाइएका १५ वटा टनेलमा टमाटर उत्पादन गरेका छन् । सिजनमा काँक्रा, घिरौला, लौका, मुला, टमाटार, बन्दा, सागलगायत तरकारी उत्पादन हुन्छन्। उत्पादन भएको तरकारी स्थानीय बजार र बुटबलको सब्जी मण्डीमा बिक्री हुने गरेको गौतमले बताए । तरकारी खेती गरेका उनलाई बजारको पनि समस्या छैन ।

तरकारी खेतीबाटै वार्षिक उनले आठदेखि १० लाख आम्दानी लिने गरेका छन् । ‘खेती गर्न जग्गा राम्रो छैन । पाखोबारीमा के खेती हुन्छ र गर्नु ? सदरमुकाम र बजारनजिक छैन भनेर भन्ने कुरा बहाना मात्र हो’, उनले भने, ‘हेर्नुस् यो पनि पाखोबारी नै हो । गरे त हुन्छ नि, हामी नेपालीको बानी कुरा गर्ने काम नगर्ने गर्दा देश बिग्रिएको छ ।’ टमाटर बेचे पैसो, खुर्सानी बेचे पैसो, बन्दा बेचे पैसो, साग बेचे पैसो । उत्पादन गर्न सके हुन्छ, जेमा पनि पैसो छ । उनले भने, ‘काम गरौं उत्पादन बढाऔं । पैसाका लागि कही कतै भौतारिनु पर्दैन ।’अन्डा उत्पादन गर्ने कुखुरापालन पनि उनले सँगसँगै अगाडि बढाएका छन् । उनको कुखुरा फर्ममा अहिले ३५ सय अन्डा उत्पादन गर्र्ने कुखुरा छन् । एक दिनमा तीन हजार हाराहारीमा अन्डा उत्पादन हुन्छ । अन्डा उत्पादनबाट वार्षिक रूपमा कम्तीमा १५ देखि २० लाखसम्म आम्दानी हुने गौतमको भनाइ छ ।

सुरुमा ब्रोइलर कुखुरा पालेका गौतमले गत वर्षदेखि अन्डा उत्पादन गर्ने कुखुरापालन गर्न सुरु गरेका हुन् । ब्रोइलर कुखुराको आम्दानी लिन दुइ महिना कुर्नुपर्ने तर अन्डाले दैनिक आम्दानी हुने भएपछि उनी अन्डा उत्पादन गर्ने कुखुरापालनमा लागेका हुन् । करिब ५ वर्षअघिदेखि कृषिमा हौसिएका अच्युत पाणिनी गाउँपालिकाको अध्यक्ष भएपछि उनको व्यवसाय सम्हाल्न श्रीमती निर्मलाले दह्रिलो हात र साथ दिएकी छिन् । तथापि, फुर्सद निकालेर अच्युत स्वयम् पनि कृषि–कर्ममा हात बाँड्न पछि परेका छैनन् । आफू शुरुमा कृषिमा लागेकैले समाजसेवामा भिड्ने अवसर मिलेको बताउने उनी राजनीतिमा जतिसुकै सफलता मिले पनि कृषिकर्म नछोड्ने प्रतिबद्धता जनाउँछन् ।

पोखराथोक, पणेना, मैदान पटौटी, खिदिम, अडगुरी, धातीबाङ, पालीलगायत स्थानमा उनीबाटै प्रभावित भएर झन्डै एक सय युवा व्यावसायिक तरकारी खेती र कुखुरापालनमा लागेका छन् ।

अधिकांश नगरपालिका र गाउँपालिका अध्यक्षहरू भाषण गरेर अरुलाई सिकाउँछन् । तर गौतमले काम नगरी बस्ने तथा विदेशको मुख ताक्ने युवाका लागि अभियानमा छन् । गौतमको कृषि क्रान्ति साच्चीकै नमुना छ । कतिपय स्थानीय सरकारका प्रमुखहरू अरूलाइ उपदेश दिन । यसैका उदाहरणीय पात्र बनेका छन् । उनले कृषि पेसाबाटै लाखौं आम्दानी गर्न सकिन्छ भन्ने गरेर देखाए । मुखले भनेर मात्र हुँदैन परिवर्तन आफैंबाट गर्नुपर्छ भन्ने मान्यतालाई उनले व्यवहारमा उतारे ।

हेर्नुस्, सेराेफेराेले पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गाैतमसँग अर्घाखाँचीको पाेखराथाेक पुगेर गरेकाे कुराकानी…

प्रतिक्रिया दिनुहोस