तानसेन नगर बृहत योजना–२०७७ सार्वजनिक

तानसेन नगर बृहत योजना–२०७७ सार्वजनिक

पाल्पाकाे तानसेन नगरपालिकाले नगर बृहत योजना–२०७७ सार्वजनिक गरेकाे छ । बस्तीस्तरका मानिस तथा सरोकारवाला पक्षसँगको छलफलबाट बनाइएकाे योजना सार्वजनिक गरिएकाे हाे ।

अष्ट्रेयाली सहायता र द एसिया फाउण्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा बृहत नगर योजना निर्माण गरिएको याेजना सार्वजनिक गर्दै नगरको विकास कसरी गर्ने भनेर खाका तयार पारेको याेजनाहरू समावेश गरिएकाे नगर प्रमुख अशाेककुमार शाहीले बताए ।

अल्पकालिन (२–३) वर्षका योजना, मध्यकालिन (३–७) वर्षका योजना र दीर्घकालिन (८–२०) वर्षका योजनाहरू नगर बृहत योजना–२०७७ मा समावेश गरिएकाे छ । नगर बृहत योजना–२०७७ सार्जनिक गर्दै लुम्विनी प्रदेश सभासद् वीर बहादुर रानाले योजना बनाउन समस्या नभएकाे तर कार्यान्वयन पक्ष सधैं फितलाे हुने गरेकाे बताए ।

अल्पकालिन योजनाका लागि नगरपालिकाले दुई अर्ब १६ करोड रुपियाँ लागत अनुमान गरेको छ । यस्तै मध्यकालिन योजनाका लागि छ अर्ब ६५ करोड रुपियाँ लागत लाग्ने अनुमान गरेको छ । नगरपालिकाले समग्र रुपमा हरेक वर्ष बृहत योजना कार्यान्वयन गर्न एक अर्ब २८ करोड रुपियाँ खर्च लाग्ने अनुमान छ ।

भर्खर सार्वजनिक गरिएकाे बृहत योजनालाई तानसेनको विकासमा मार्गदर्शकका रुपमा लिएर कार्यान्वयन गरिने तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले बताए । साेही अवसरमा त्रैमासिक बुलेटिन ‘हाम्रो तानसेन’ र पर्यटन प्रवर्दनात्मक ब्रोसर समेत सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस