वनमन्त्रीको त्यो भाषण र मेरो टाउकोको टुटुल्को

वनमन्त्रीको त्यो भाषण र मेरो टाउकोको टुटुल्को

लक्ष्मण पन्त

नेताले काम गर्दैनन्, भाषण मात्रै गर्छन्। सबैको सधैँको गुनासो हुन्थ्यो। विश्वका अन्य देशमा के हुन्छ कुन्नी?

नेपालमा भाषण सुन्न पनि टाढा टाढाबाट गाडीका गाडी मान्छे ओसार्नु पर्थ्यो। भत्ता दिनु पर्थ्यो। त्यही मान्छे फर्किँदा नेताको काम छैन, भाषणमात्रै गर्छ भनेर फर्किन्थे।

यी केही महिना अगाडिसम्मका कुराहरु हुन्। केही महिनापछि मात्रै यी सबै कुरा इतिहास भए। आज नेपालको सबै नेताहरुका सबै भाषणहरुको धेरै ठूलो महत्व हुन्छ।

यति मात्रै होइन, वनमन्त्रीको एउटै भाषणले नेपाल समृद्ध भएको कुरा जब भोलिका सन्ततीहरुले पढ्नेछन् तब भाषणमा विश्वास नगरेका आफ्ना पूर्वजहरुलाई धारेहात लगाएर सराप्नेछन् भन्ने चिन्ता हुन्छ आजभोलि।

वनमन्त्रीले त्यो युगान्तकारी भाषण दिएको कति नै भयो र? यति छोटो समयमै एउटै भाषणले देशको कायापलट भयो। वनमन्त्रीको मुखबाट विज्ञानलाई चुनौती दिनेगरी निस्केका ती शब्दहरु एकाएक भाइरल भए।

सुरु सुरुमा नेपालमा त धेरैले मजाक पनि उडाए। हामी नेपालीले समयमै राम्रा कुरा चिन्न सक्दैनौं। वनमन्त्री आलेको भाषणको महत्व बुझिएन।

प्रधानन्त्रीज्यूका ओजपूर्ण भाषण बुझ्न नसकेर खिसिक्क दाँत मात्रै देखाउने हामी मूर्ख नागरिकहरुले प्रधानमन्त्रीज्यूको मात्रै होइन, शिक्षा मन्त्रीज्यूको ‘माइकालाल’ आसयको भाषण पनि कहाँ बुझ्न सक्यौं र?

त्यतिमात्रै होइन, प्रचण्डज्यूको ‘कम्फर्टेबल सरकार’ वाला भाषणले त अहिलेसम्म पनि रन्थनिएका छौं। त्यतिमात्रै कहाँ हो र! खानेपानी मन्त्रीज्यूको गणतन्त्रमा श्री ५ को सरकारवाला भाषण बुझ्न त हाम्रो बौद्धिक क्षमताले नभ्याएकै हो।

इतिहासका कुरा छोडिदिऔं। ती दुखका दिन थिए। त्यो पनि हामी तत्कालीन नागरिकहरुले नेताहरुका भाषणहरु बुझ्न नसकेर पाएको दुख हो त्यो। अहिले त्यो समय छैन। वनमन्त्रीज्यूको भाषण फेसबुक, युट्युब र टिकटक हुँदै एकाएक संसारभरि फैलियो।

नेपालमा मानिसले अक्सिजन र रुखले कार्बन्डाइअक्साइड फाल्ने समाचार एक्कासी जब नासाका एकजना वैज्ञानिकका आँखामा पर्यो, उनी चप्पल नै नलगाई हवाइजहाजको ढोकामा झुन्डिएर नेपाल आइपुगेको तब पुष्टी भयो जब उनी नाङ्गै खुट्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको कुरा संचार माध्यममा आयो।

त्यसछि नेपालमा विश्वका विभिन्न देशका वैज्ञानिकहरुको लर्को नै लाग्यो। नेपाल आउने भिसा पाउन तीन महिना कुर्नु परेको रुसका एकजना वैज्ञानिकले आफ्नो अन्तर्वार्तामै बताएका छन।

नेपालका मानिसहरुले अक्सिजन फाल्ने कुरा पुष्टि भएसँगै खोज अनुसन्धानका लागि नेपाल विश्वको वैज्ञानिक हब नै बन्यो। संयुक्त राष्ट्रसंघले नेपाललाई विशेष देशको मान्यता दियो।

विश्वका सबै देशहरुको नेपालमा वैज्ञानिक अध्ययन अनुसन्धानको लागि कार्यालय खोल्न होडबाजी नै चल्यो। ताप्लेजुङदेखि दार्चुलासम्मका हजारौँ घरहरु भाडामा लागे। मानिसहरु एकाएक धनी भए।

नेपालीको प्रतिव्यक्ति आय एक्कासी बढ्यो। नेपालमा संसारका मानिसहरु ओइरिएपछि पर्यटन क्षेत्र एकाएक फस्टायो। नेपालका हरेक मानिसमा अध्ययन अनुसन्धान हुन थाल्यो। नेपालीहरुको विश्वभरि नै माग भयो।

अक्सिजन नभएको ठाउँमा नेपालीहरुको माग हुन थाल्यो। देश र विदेशमा समेत सबै नेपालीहरुले ठूल्ठूला अवसरहरु प्राप्त गरे।

आज बैतडीको खोचलेकमा नासाको दोस्रो शाखा अमेरिकी राष्ट्रपति जो बाइडेन र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबाट संयुक्त उद्घाटनको कार्यक्रम छ। कार्यक्रममा वनमन्त्री आलेको विशेष संवोधन पनि रहेको बताइएको छ।

उद्घाटनको कार्यक्रमको प्रत्यक्ष प्रसारण विश्वभरिका १०० भन्दा बढी देशका टेलिभिजन च्यानलहरुबाट हुँदैछ। कार्यक्रमको रिपोर्टिङ गर्न म पनि पुगेको छु। कार्यक्रमको उद्घाटन गर्न रिबन काट्न जो बाइडेन र केपी शर्मा ओलीले कैँची समातेका मात्रै के थिए, केही लडेको आवाज आयो।

वरिपरि पुरै अँध्यारो भयो। के भयो भनेर हेरेको त म आफै खाटबाट लडेको रहेछु। हतार हतार छामछुम गर्दै बिजुलीको स्वीचसम्म हात पुर्याएँ, लाइन रहेनछ। टाउकोमा उठेको टुटुल्को मुसार्दै फेरि खाटमा पल्टिएँ।

प्रतिक्रिया दिनुहोस