चैते धान पकेट क्षेत्रका कृषकलाई प्रबिधि सिकाइदै

चैते धान पकेट क्षेत्रका कृषकलाई प्रबिधि सिकाइदै

सुशीला रेग्मी
रामपुर (पाल्पा), २१ फागुन
चैते खेती पकेट क्षेत्रका कृषकलाई प्रबिधि सम्बन्धी ज्ञान सीप सिकाउन थालिएको छ । पाल्पाको रामपुर नगरपालिका वडा नं ४ स्थित तल्लो वडमान कृषक समुहका २९ कृषकलाई खेती गर्ने प्रबिधि सम्बन्धी ज्ञान सीप सिकाइदैछ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत रामपुर नगरपालिकाले वडमान क्षेत्रमा चैते धान खेतीका लागि पकेट कार्यक्रम संचालन गरेको छ ।
समुहका अध्यक्ष ओमबहादुर रानाको अध्यक्षतामा भएको तालिम रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले उद्घाटन गर्नुभएको हो । तालिम उद्घाटन गर्नुहुदै नगर उपप्रमुख आचार्यले रामपुर नगरले कृषिमा प्राथमिकता दिएर काम गरेको बताउँदै कृषकको माग र आवश्यकता हेरिकन वजेट उपलब्ध गराउने गरेको बताउनुभएको छ । उहाँले रामपुरको उत्पादन बृद्धि गरी स्थानीय स्तरमा मात्र नभई बाहिरी शहर बजारमा पनि बिक्रिका लागि पठाउने गरी व्यवसाय गर्न कृषकलाई आग्रह गर्नुभएको छ ।
यहाँका कृषकलाई आधुनिक प्रबिधिको प्रयोग र उन्नत जातको वीउ प्रयोग गरी उत्पादन बढाउने गरी खेती गर्न सिकाउने उद्धेश्यले दुईदिने तालिम आयोजना गरी ज्ञान सीप सिकाउन सुरु गरिएको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेयले जानकारी दिनुभएको छ । शाखा प्रमुख पाण्डेय र प्राबिधिक प्रज्वल केसीले उन्नत धानखेती प्रबिधि, खेती पद्धत्ति, माटो, हावापानी, लगाउने समय, मलखाद व्यवस्थापन, छरुवा धान खेती प्रबिधि, धान खेतीमा कृषि यान्त्रिकरणको प्रयोग लगायतका सम्बन्धमा सहभागीलाई ज्ञान सीप सिकाउनुभएको छ ।
आउँदो चैत १५ गते बडमान खेतमा पकेट क्षेत्र कार्यक्रम अन्र्तगत करिव तीन सय दुई रोपनी क्षेत्रफलमा धान रोपाई गर्ने तयारी छ । समुहका सचिव पविसरा पचभैयाको स्वागतबाट सुरु भएको कार्यक्रममा सहभागीलाई धन्यवाद उपाध्यक्ष तुलबहादुर थापाले दिनुभएको हो भने संचालन सल्लाहकार बलबहादुर पोखरेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस