क्लाेज आउटबाट ११ कराेड जरिवाना असुल, कसरी परिन्छ क्लाेज आउटमा ?

क्लाेज आउटबाट ११ कराेड जरिवाना असुल, कसरी परिन्छ क्लाेज आउटमा ?

चालु आर्थिक वर्षको ७ महिनामा ‘क्लोज आउट’ मा परेर लगानीकर्ताले करिब ११ करोड रुपैयाँ जरिवाना तिरेका छन् । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेका अनुसार फागुन पहिलो सातासम्म लगानीकर्ताले ‘क्लोज आउट’ कारबाहीमा परेर १० करोड ८९ लाख ८६ हजार ४७७ रुपैयाँ जरिवाना तिरेका छन् । साउनयता लगानीकर्ताको ११ हजार ६८९ वटा कारोबार ‘क्लोज आउट’ मा परेर उक्त रकम कारबाहीस्वरुपः जरिवना परेको हो ।

गत वर्ष १४ हजार ९ सय ६९ वटा कारोबार ‘क्लोज आउट’ मा परेको थियो । उक्त कारबाहीमा लगानीकर्ताले १३ करोड ७९ लाख ६७ हजार ३७० रुपैयाँ बुझाएका थिए । प्रवक्ता न्यौपानेका अनुसार  क्लोज आउटको प्रवृत्तिमा अहिले पनि खासै परिवर्तन भएको देखिँदैन । यद्यपि, कारोबार संख्यामा भएको वृद्धिका आधारमा हेर्दा ‘क्लोज आउट’ हुने दर भने कम भएको मान्न भने सकिन्छ ।

कसरी परिन्छ क्लोज आउट’ ?

धेरै लगानीकर्ता मानवीय र प्राविधिक त्रुटिका कारण ‘क्लोज आउट’ मा पर्ने गरेका छन् । यसमा लगानीकर्ता र ब्रोकर दुवैको तर्फबाट गल्ती हुन्छ । लगानीकर्ता ब्रोकर कार्यालयमा स्वयं गएर बिक्रीका लागि आदेश दिंदा कहिलेकाँही नाम स्क्रिप्ट खोज्न समस्या हुँदा पनि क्लोज आउटमा पर्ने डर हुन्छ । जस्तो, उस्तैउस्तै नामका एक भन्दा लगानीकर्ता भएको खण्डमा ब्रोकरहरुले झुक्किएर अर्काको नामबाट सेयर बिक्री आदेश राख्दा ‘क्लोज आउट’ मा पर्ने सम्भावना बढी हुन्छ ।

त्यस्तै, कुनै लगानीकर्ताले ब्रोकरलाई फोन मार्फत आफ्नो परिवारको नाममा रहेको सेयर बिक्री आदेश दिंदा फरक नाम पर्न गएर ‘क्लोज आउट’ हुने सम्भावना हुन्छ । पछिल्लो समय लगानीकर्ताहरू अनलाइन प्रणालीका कारण ‘क्लोज आउट’ मा पर्ने गरेको इन्भेष्टर्स फोरमका महासचिव राजन लम्सालले बताए । कतिपय लगानीकर्ताहरूले अनलाइन प्रणालीमार्फत कारोबार गर्दा, खरिद गर्नुपर्ने ठाउँमा बिक्री र बिक्री गर्ने ठाउँमा खरिद आदेश दाखिला गर्दा तथा आफ्नो डिम्याट खातामा नभएको सेयर बिक्री गर्ने आदेश दिँदा यस्तो समस्या हुने गरेको उनले बताए ।

यसको मुख्य कारण भनेको सीडीएसको मेरो सेयर एप राम्रोसँग नचल्नु रहेको पनि उनले बताए । महासचिव लम्साल भन्छन्, ‘सीडीएसको मेरो सेयर दिनको ७५% समय चल्दैन । यसले गर्दा लगानीकर्तालाई समयमा नै इडीआइएस गर्न समस्या भएको छ ।’ यसले पनि ‘क्लोज आउट’को समस्या बढाएको उनको तर्क छ । साथै, लगानीकर्ताको असावधानीको कारण पनि ‘क्लोज आउट’ मा पर्ने गरेको उनको भनाई छ ।

उनले भने, ‘लगानीकर्ताको स्वयंको असावधानीका कारण पनि उनीहरु ‘क्लोज आउट’ मा पर्ने गरेका छन् ।’ ‘क्लोज आउट’ को समस्या अन्त्य गर्न सीडीएसको मेरो सेयर एप राम्रोसँग चल्नु पर्ने लम्सालले बताए । साथै, लगानीकर्ता स्वयं सचेत हुन आवश्यक रहेको उनको धारणा छ । धितोपत्र कारोबारको राफसाफ तथा फर्छ्यौट विनियमावलीमार्फत‘क्लोज आउट’ को व्यवस्था गरेको हो । यस विनियमावली लागू भएपश्चात २०७२ सालदेखि ‘क्लोज आउट’ कार्यान्वयन हुँदै आएको छ ।

नेपालीपैसाबाट साभार गरिएकाे

प्रतिक्रिया दिनुहोस