पाल्पाको गजल साहित्यको संक्षिप्त इतिहास

पाल्पाको गजल साहित्यको संक्षिप्त इतिहास

पुष्कर अथक रेग्मी

पृष्ठभूमि
गजलको जन्म सातौँ शताब्दीतिर अरबी भूमिबाट भएको हो । अरबी मान्यता अनुसार राजा महाराजाहरुलाई प्रशंंसा गरी स्तुति गान कसीदा गाइन्थ्यो । कसीदा को अगाडि आउने प्रेममय पंक्तिलाई तश्बीब भनियो ।तश्बीब लोकप्रिय हुँदै गयो । अन्तत ः कसीदाबाट तश्बीबलाई अलग्याएर गजल भनियो । सातौँँ शताब्दीका अरबी सायर इमरउल कैस जया जाहिलिया पहिलो गजलकार हुन् । खलिल बिन अहमदद्वारा लिखित इल्मे अरुज पहिलो प्रकाशित गजल कृति हो । दशौँ शताब्दीमा फारसका रोदकी नाम गरेका सायरले गजललाई साहित्यिक विधाको रुपमा स्थापित गरेका थिए । तेह्रौ शताब्दीमा अमिर खुसुरो ले गजललाई हिन्दी भाषा साहित्यमा प्रवेश गराएका थिए ।
गजल शब्द ग, ज, अल पदहरुको यौगिक विधानबाट व्युत्पत्ति भएको हो । व्युत्पत्तिगत आधारमा हेर्दा गजलको अर्थ नारी वा स्त्री वा प्रेमिका (केटी) सँगको मिठो कुराकानी हुन्छ । लामो समयसम्म श्रृङ्गारिक विधाको रुपमा मात्र समर्पित हुँदै आएको गजल विधालाई समसामायिक विविधताका विषय वस्तुमा समाहित गरी गजलको दुनियामा नयाँ मोड दिने कार्य भारतीय शायर दुष्यन्त कुमारबाट भएको हो ।
नेपाली साहित्यमा गजल विधाले लामो समयपछि मात्र प्रवेश पायो । बीसौँ शताब्दीमा आएर वि.सं. १९४० तिर युवक कवि मोतिराम भट्टले नेपाली भाषा साहित्यमा गजललाई भित्र्याए । उनले मोती मण्डली गठन गरेर नेपाली साहित्यलाई व्यापीकरण गर्ने कार्य गरे । मोतीराम भट्ट बनारसमा छदाँ उर्दू मजलिसका सायरबाट प्रभावित भई भारतीय प्रसिद्ध कवि भरतेन्दू हरिशचन्द्रसँगको सान्निध्यतामा गजल सिकेका थिए । तत्कालिन समयमा सामूहिक रुपमा मोतिराम भट्टले सम्पादन गरेको संयुक्त गजल कृति संगीत चन्द्रोदय हो । मोतिराम भट्टले शुरुवात गरेको गजल परम्परलाई मलजल सहित हुर्काउने काम शंभुप्रसाद ढुंग्याल, भिमनीधि तिवारी र उपेन्द्रबहादुर जिगरद्वारा भयो । तिवारीको मेरी बयासी गजल (१९९३) र जिगरको एक सय एक गजल (१९९६) संग्रह प्रकाशित भयो । वि.सं. १९९६ देखि झण्डै चार दशकसम्म नेपाली भाषा साहित्यमा गजल विधा मूर्छित अवस्थामा रहेको पाइन्छ ।

वि.सं. २०३६ पछि नेपाली गजल साहित्यले श्रृङ्गारिकता र प्रेमको संकीर्ण घेरा तोडी समसामायिक विषयवस्तुमा प्रवेश ग¥यो । वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, ललिजन रावल बूँद राना, मनु बाज्राकी रवि प्राञ्जल, डा.कृष्णहरि बराल, डा. घनश्याम न्यौपाने ῾परिश्रमी’श्रेष्ठ श्रिया पत्थर, शितल कादम्बिनी सहित सयौँ गजलकारहरुले आधुनिक नेपाली गजल साहित्यलाई चौतर्फी फैलाउने कार्य गरे । हजारौँ गजलकारहरु नेपाली गजल साहित्यको व्यापीकरणको अभियानमा अघि बढिरहेका छन् ।
पाल्पामा गजल साहित्यको विकासको इतिहास खोतल्दा बहादुरसिंह बरालको नाम सुन्नमा आउँछ । त्यसपछि लामो समयसम्म पाल्पाको गजल साहित्य मूर्छाएकै अवस्थामा पाईन्छ । पाल्पाको साहित्यिक इतिहासलाई केलाउँदा गजल साहित्यिको विकास कहिले देखि भयो ? प्रथम गजलकार को थिए ? पहिलो गजल कृति कुन हो ? आदि अनुत्तरित प्रश्नकै रुपमा रहेका छन् । यसको खोजनीति र लेखाजोखा आगामी दिनहरुमा अवश्य नै हुने छन् ।
यस लेख मार्फत पंक्तिकारद्वारा सीमित श्रोत साधन एवं कम समयको वावजूद संकलन गरिएका उपलब्ध स्रोत सामग्रीको स्वअध्ययन गरी पाल्पाको गजल साहित्यको क्षेत्रमा प्रकाशित काल क्रम अनुसारको कृतिहरुको आधारमा पाल्पाको गजल साहित्यको संक्षिप्त इतिहास उत्खनन् गर्ने प्रयास गरिएको छ ।
२. एकल कृति प्रकाशित गर्ने पाल्पाली गजलकारहरु
२.१ पाल्पाबाटै कृति प्रकाशित गर्ने गजलकारहरु
२.१.१ गणेश नेपाली

पाल्पा बगनासकाली गाउँपालिका, बगनास निवासी पिता धनबहादुर नेपाली र माता उत्तरकुमारी नेपालीको सुपुत्र गणेश नेपाली (२०३०) पाल्पाबाटै गजलकृति प्रकाशित गर्ने गजलकार हुन् । विद्यार्थी जीवनदेखि नै गजल लेखन, वि.सं. २०५० सालदेखि गजल प्रकाशन गरेका नेपालीले पाल्पा प्रकाशन प्रालिद्वारा प्रकाशित साहित्यिक हवाई पत्रिका काँचुली वर्ष १, अङ्क ५ भदौ ÷ असोज २०५४ को गजल विशेषाङ्क सम्पादन गरेका छन् । वाङ्मय प्रज्ञा प्रतिष्ठान पाल्पाद्वारा प्रकाशित गजल संग्रहछाती चर्किएपछि (२०६०) गणेश नेपालीको प्रकाशित पहिलो गजल संग्रह हो । यस कृति भित्र वि.सं.२०५० देखि २०५८ सम्म लेखिएका र विभिन्न पत्रपत्रिकाहरुमा छापिएका ६१ वटा गजलहरु संग्रहित रहेका छन् । संयुक्त संग्रहका साथै विभिन्न साहित्यिक संगालो एवं पत्रपत्रिकाहरुमा समेत नेपालीका गजलहरु प्रकाशित हुँदै आएका छन् । यिनी कथाकार पनि, हुन् । यिनको लघुकथा संग्रह अछूत (२०७६) प्रकाशित भएको छ । यिनका गजलहरुमा समतामूलक समाजको अपिल पाईन्छ । गणेश नेपाली आधुनिक नेपाली गजल साहित्यमा पाल्पाबाटै गजल कृति प्रकाशित गर्ने अगुवा गजलकार हुन् ।
२.१.२ सरोज काफ्ले
पाल्पा बगनासकाली गाउँपालिका पोखराथोक निवासी पिताम्बर काफ्ले र माता रुक्मिणा काफ्लेको सुपुत्र सरोज काफ्ले (२०३७) पाल्पाबाटै शास्त्रीय बहरमा आवद्ध गजलहरुको संग्रह प्रकाशित गर्ने गजलकार हुन् । पूर्णत ः सूत्रबद्ध गजल लेखन र वाचन गर्दै आएका सरोजको पोखराथोक साहित्य संगमद्वारा शास्त्रीय बहरमा आवद्ध गजल संग्रह अधरामृत (२०६२) र गजलकार स्वयमद्वारा प्रकाशित शास्त्रीय बहरमा आवद्ध गजल संग्रह अधरामृत –दुई(२०६५)प्रकाशित भएका छन् । विप्रलम्भ श्रृङ्गारले व्याप्ति र गेयगुणले पूर्ण यिनको गजल संग्रहअधरामृत भित्र ७२ वटा र अधरामृत दुई भित्र ९६ वटा बहरवद्ध गजलहरु संग्रहित रहेका छन् । अधरामृत आधुनिक नेपाली गजल कालखण्डको शास्त्रीय बहरमा लेखिएको पहिलो ऐतिहासिक गजल संग्रह हो । विभिन्न पत्रपत्रिकाहरु एंव साहित्यिक संगालोहरुमा सरोजका गजलहरु प्रकाशित हुँदै आएका छन् । शास्त्रीय बहरमा गजल लेख्ने र कर्णप्रिय स्वरमा गजल गुनगुनाउने सरोज काफ्ले शोध, खोज, सोच र ओजपूर्ण रहेका शास्त्रीय गजलकार हुन् ।
२.१.३ कृष्ण पहारी
पाल्पा बगनासकाली गाउँपालिका पोखराथोक निवासी पिता केशवराज पहारी र माता विष्णुकुमारी पहारीका सुपुत्र स्वःकृष्ण पहारी (२०१३) पाल्पाबाटै गजल कृति प्रकाशन गर्ने गजलकार हुन् । पोखराथोक साहित्य संगमद्वारा पहारीको गजल संग्रह वारुदका धुवाँहरु
(२०६२) प्रकाशित भएको छ । यस कृति भित्र ७० वटा गजलहरु संग्रहित रहेका छन् । कृष्ण पहारीका मुक्तक संग्रह परिवेश भित्रका पीडाहरु (२०६५) र कविता संंग्रह मान्छे हराएको देश (२०७२) प्राकाशित भएका छन् । विभिन्न पत्रपत्रिका एवं साहित्यिक संगालोहरुमा समेत गजलहरु प्रकाशन गर्दै आएका गजलकार ं स्व.कृष्ण पहारी मानवीय संवेदनशील सचेतना भएका गजलकार हुन् ।
२.१.४ भोजराज भट्टराई
पाल्पा बगनासकाली गाउँपालिका दर्पुक निवासी पिता लालप्रसाद भट्टराई र माता दुर्गा भट्टराईका माहिला सुपुत्र भोजराज भट्टराई(२०४२) पाल्पाबाटै गजल कृति प्रकाशित गर्ने गजलकार हुन् । पोखराथोक साहित्य संगमद्वारा भट्टराईको गजल संग्रह यात्रा नरोकिएको जिन्दगानी (२०६८) प्रकाशित भएको छ । यस संग्रह भित्र वि.स २०६२ असारदेदिख २०६७ चैत्र सम्मका ५५ वटा गजलहरु संग्रहित रहेका छन् । गजल, कविता, हाइकु, मुक्तक,साइनो, बाछिटा, लगायतका क्षेत्रमा कलम चलाउँदै र विभिन्न पत्रपत्रिका, अनलाइन एवं संयुक्त संगालोहरुमा समेत गजलहरु प्रकाशन गर्दै आएका भट्टराईको स्मृति संग्रह चौतिस चक्कर प्रकाशोन्मुख अवस्थामा रहेको छ । भोजराज भट्टराई मूलतः श्रृङ्गारिकता एवं समसामयिक शब्दचित्रलाई प्रतिबिम्बित गर्दै गजल सिर्जना गर्न सक्ने युवा गजलकार हुन् ।
२.१.५ पुष्कर अथक रेग्मी
पाल्पा तानसेन नगरापालिका भगवती टोल निवासी माता राधादेवी रेग्मी र पिता वद्रीप्रसाद रेगमीका जेष्ठ सुपुत्र पुष्कर अथक रेग्मी (२०२६) पाल्पाबाटै गजलकृति प्रकाशन गर्ने गजलकार हुन् । शिक्षा, स्वास्थ तथा साहित्यमा प्रतिष्ठान नेपाल, पाल्पाद्वारा अथकको गजल संग्रहअन्तत ः (२०७४) र सचित्र बहरवद्व बालगजल संग्रह अनुरोध (२०७५) प्रकाशित भएका छन् । गजल संग्रह अन्तत ः भित्र एक सय एक वटा गजल र अनुरोध भित्र सचित्र बहरवद्व रुक्न र अर्कान सहितका चालीस वटा बाल गजलहरु संग्रहित रहेका छन् । गीति उपन्यास, लघुकथा, कविता, गजल, नाटक, जीवनी, शैक्षिक पुस्तकहरु एवं बाल साहित्यका कृतिहरु समेत गरी अथकका १४ वटा कृतिहरु प्रकाशित भइसकेका छन् । विभिन्न पत्रपत्रिका, साहित्यिक संगालो, अनलाइन एंव संयुक्त संग्रहहरुमा समेत गजलकार पुष्कर अथक रेग्मीका गजलहरु प्रकाशित हुँदै आएका छन् ।
२.१.६ सुजाता थापा (सुजु)
पाल्पा रिब्दीकोट गाउँपालिका फेक निवासी पिता गणेश थापा र माता लक्ष्मी थापाको सुपुत्री सुजाता थापा (२०५६) पाल्पाबाटै गजल कृति प्रकाशन गर्ने गजलकार हुन् । मनकामना अफसेट प्रेस पाल्पाद्वारा सुजुको गजल संग्रह टुटेको मन (२०७५)प्रकाशित भएको छ । टुटेको मनभित्र सड्चालिस वटा गजलहरु संग्रहित रहेका छन् । विभिन्न पत्रपत्रिका एवं संयुक्त संग्रहहरुमा समेत उनका गजलहरु प्रकाशित भएका छन् । सुजाता थापा (सुजु) उन्नीस वर्षकै कलिलो उमेरमा गजल कृति प्रकाशन गर्ने सम्भावना बोकेकी उदियमान नारी गजलकार हुन् ।
२.१.७ सरिता रेग्मी
पिता दण्डपाणि खनाल र माता अयोध्या खनालकी सुपुत्रकीको रुपमा स्याङ्जा गल्याङ्ग नगरपालिका बेलचौर जन्मभई पाल्पा रामपुर नगरपालिका रजघरा कर्मस्थान भएकी सरिता खनाल रेग्मी पाल्पाबाटै गजल कृति प्रकाशन गर्ने गजलकार हुन् । नारी उन्नयन तथा विकास प्रतिष्ठान पाल्पाद्वारा सरिताको गजल संग्रहअन्तरंग (२०७५) प्रकाशित भएको छ । अन्तरंग भित्र ७८ वटा गजलहरु संग्रहित रहेका छन् । विभिन्न पत्रपत्रिका एवं संयुक्त संग्रहहरुमा सरिताका गजलहरु प्रकाशित हुँदै आएका छन् । सरिता रेग्मी गजल लेखन र गायन कलाले निपूर्ण भएकी कुशल नारी गजलकार हुन् ।
२.१.८ श्रीराम स्वरुप
पाल्पा बगनासकाली–८ निवासी पिता रामप्रसाद बस्याल र माता सावित्रा बस्यालको सुपुत्र श्रीराम स्वरुप पाल्पाबाटै गजल कृति प्रकाशित गर्ने गजलकार हुन् । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाद्वारा श्रीराम स्वरुपको गजल संग्रह खरानी (२०७६) प्रकाशित भएको छ । .खरानी भित्र चालीसवटा गजलहरु स्रंग्रहित रहेका छन् । विभिन्न पत्रपत्रिका एवं साहित्यिक संगालोहरुमा स्वरुपका गजलहरु प्रकाशित हुँदै आएका छन् । श्री राम स्वरुप सुन्दर आदर्श समाजको खोजी गर्दै हिडेका सम्भावना बोकेका युवा गजलकार हुन् ।
२.२ पाल्पा बाहिरबाट कृति प्रकाशित गर्ने पाल्पाली गजलकारहरु
२.२.१ खगेन्द्र बस्याल
पाल्पा बगनासकाली गाउँपालिका दैलातुङ्ग फाँट निवासी पिता भोजराज बस्याल र माता ढुण्डकादेवी बस्यालको सुपुत्र खगेन्द्र बस्याल (२०१६) पाल्पामा जन्मी रुपन्देही तिलोत्तमा नगरपालिका, सरस्वती पथमा बसी नवलपरासीमा सेवारत रहँदा गजल कृति प्रकाशन गर्ने पाल्पाली गजलकार हुन् । लेखक स्वयंद्वारा बस्यालको गजल संग्रह दैलातुङ्ग फाँटबाट शुरु भएको यात्रा (२०४९) प्रकाशित भएको छ । कृतिभित्र ४८ वटा गजलहरु संग्रहित रहेका छन् । स्मृति काव्य र संयुक्त हाइकु संग्रह खडेरीका फूलहरु (२०७४) प्रकाशित गरिसकेका बस्यालका कविता गजल, हाइकु र बाछिटाहरु विभिन्न पत्रपत्रिका एवं साहित्यिक संगालोहरुमा प्रकाशित हुँदै आएका छन् । खगेन्द्र बस्याल पाल्पा बाहिरबाट गजल कृति प्रकाशित गर्ने अगुवा गजलकार हुन् ।
२.२.२ रमेश समर्थन
पाल्पा रिब्दीकोट गाउँपालिका पोरकनी निवासी पिता तीर्थप्रसाद उपाध्याय र माता तुल्सा उपाध्यायको सुपुत्र रमेश हरि ढकाल (२०१७) पाल्पामा जन्मी रुपन्देही तिलोत्तमा नगरपालिका मंगलापुर बसी रौटहतमा सेवारत रहँदा रमेश समर्थनको नामद्वारा गजल कृति प्रकाशन गर्ने पाल्पाली गजलकार हुन् । रौतहट रश्मिद्वारा रमेश समर्थनको गजल संग्रह पर्खी बसेँ (२०६०) प्रकाशित भएको छ । कृति भित्र वि.सं. २०५६ असारदेखि २०५८ चैत्रसम्मका त्रियानब्बे वटा गजलहरु संग्रहित रहेका छन् । विभिन्न पत्रपत्रिका एवं साहित्यिक संगालोहरुमा गजलहरु प्रकाशित गर्दै आएका समर्थनका अझै हजारौँ गजलहरु पाण्डुलिपीमै सुुरक्षित छन् । मुक्तक संग्रहब्रह्मलूट(२०५३), शोक खण्डकाव्य दक्षिणा
(२०५७),यात्रा तथा संस्मरण संग्रह चिसा पसिना (२०७४) लगायत पाँच वटा कृतिहरु प्रकाशित गरिसकेका समर्थन बहर र गैरबहर दुवैमा निपुण सिद्धहस्त अग्रज गजलकार हुन् ।
२.२.३ निर्मल ढुङ्गाना
पाल्पा बगनासकाली गाउँपालिका चिर्तुङ्गधारा निवासी पिता ईश्वरीप्रसाद शर्मा ढुङ्गाना र माता सीतादेवी ढुङ्गानाका सुपुत्र निर्मल ढुङ्गाना (२०४०) पाल्पामा जन्मी रुपन्देही देवदह, खैरेनीमा अध्यापन पेशामा संलग्न रही काठमाडौँ र रुपन्देहीबाट गजल कृति प्रकाशित गर्ने पाल्पाली गजलकार हुन् । एसिया पब्लिकेशन काठमाडौँ र अनुराग साहित्य समाज रुपन्देहीद्वारा ढुङ्गानाका गजल संग्रहहरु क्रमश ः दिन हराएको दिन (२०६१) र नओइलिने फूलहरु (२०६५) प्रकाशित भएका छन् । गजल कृति दिन हराएको दिनभित्र ५६ वटा र नओइलिने फूलहरुभित्र ६६ वटा गजलहरु संग्रहित रहेका छन् । विभिन्न पत्रपत्रिका एवं साहित्यिक संगालोहरुमा गजल, कविता, मुक्तक लेखहरु प्रकाशन गर्दै आएका ढुङ्गानाको कथा संग्रह बतासा (२०७३),संयुक्त मुक्तक संग्रह मुक्तक मिठास (२०७२) र केही शैक्षिक पुस्तकहरु समेत प्रकाशित भएका छन् । गजल प्रशिक्षकको रुपमा समेत स्थापित भई आफूलाई कुनै समय ‘मुलुकित बुद्ध’ उपनामले समेत चिनाउने निर्मल ढुङ्गाना प्रखर युवा गजलकार हुन् ।
२.२.४ युसुफदिन मियाँ‘पाल्पाली’
पाल्पा तानसेन नगरपालिका पश्चिम गाउँ निवासी पिता मरहूम अब्दुल गफूर मियाँ र माता मरहूम बिबिरन मियाँका सुपुत्र हाजी जनाव युसफदिन मियाँ ‘पाल्पाली’ (२०७३) पाल्पामा जन्मी चितवन नारायणगढ बेलटाँडीमा व्यावसायिक रुपमा बसोबास गरी चितवनबाट गजल कृतिहरु प्रकाशित गर्दै आएका पाल्पाली अग्रज गजलकार हुन् । पल्लव साहित्य प्रतिष्ठान चितवनको प्रकाशन मालाबाट मियाँको गजल संग्रहहरु पाल्पालीको गजल (२०६६), शास्त्रीय बहरबद्ध गजल संग्रह मनको व्यथा (२०६८) शास्त्रीय सूत्रमा आधारित गजल संग्रह एकबहर एक गजल (२०६९), गजल संग्रह रोशनी (२०६९) बहरबद्ध गजल संग्रह मृतकारिव दिवान (२०७१) र हम्द, नाअत, मनकवत, नजममा आधारित गजल संग्रह नवीको महिमा (२०७२) प्रकाशित भएका छन् । ६ वटा कृतिभित्र मियाँका वि.स २०४७ देखि २०७२ को अवधि भित्र लेखिएका ६८१ वटा गजलहरु संग्रहित रहेका छन् । विभिन्न पत्रपत्रिका एवं साहित्यिक संगालोहरुमा मियाँका गजलहरु प्रकाशित हुँदै आएका छन् । बहुआयामिक गजल विशेषताका धनी लेखन र गायन कलामा निपूर्ण युसुफदिन मियाँ ‘पाल्पाली’ नेपाली मुस्लिम समुदायबाट गजल विधामा कृति प्रकाशन गर्ने सभंवत पहिलो गजलकार हुन् ।
२.२.५ गंगा लिगल
पाल्पा तानसेन नगरपालिका–३ निवासी पिता गणेश प्रसाद श्रेष्ठ र माता केशव लक्ष्मी श्रेष्ठकी सुपुत्री गंगा लिगल हाल भैरहवा रुपन्देहीमा बसोबास गरी, लामो समयसम्म अमेरिकाको टेक्सास राज्यमा रहँदा अमेरिकाबाट गजल कृति प्रकाशन गर्ने पाल्पाली गजलकार हुन् । अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज अमेरिकाद्वारा लिगलको गजल संग्रह गंगाका गजल (२०६७) प्रकाशित भएको छ । कविता संग्रहहरु विहानी, आमा, संगीतको आभाष, सागर पारी, गंगाका तरंगहरु कथा संग्रह ऐना, खण्डकाव्य ममताकोखास्टो सखी वियोग, पत्र संग्रह पत्रमञ्जुषा लेख रचना संगालो गंगाको लहर लगायत करीव दुई दर्जन कृतिहरु प्रकाशित गरिसकेकी लिगलका गजल सिर्जनाहरु विभिन्न पत्र पत्रिका एवं संगालोहरुमा प्रकाशित भएका छन् । गंगा लिगल बहुमुखी प्रतिभा भएकी नारी श्रष्टा गजलकार हुन् ।
२.२.६ सीता विष्ट कार्की (सीविका)
पाल्पा रिब्दीकोट गाउँपालिका डबका निवासी पिता लीलाबहादुर विष्ट र माता यमकुमारी विष्टकी सुपुत्री सीता विष्ट कार्की (सीविका) हाल काठमाडौँ टोखा नगरपालिका गोगँबुमा प्राध्यापन पेशामा संलग्न रही काठमाडौँबाट गजल कृति प्रकाशन गर्ने पाल्पाली गजलकार हुन् । गौरी पब्लिक रिलेसन एन पब्लिकेशन काठमाडौँद्वारा सीबिकाको संघर्षको मैदान(२०७४) प्रकाशित भएको छ । संघर्षको मैदान भित्र पचासवटा गजलहरु संग्रहित रहेका छन् । मनोवैज्ञानिक उपन्यास संघार नाघेको उज्यालो
(२०७३) बाल उपन्यास मीना (२०७४), कविता संग्रहहरु आँसुका फूल (२०७६), कलेज डायरी (२०७४), संस्मरणका पाइलाहरु (२०७४), मुक्तक संग्रह स्पर्श भाव (२०७४) हाइकु संग्रह समय छाल (२०७४) बाल कथा संग्रहहरु शिलुको मनोविज्ञान (२०७४), शिकारी बा
(२०७६), बाल कविता संग्रह सपना (२०७६) लगायतका कृतिहरु प्रकाशित गरिसकेकी सीविकाका गजलहरु विभिन्न पत्रपत्रिका साहित्यिक संगालो एवं संयुक्त संग्रहहरुमा प्रकाशित हुँदै आएका छन् । नारी श्रष्टा र बाल साहित्यकारको रुपमा समेत स्थापित सीविका क्रियाशिल नारी गजलकार हुन् ।
३.१ संयुक्त कृति प्रकाशन गर्ने पाल्पाली गजलकारहरु
३.१ ‘काचुली’ गजल विशेषाङ्क भित्रका गजलकार
गजलकार गणेश नेपाली र साथीहरु रामचन्द्र नेपाल, विष्णुबहादुर खत्री र राजु के.सी.द्वारा सम्पादित पाल्पा प्रकाशन प्रा.लिद्वारा प्रकाशित वर्ष १ अङ्क ५ पूर्णाङ्क ५ भाद्र÷ असोज २०५४ को ‘काचुली’ साहित्यिक हवाई पत्रिका गजल विशेषाङ्कको रुपमा प्रकाशित भएको छ । विभिन्न जिल्लाका १५ जना सर्जकहरुको गजल यसमा संग्रहित रहेका छन् । पाल्पा बराङ्गदीका श्रष्टा राजेन्द्र बस्यालको गजल यस विशेषाङ्कमा प्रकाशित भएको छ ।
३.२‘विमर्शका स्पर्शहरु’ भित्रका गजलकार
कला विमर्शका केन्द्र पाल्पाद्वारा प्रकाशित ‘विमर्शका स्पर्शहरु’(२०६७) मूलत ः संयुक्त कविता संग्रह हो । कृतिभित्र पाँचजना श्रष्टाहरुको कविताहरु संग्रहित रहेका छन् । जस भित्र पाल्पाली गजलकार डा. शङ्करप्रसाद गैरेको दशवटा गजलहरु प्रकाशित भएका छन् ।
३.३ श्रष्टा सिर्जनाः पाल्पा भित्रका गजलकारहरु
परेवा पत्रिका पाल्पाद्वारा प्रकाशित श्रष्टा सिर्जना ः पाल्पा (२०७५) पाल्पाका अठार गजलकारहरुको संयुक्त गजल संग्रह हो । बहर र गैरबहरमा अठारजनाद्वारा प्रत्येकका आठ÷आठ वटा गजल संख्याका दरले लेखिएका एक सय चवालीसवटा गजलहरु कृतिभित्र संग्रहित रहेका छन् । श्रष्टा सिर्जनाः पाल्पा पाल्पाबाट प्रकाशित पहिलो संयुक्त गजल संग्रह हो । श्रष्टा सिर्जनाः पाल्पा भित्र पुरुषोत्तम अर्याल, रामप्रसाद अर्याल (अविराम) सीता विष्ट कार्की (सीविका), पुष्कर अथक रेग्मी, विजयापन्त, चन्द्र ‘वैरागी’ न्यौपाने, जानकी अधिकारी (सुुुवेदी), गणेश नेपाली, कमलबहादुर खत्री, इन्दिरा ज्ञवाली पौडेल, प्रकाश न्यौपाने‘प्रयास’, कमल पराजुली, भोजराज भट्टराई ज्ञानु न्यौपाने ‘आकाश’, धनु ‘अतीत’ रायमाझी श्रवणकुमार राना, सुवास गैरे र सुजाता थापा (सुजु) संयुक्त रुपमा पाल्पाका अठार गजलकारका रुपमा उपस्थित भएका छन् ।
३.४ ‘आँकुरा’ भित्रका गजलकारहरु
्नारी उन्नयन तथा विकास प्रतिष्ठान पाल्पाद्वारा प्रकाशित ‘आँकुरा’ (२०७६) पाल्पाका एघार जना नारी श्रष्टाहरुद्वारा प्रकाशित संयुक्त गजल संग्रह हो ।‘आँकुरा’ मा प्रत्येक नारी श्रष्टाका पाँच पाचवटा गजल संख्याका दरले लेखिएका पचपन्न वटा गजलहरु संग्रहित रहेका छन् । संग्रहभित्र कृष्णकला भण्डारी, गुणवती के.सी., चन्द्रकला न्यौपाने, ‘चन्द्रिका’, जानका नेपाल, भावना खनाल, मन गहिरे, लक्षिमा ज्ञवाली घिमिरे, लक्ष्मी गौतम नेपाल, शकुन्तला घिमिरे, सरिता रेग्मी र सिर्जना अधिकारी देवकोटा संयुक्त रुपमा पाल्पाका एघार नारी गजलकारको रुपमा उपस्थित भएका छन् ।
४.समापन
वरिष्ठ गजलकार प्राज्ञ बूँद रानाको शुभकामना शब्दलाई सापटी लिएर भन्नुपर्दा “यतिखेर गजलको लोभ लाग्दो फसल लाग्ने क्रम बढ्दो छ र नेपाली माटोलाई त्यो फसल स्याहार्न भ्याइ नभ्याइ छ ।” पाल्पामा पनि गजलको फसल दिनानुदिन झ्याँगिदै छ । फसललाई लिपीवद्ध रुपमा ऐतिहासिक भण्डारी करण गर्न स्वयं गजलकारहरु नै लागि पर्नुपर्दछ । पोखराथोक साहित्य संगमद्वारा प्रकाशित साहित्यिक संगालो वाटिका का बिभिन्न अंकहरु मानव अधिकार तथा शान्ति समाज पाल्पाद्वारा प्रकाशित शान्ति (२०६३) कला विमर्श केनद्र पाल्पाद्वारा प्रकाशित संयुक्त कविता संग्रह नयाँ नेपालको बाटो
(२०६४) पाल्पा साहित्य समाजद्वारा प्रकाशित साहित्यिक संगालो जागरण(२०६५), नेपाल नागरिक समाज पाल्पाद्वारा प्रकाशित नागरिक आवाज (२०७०) लगायत पाल्पाबाट विभिन्न संस्थाहरुले प्रकाशित गर्ने स्मारिका एवं विद्यालय, शिक्षालय र क्याम्पसहरुले प्रकाशन गर्ने बुलेटिन, स्मारिका विशेषाङ्कहरुमा समेत बिभिन्न स्रष्टाहरुका गजलहरु छापिएका छन् । पाल्पाबाट प्रकाशित दैनिक अर्धसाप्ताहिक, साप्ताहिक एवं पाक्षिक सबै किसिमका पत्रपत्रिकाहरुमा समय सापेक्ष विभिन्न श्रष्टाका गजलहरु छाँपिदै आएका छन् । पाल्पामा क्रियाशिल विभिन्न साहित्यिक संस्थाहरुले आयोजना गर्ने साहित्यिक कार्यक्रमहरुमा गजल सुनाउनुका साथै पाल्पा स्थित सम्पूर्ण एफ.एम.हरुले समय सापेक्ष गजलहरु प्रसारण गर्दै आएका छन् । यी सबैको खोजीनीति संरक्षण सम्बद्र्धन र मूल्यांकन आगामी दिनमा पक्कै पनि हुने छन् ।

पाल्पा भित्रै या बाहिर क्रियाशिल रहेका पाल्पाली गजलकारहरुले प्रकाशित गरेका एकल कृतिहरु र पाल्पाबाट प्रकाशित भएका संयुक्त गजल संग्रहलाई मात्र सीमाङ्कन गरी यस लेख मार्फत आंशिक रुपमा पाल्पाको गजल साहित्यको संक्षिप्त इतिहासको उत्खनन गर्ने प्रयास मात्र गरिएको हो । सम्पूर्ण खोज अनुसन्धान गरिएको होईन । लेखकीय अज्ञानतामा रहेका, खोज्दा खोज्दै र लेख्दा लेख्दै छुट्न गएका गजल श्रष्टा र गजल कृतिहरु अरुपनि पक्कैनै रहेका होलान् । संक्षिप्त रुपमा उठान गरिएको यस इतिहासलाइ पूर्णता दिने कार्य सरोकारवालाहरुले अवश्य नै गर्नुहुने छ । अन्तमा पाल्पाको गजल साहित्यको संक्षिप्त इतिहासको उत्खनन गर्ने क्रममा मेरो शोध खोज सोच, अध्ययन, अज्ञान, भ्रम, प्रमाद र प्रस्तुतीहरुबाट केही कमजोरी त्रुटीहरु हुन गएका छन् भने विनम्रता पूर्वक क्षमा याचना गर्दै यस लेखको अन्त्य गर्दछु ।

स्रोतः प्रस्तुत लेखमा उल्लेखित गजलकारहरुका एकल कृति तथा संयुक्त संग्रहहरु र टेलिफोन वार्ता । (लेखक पाल्पासाहित्य समाज र शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पाका अध्यक्ष रहेका छन् ।)

प्रतिक्रिया दिनुहोस