स्वस्थानीको वास्तविक मान्यता र अनुभूति

स्वस्थानीको वास्तविक मान्यता र अनुभूति

  

डा. नम्रता पाण्डे|

सुवर्ण–वर्ण–दीप्ताभां त्रिनेत्रां कमलाननाम् 
    सिंहासन–समासीनां सर्वालंकार–भूषिताम् 
    नीलोत्पल–धरां वामे , दक्षिणे वरदां शुभाम् 
    खड्ग–चर्मधरां चोध्र्वं वामदक्षिणयोः क्रमात 
    चतुर्भुजां च मां वाऽपि पूजयेत् वृषकेतुनम् 
    एवं ध्यात्वा महादेवीं स्वस्थानीं जगदिश्वरीम्।।

‘सुनको जस्तै दिव्य पीत वर्ण भएकी, तीन नेत्र भएकी, कमल पुष्प झैँ प्रसन्न मुख मण्डल भएकी, विविध आभूषणहरूले शोभायमान भई सिंहासनमा विराजमान भएकी, खड्ग,चर्म र नीलोत्पल धारण गरेकी, चार बाहु भएकी, यस्ती श्री स्वस्थानी माताको ह्दयमा ध्यान गर्दछु।’

देवी अर्थात् नारी शक्तिको महिमासहित शुरू हुने स्वस्थानी व्रत कथाले, कथाको बीच-बीचमा विरोधाभासपूर्ण कुराहरू सृजना गरिदिन्छ, त्यसैले त यो कथा नै हो। 

स्वस्थानी वाचन गर्नसक्ने उमेर

नेपाली समुदायमा स्वस्थानी व्रत कथा शुरू हुनु, घर–घरमा यसलाई वाचन गरिनु र ठूलाबडाले वाचन गर्ने, अनि घरका सबै सदस्यले वाचकको वरिपरी बसेर सहभागिता जनाउनु एउटा संस्कार नै छ, थियो।

स्वस्थानीको मर्म बुझ्ने उमेर नहुँदै यसको वाचन सुनिएको हो। त्यो सानो उमेरमा ठूलाबडाले भनेको मानेर सुनियो। नसुने पाप लाग्छ भनिन्थ्यो, पाप के हो थाहा नपाएपनि, बेलुकाको खाना खाएर भान्छा चोखो बनाई, लिपपोत गरी परिवारका सबै सदस्य टुकीको वरिपरी झुम्मिएर बसिन्थ्यो। 

ठूलो बुबाको घरबाट पनि ठूलीआमा र फुपू स्वस्थानी कथा सुन्न हामीकहाँ नै आउनुहुन्थ्यो। सायद उता वाचन गर्न सक्ने कोही थिएनन्। मधुरो टुकी वरिपरी सबै झुम्मिन्थ्यौँ। अलिपर अगेनामा मुढाको आगोले तातो बनाइरहेको हुन्थ्यो।

अक्षर देख्न सजिलो होस् भनेर स्वस्थानी वाचकको अगाडि भने थप एउटा टुकी राखिएको हुन्थ्यो। हुन त मैले सबैभन्दा सानो उमेरमा देखेको स्वस्थानी किताब अहिलेको भन्दा लम्बाइ, चौडाइ र अक्षर पनि ठूलो नै भएको मोटो किताब थियो। सायद टुकीको उज्यालोमा पढ्नुपर्ने भएकोले नै होला। 

स्कुलबाट फर्केर खाजा खाएपछि हजुरआमाले चोखो भएर, हातखुट्टा सफा गरी, साँझको लागि फूल र नैवेद तयार पार्ने जिम्मा हामी केटाकेटीलाई दिनुहुन्थ्यो। वर्षेनी स्वस्थानी सुन्दै गर्दा आफू पनि हुर्किँदै गइएछ।

हजुरबुबाले भन्नुभयो, ‘अब त ठूली नातिनीले पनि वाचन गर्नसक्छे।’ त्यसपछि वाचन गर्ने जिम्मेवारी मेरो भयो।

हजुरबुबाले त अक्षर फुटाउनसक्ने भई भनेर मलाई पढ्न लगाउनुभएको थियो, तर पढ्दै जाँदा मलाई स्व–स्थित बनाउँथ्यो। त्यो थाहा पाएर होइन, अनायासै। किनकी स्वस्थानीका कथामा कतै साह्रै मार्मिक र दुःखद कथा जोडिएर आउने त कतै रोमाञ्चक! कतै छोरा नहुनुको पीडा त कतै छोरी हुनुमा अभिशाप! तर कतै भने प्रेमका कथा पनि आउने। अगाडिको प्रसङ्गलाई थप बुझ्न म पढिसकेको पाना फेरि फर्काउँथे। 

हजुरबुबा कराउनुहुन्थ्यो, ‘एकपटक पढिसकेपछि किन पन्ना फर्काएको, एकलट पढेर सकेपछि फेरि शुरू गरौंला, यसपटक ३ पटक पढ्ने हो, खुरुखुरु अगाडि बढ।’

आजको दिनसम्म आइपुग्दा मैले स्वस्थानीलाई यसरी बुझेको निर्क्योल गरेकी छु।

मान्यता र अनुभूति

स्वस्थानी कथा र प्रसंग वास्तवमै सत्य घटना हुन् या मान्यता ? जे भएपनि हामीले मान्दै नै आएका छौं यो एक मान्यता नै हो। हामी किन मान्यतालाई पछ्याउँछौँ ? किनकी वास्तविकता टाढा हुन सक्छ, त्यो पत्ता लगाउन मेहनत पनि चाहिन्छ। अनि मानिदिएपछि हानी पनि छैन।

मान्यताबाट माथि उठ्न आफ्नै अनुभवमा निखारिएको हुनुपर्दछ। कतिपय अवस्थामा हामी आफ्ना सोधखोज, अनुसन्धान र व्यावहारिकतामा अडिग हुन सक्दैनौं, त्यसैले मान्नुको विकल्प रहँदैन। कतिपय अवस्थामा विद्रोह गर्ने र चुनौती मोल्ने क्षमता हुँदैन। डर र त्रासले थिचेको हुन्छ। अनि मान्नु नै सहज उपाय हुन्छ। 

आफ्नै परिवारले, आफ्नै परम्पराले सिकाउँदै आएको कुरामा किन अविश्वास गर्नु भनेर मानिदिने प्रचलन पनि छ। यी सबै व्यक्तिका, परिवारका, संस्कारका, समाजका, धर्म र परम्पराका आफ्ना मान्यता हुन्। जब मान्यतामा अडिग हुन्छौं : त्यसमा आफ्ना अनुभव, राय र व्यवहारिकतालाई खुलेर बोल्न सक्ने अवस्था पनि रहँदैन। 

कतिपयले बुझेर या नबुझेरै विरोध गर्ने गरेको पाइन्छ। तर, त्यसको आधार के त भन्ने हुँदैन। त्यसैले बोल्नु, विरोध गर्नु, विश्वास नगर्नु र आलोचना गर्नुपूर्व आफ्नो बोधगम्य अनुभूति हुनुपर्दछ। आफ्नो अनुभूति र प्रमाण विना विरोधमा उत्रिनु या राम्रो नराम्रो अर्थ लगाउनु उचित हुँदैन। 

स्वस्थानीलाई धार्मिक आधार मानेर आस्था गर्नेहरूप्रति टिकाटिप्पणी गर्नुभन्दा पनि मान्यताको आधार कसरी बस्यो होला ? धर्म के हो ? पाप के हो ? यसलाई कसरी बुझ्नुपर्छ भनेर सिकाउने शिक्षाको अभाव नहुँदा, धर्मको नाममा प्रचलित संस्कारले व्यक्तिको खोज, अनुभव र सृजनालाई नै दबाएर राखेको हुन्छ भन्ने चेतना जागृत गराउन नसकिएको पो हो कि ? अनुभव बिनाको मान्यता केवल मान्यता नै हो। 

अनुभव नै असली ज्ञान हो भन्ने शिक्षा र जागरणको ज्ञान हुनासाथ मान्यता र अनुभूति फरक हुन् भन्ने थाहा लाग्दछ। कतिपय कुरा मान्नु मै श्रेयस्कर हुन्छन् त कतिपय कुरा नबुझिकन मान्नुले आफैँलाई अन्यायमा पारिदिएका हुन्छन्।

आस्था, विश्वास र आस्तिकता 

संसारमा तीन किसिमका व्यक्तित्व हुन्छन्। पहिलो हुन्छ-आस्तिक, जसले धर्म र परम्परालाई जसरी भएपनि मान्दछ। जान्नु, अनुभवमा आएपछि मात्र व्याख्या गर्नु, सृजनात्मक र रचनात्मक हुनुसँग उसलाई सरोकार रहँदैन। दोस्रो हुन्छ नास्तिक-जसलाई वैज्ञानिक विचारधारा, अन्धविश्वास नमान्ने र अधार्मिक प्रवृत्ति भनेर बुझिन्छ। ऊ कसैको मान्दैन पनि र अन्तस्करणबाट जान्न पनि खोज्दैन। 

तेस्रो हुन्छ-अनुभवी, साधक, सन्त, बुद्ध प्रवृत्तिको, सद्गुरुको स्थानमा रहनसक्ने खुबीको। जो आस्तिक र नास्तिक भन्दा फरक हुन्छ। आफ्नै अनुभवसिद्ध तथ्यलाई मात्र विश्वास गर्दछ। स्वस्थानी व्रत कथाको प्रसंगलाई यी तीन किसिमका प्रवृत्तिले आफूले चाहे अनुसार बुझ्दछन्। यसमा कोही पनि सही या गलत भन्दा पनि उसले कसरी अर्थ लगाउँछ, त्यसमा निर्भर गर्दछ। 

हिमालयपुत्री पार्वतीले महादेव पति पाउँ भनेर व्रत बसेको कथालाई धार्मिकतासँग जोडेर होस् या व्रतको नियमसँग, शुरू वा समापनको विधि होस्, छोराको ठाउँमा मीत छोराले मान्यता पाउनु होस् या मित छोराको पनि अभावमा प्रसाद नदीमा बगाउनु, तर छोरीको नाम र स्थान नहुनु-यी सबै कथाले व्यक्तिको आस्तिकता, नास्तिक र बोध अर्थात् व्यवहारिकताबाट कसरी छुट्याउने, त्यो जिम्मा त हाम्रो हो। 

स्वस्थानी कथा आफैँमा सही या गलत छैन। हाम्रो सोच, हाम्रो अर्थ र हाम्रो बुझाईलाई निखारता दिन, सत्यता दिन, व्यावहारिकता दिन र जागृत बनाउन यसले महत्वपूर्ण भूमिका निभाउन सक्छ।

एकातिर महिलाको उपेक्षा गरिएको कथा प्रसंग उल्लेख हुँदा महादेवले मृत पार्वतीको शरीरको एक-एक अंग समाप्त नहुँदासम्म बोकेर हिँडेको प्रेमकथा पनि त सँगै जोडिएर आएको छ। 

हामीले कसरी बुझ्ने, कसरी व्यवहारिकता दिने, कसरी बुझाउने त्यो महत्वपूर्ण पक्ष हो। स्व–स्थित हुनुको अर्थ यहाँ राम्ररी बुझ्न सकिन्छ। आफ्नो स्वभावमा, आफ्नो प्रेममा स्थित हुनु, आफ्नो स्वभावबाट विचलित नहुनु, भनेको र सुनेको भन्दा पनि आफ्नो आत्मविश्वासमा अडिग रहनसक्नु महत्वपूर्ण पक्ष हो।

प्रज्ञा र प्रतिभाको विकास 

व्यक्तिको व्यक्तित्व विकास त्यतिबेला भएको मानिन्छ-जब उसमा प्रज्ञा र प्रतिभा फस्टाएको हुन्छ। प्रज्ञा भनेको भय रहित अवस्था, मान्यताभन्दा पनि अनुभूतिको आधारमा चल्नु, धर्म र विज्ञान दुबैलाई समेटेर लैजान सक्नु र खोजमूलक हुनु हो। 

बाहिरी धारणा र मान्यतालाई भन्दा आफ्नो आन्तरिक चेतनाले जे निर्देश गर्छ त्यसलाई सुन्नु, जान्नु र प्रयोगमा ल्याउनुपर्छ। आफ्ना रिपुहरूसँग सचेत रहनु र प्रज्ञापूर्ण हुनुपर्छ।

पुराना संस्कार र कथाबाट मुक्त भएर नयाँ खोजमा केन्द्रित हुनसक्नु, धैर्यता, परिश्रम, सिक्ने कला, स्वीकार भावको विकास हुनु, आत्मबोध, आत्मसम्मानलाई थाहा पाउनु नै प्रज्ञावान हुनु हो। यी सबै स्वभावलाई जान्न र व्यवहारमा उतार्न सक्ने व्यक्ति नै प्रतिभावान भएर प्रस्फुटित हुन्छ। 

अन्तर्बोध फरक अनुभूति हो भन्ने जान्नासाथ व्यक्ति प्रतिभावान, सृजनशील र कर्तव्यपरायणतामा स्थिर रहन सक्दछ। यस्ता व्यक्तिलाई कुनै कथा र मान्यताले विचलित गराउन सक्दैन। बरू, समयानुकुल परिवर्तन र विकसित हुने कलाबाट निखारिएका हुन्छन्।

प्रतिक्रिया दिनुहोस
तानसेन नगरपालिकाकाे सूचना