सामुहिक आलु खेतीमा रामपुरका युवा आकर्षित

सामुहिक आलु खेतीमा रामपुरका युवा आकर्षित

सुशीला रेग्मी

रामपुर (पाल्पा), कोरोनाका कारण विश्वमा नै हरेक पेशा तथा व्यवसाय प्रभावित भएका अवस्थामा रामपुरका युवाले भने वैदेशिक रोजगारीको विकल्पमा व्यवसायिक आलु खेती रोजेका छन् । रामपुर नगरपालिका वडा नं ६ स्थित विजयपुरमा ट्वान्टी ट्वान्टी नामक समूह स्थापना गरी २० जना युवा सामूहिक आलु खेतीमा लागेका हुन् । वैदेशिक रोजगारमा रहदा कोरोनाको महामारी खेपेका युवा गाउँ फर्केपछि चुनौतीलाई अवसरमा बदल्दै आयआर्जनका लागि आलु खेती गरेका हुन् ।

एकै वडाभित्र करिव एक हजार दुई सय रोपनी बढी क्षेत्रफलमा व्यवसायिक आलु खेती गरिएको छ । रामपुर नगरपालिका वडा नं ६ र कृषि ज्ञानकेन्द्र पाल्पाको सहयोगमा एकै ठाउँमा लगाइएको आलु फस्टाउन थालेको छ ।

नगरपालिकाको एक वडा एक उत्पादन कार्यक्रम अन्र्तगत वडा नं ६ ले बिगतका वर्षदेखि आलु खेतीलाई जोड दिएर वीउमा अनुदान उपलब्ध गराउँदै आएको वडा अध्यक्ष हुमनाथ न्यौपाने बताउनुहुन्छ ।

रामपुर नगरपालिकाले पाँच लाख वजेटमा कृषि शाखा मार्फत नगरका कृषकलाई पाँच टन आलु ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । आलु ब्लक क्षेत्र रहेको वडा नं ६ मा वडा कार्यालयमार्फत चार लाख वजेट सहयोगमा पाँच टन आलुको वीउ वितरण गरिएको छ ।

गतवर्ष रामपुर नगरपालिका भित्र करिव तीन हजार रोपनी क्षेत्रफलमा आलु खेती गरिएको थियो भने यसवर्ष करिव पाँच हजार रोपनीमा आलु लगाइएको छ । ब्लक क्षेत्र रहेकाले पनि यसवर्ष क्षेत्रफल थप गरी कृषकले आलु खेती गरेका छन् ।

यो वर्ष नगरपालिका भित्र करिव दुई हजार पाँच सय मेट्रिकटन आलु उत्पादन हुने अनुमान रहेको रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरी पाण्डेयले जानकारी दिनुभयो । रामपुर नगरपालिकाले एक वडा एक उत्पादन नीति अन्र्तगत वडा नं ६ लाई आलु पकेट क्षेत्रका रुपमा विकास गरिरहेको छ ।

रामपुर नगरपालिकामा तीन सय मेट्रिक टन क्षमताको शित भण्डार निर्माण भएकाले पनि भण्डारण गर्न अन्यत्र लैजानुपर्ने बाध्यता हट्ने हुदा आलु उत्पादनमा जोड दिएको कृषक यमकान्ती गौतम बताउनुहुन्छ ।

रामपुरमा सबैभन्दा धेरै वीउ आलु उत्पादन गर्ने कृषक गौतमले वर्षेनी दुई सय ५० बोरा वीउ आलु उत्पादन गर्नुहुन्छ । यो वर्ष पनि उन्नत जातको करिव १२ रोपनी क्षेत्रफलमा आलु खेती गर्नुभएको छ ।

उहाँले अहिले सम्म रामपुरमा उत्पादन भएको आलु वीउ भण्डारणका लागि भैरहवाको शित भण्डारमा पठाउने गर्नुहुन्छ । यस पटक ४० हजार गाडी ढुवानी खर्च गरेर भैरहवा शित भण्डारणमा राखिएको वीउ आलु ल्याएर रामपुरका कृषकलाई वितरण गर्नुभएको छ ।

पाल्पा जिल्लामै ठुलो क्षमता भएको शित भण्डार रामपुरमा निर्माण भएकाले यसवर्ष ढुक्कका साथ कृषकले खेती लगाएका छन् । अघिल्ला वर्षमा बाली उत्पादन भएपछि भण्डारणकै समस्याले पिरोल्ने गथ्र्यो ।

घरदैलोमा नै निर्माण भएको शित भण्डारणमा आलु राख्ने योजनाका साथ ठुलो क्षेत्रफलमा कृषकले खेती गरेका हुन् । यस पटक उत्पादन भएको आलु नयाँ शित भण्डारणमा राखेर सुरु गर्ने योजना रहेको रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य बताउनुहुन्छ । यहाँ ठुलो परिमाणमा आलु खेती हुने भएकाले कृषकलाई भण्डारण गर्न सहज हुनेछ ।

पाल्पाको रामपुर, रैनादेवी छहरा, तानसेनको अर्गली, बगनासकालीको दैलातुङफाँट, रम्भाको हुँगी, खोकखोला, पिपलडाँडा, तिनाउँ, पूर्वखोला र माथागढी गाउँपालिकाको केही क्षेत्रमा आलु खेती गरिएको छ ।

जिल्लामा सरदरमा वार्षिक करिव एघार हजार मेट्रिकटन आलु उत्पादन हुने गरेको छ भने प्रति हेक्टर उत्पादकत्व एघार मेट्रिकटन रहेको छ । यसवर्ष कृषि ज्ञानकेन्द्र पाल्पाको सहयोगमा रामपुर नगरपालिका वडा नं ६ मा आलु ब्लक कार्यक्रम सञ्चालन भएकाले करिव एघार हजार ६० मेट्रिक टन उत्पादन हुने अनुमान छ । जिल्लामा करिव एक हजार एक सय ५० हेक्टर क्षेत्रफलमा आलु खेती गरिदैछ ।

कोभिड १९ को सङ्क्रमणले गर्दा अघिल्लो वर्षको तुलनामा यो वर्ष क्षेत्रफल बढाएर कृषकले आलु खेती गरेको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउनुहुन्छ । ठूलो क्षेत्रफलमा आलु खेती गर्ने कृषकलाई प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराएको उहाँको भनाई छ । ब्लक कार्यक्रम अन्र्तगत कार्यालयले पाल्पाको रामपुरमा करिव छ सय रोपनी क्षेत्रफलमा रु २३ लाख रुपैयाँ अनुदान सहयोग गरेको छ ।

“रामपुरमा यो वर्ष ठूलो क्षेत्रफलमा आलु खेती हुदैछ, सानो सानो क्षेत्रफलले व्यवसायीकरण नहुने हुदा कृषकलाई आयआर्जन बृद्धि गर्ने गरी ठूलो क्षेत्रफलमा गर्न कार्यालयले अनुदान सहयोग पनि गरिरहेको छ, कृषकले मापदण्ड अनुसार खेती गर्न चाहेमा कार्यालयले सहयोग गर्नेछ”,– प्रमुख अर्यालले भन्नुभयो ।

ज्ञानकेन्द्रको जिल्लाका दशवटै पालिकामा एक पालिका एक ब्लक कार्यक्रम यो वर्ष सञ्चालन भइरहेको छ । जसमा रामपुर नगरपालिकामा आलु खेती, निस्दी गाउँपालिकामा सुन्तला, पूर्वखोला र बगनासकाली गाउँपालिकामा अदुवा, माथागढी र तिनाउ गाउँपालिकामा धान, रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकामा तरकारी खेती र तानसेन नगरपालिकामा गाईपालन कार्यक्रममा छनौटमा परेको छ ।

रम्भा गाउँपालिका भने सुरुमा लिचिलाई ब्लकका रुपमा कार्यक्रम संचालन गर्ने बताएपनि लिचिको सट्टा अन्य बालीमा ब्लक कार्यक्रम गर्ने भएकाले त्यसको लागि बाली छनौट प्रक्रियामा नै रहेको कृषि ज्ञानकेन्द्र पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
तानसेन नगरपालिकाकाे सूचना