ऋषिकेश्वर रिडिमा माघे सङ्क्रान्ति मेला (फोटो फिचर)

ऋषिकेश्वर रिडिमा माघे सङ्क्रान्ति मेला (फोटो फिचर)

पाल्पा, माघ १
ऋषिकेश्वर मन्दिर रुरुधाम रिडि धार्मीक मेलामा भक्तजनहरुको न्यून उपस्थिती देखिएको छ । कोरोना महामारीका कारण कुनै पनि औपचारिक कार्यक्रम नहुँदा गत वर्षको तुलनामा न्यून संख्यामा भक्तजनहरुको उपस्थिती रिडी मेलामा देखिएको हो ।

कालीगण्डकी स्नान गरि दानदक्षिण गर्नेहरुको रुरु क्षेत्रमा मेला लागेको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकर सङक्रान्ति पनि भनिन्छ । सौरमानको गणना बमोजिम आजदेखि ६ महिनासम्म सूर्य उत्तरायणमा प्रवेश गर्ने र धार्मिक मान्यता अनुसार सूर्य उत्तरायण भएको समय यज्ञ, दान आदि धार्मिक विधिका लागि शुभ मानिने भएकोले शुभ कर्महरु पनि यसै बेला गर्ने परम्परा छ ।

पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल रिडिमा बिहिबार बिहानैदेखी स्नान गर्नेहरुको घुईचो छ । आजको दिनमा भक्तजनहरु नदी, तलाउ, त्रिवेणी, कुण्ड तथा जलाशयमा मकर स्नान गरिरहेका छन् । स्नान, दान तथा पूजा गरिएपछि आआफ्नो घरमा तिलको लड्डु, तरुल, घीउ, चाकु, खिचडी, सेलरोटी लगायतका परिकार खाने चलन छ ।

दाङबाट रुरु क्षेत्रमा स्नान गर्न आएका मधु पन्थीले पुण्यभूमी रिडी क्षेत्रमा स्नान गर्दा मोक्ष प्राप्त हुने विश्वासका कारण मेलामा आएको बताए । उनी भन्छन्, ‘यस वर्ष कुनै मेलामहोत्सव कोरोनाका कारण आयोजना भएको रहेनछ तर यहाँको धार्मीक आस्थाका कारण टाढाटाढाबाट समेत भक्तजनहरुको घुईँचो लाग्ने गरेको छ ।’ कालीगण्डकी नदीमा स्नान गर्दै गरेका बिष्णु गैरेले कोरोनाका कारण रिडी क्षेत्रमा अन्य गतिविधिमा कमी आएको भएता पनि स्नान गर्न, मन्दिर दर्शन गर्न र यस क्षेत्रमा घुमघामका लागि आउनेहरुमा कुनै कमी नभएको बताए । ‘हामी संयुक्त परिवार नुहाउन आएका छौं, यहाँ नुहाउँदा देव ऋण, पितृ ऋणबाट मोक्ष प्राप्त हुन्छ भन्ने विश्वास छ, गैरेले भने, विगतका वर्षमा ठूलो मेलापर्व हुन्थ्यो इतिहासमै पहिलोपटक कम मानिसहरुको उपस्थिती जस्तो लाग्छ तर आगामी वर्ष यस्तो हुनेछैन भन्ने विश्वास छ ।’

यस वर्ष मनोरञ्जनात्मक अन्य कार्यक्रम नभएता पनि रिडिको मेलामा ¥याफ्टीङ्गमा युवाहरुको आकर्षण छ । रिडीमा पाल्पा, गुल्मी, स्याङ्जा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, कास्की तथा अन्य जिल्लाबाट भक्तजनहरु स्नान गर्नका लागि आउने गर्दछन् । स्नान गरेपछि श्रद्धालु भक्तजनहरु ऋशिकेश मन्दिरको दर्शन गरि घर फर्कने गर्दछन् । भारतबाट रुरुमा स्नान गर्नकै लागि आएका शालिकराम भण्डारीले आजको पुण्य दिनमा धर्मकर्म गर्दा पितृ खुसी हुने र पुण्य कमाईने विश्वास रहेको बताए ।

तस्वीरः रिडीमा स्नान गर्दै गरेका भक्तजनहरु । तस्वीरः मुक्ति न्यौपाने

प्रतिक्रिया दिनुहोस