कसले कसको बाटो काट्यो ?

कसले कसको बाटो काट्यो ?

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको अमलेखगन्ज–पथलैया सडकखण्डमा लस्करै गाडी रोकिएका छन्। सबैभन्दा पछाडितिरको गाडीमा ‘सेभ टाइगर’ लेखिएको छ। त्यसकै छेउमा १० महिने पाटेबाघको मुखबाट रगत बगिरहेको छ।  

गत शनिबार बिहानको दृश्य हो यो। आरक्षको बीचबाट निस्केको यस सडकखण्डमा ‘जंगली जनावर हिँड्ने बाटो, बिस्तारै सवारी हाँक्नोस्’ भन्ने सूचना पनि टाँगिएको छ। त्यहीँ बाटो काट्दै गरेको बाघको तीव्र गतिमा आएको कारको ठक्करबाट मृत्यु भयो। बाघले बाटो काट्दा अन्जानमा उक्त दुर्घटना भएको कारचालक बताउँछन्।  

वन्यजन्तु विज्ञ भने ‘बाघले मान्छेको होइन, मान्छेले बाघको बाटो काट्दा यस्तो समस्या दोहोरिरहने’ सुनाउँछन्। ‘त्यो त सदियौँदेखि बाघ हिँड्दै आएको बाटो हो,’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्य भन्छन्, ‘मानिसले राजमार्ग बनाएर बाघ हिँड्ने बाटो काट्दा यस्तो समस्या परेको हो। यसअघि पनि सडक दुर्घटनामा बाघ घाइते भएका छन्।’ उनका अनुसार बाघ घाइते हुनु भनेको लगभग मर्नुजस्तै हो। घाइते बाघलाई मलमपट्टी गर्न समस्या हुने कारण ‘इन्फेक्सन’ले बाघ मर्ने उनले सुनाए।  

मानिस र बाघबीचको द्वन्द्वले बाघलाई मात्र होइन, मानिस स्वयंलाई पनि जोखिममा पार्छ भन्ने कुरा बाघ मरेको अघिल्लो रात बर्दियामा बाघकै आक्रमणबाट महिलाको मृत्यु भएको घटनाले पुष्टि गर्छ।  

देशका विभिन्न संरक्षित क्षेत्रका राजमार्ग, सडक वा अन्य स्थानमा मानव र वन्यजन्तुबीचको द्वन्द्वबाट हुने क्षति बर्सेनि बढ्दै गइरहेको छ। बारामा कारको ठक्करबाट बाघको मृत्यु भएको केही दिन नबित्दै सर्लाहीमा मोटरसाइकलको ठक्करबाट हरिणको मृत्यु भएको खबर छ। बाग्मती नगरपालिका–३ स्थित नयाँरोड–बरहथवा सडकखण्डमा मोटरसाइकलको ठक्करबाट हरिणको घटनास्थलमै मृत्यु भएको हो। नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले हालै तीन महिना लगाएर स्थलगत अध्ययन गरेको प्रतिवेदनमा रेखीय वा लामो प्रकृतिको पूर्वाधार (सडक, सिँचाइ, प्रसारण लाइन, रेलका लिकलगायत) निर्माण गर्दा अपनाउनुपर्ने सावधानी र वातावरणीय पक्षप्रति ख्याल नगर्दा यस्ता दुर्घटना बर्सेनि थपिँदै गएको बताएको छ। जसको मार वन्यजन्तु र मानिस दुवैले भोगेका छन्। समूहले शनिबार पर्सा राष्ट्रिय निकुञ्जमा पर्ने पूर्व–पश्चिम राजमार्गको अमलेखन्ज खण्डमा गाडीको ठक्करबाट पाटेबाघ मारिएको घटनालाई सन्दर्भ मान्दै यो प्रतिवेदन सार्वजनिक गरेको जनाएको छ। दुर्घटनामा परेर पाटेबाघ मारिएको यो तेस्रो घटना हो।

समस्या बाघको मात्र होइन, मानिस र वन्यजन्तुबीचको द्वन्द्व कति डरलाग्दो छ भन्ने कुरा तलको तथ्यांकबाट देखिन्छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार २०७६/७७ मा मात्र हात्तीको आक्रमणबाट १३ को मृत्यु, २१ सख्त घाइते र नौजना सामान्य घाइते भएका छन्। गैँडाको आक्रमणबाट चारको मृत्यु, १२ सख्त घाइते र पाँच सामान्य घाइते भए। बाघको आक्रमणबाट आठको मृत्यु, चार सख्त घाइते भए। त्यसैगरी भालु, चितुवा, बँदेल, अर्ना लगायत वन्यजन्तुको आक्रमणबाट एक वर्षमा मात्र मानवीय तथा भौतिक क्षतिका आठ हजार एक सय ६४ घटना उल्लेख छ।  

सोही आर्थिक वर्षमा आरक्ष क्षेत्रमा सयौँ वन्यजन्तुको विभिन्न कारण मृत्यु भएको छ। एक वर्षको अवधिमा पर्सा राष्ट्रिय निकुञ्जमा मात्र सडक दुर्घटनामा १५ वन्यजन्तुको मृत्यु भएको छ। त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जमा सडक दुर्घटनामा ३५ वन्यजन्तु, बाँके राष्ट्रिय निकुञ्जमा ४८ र चितवन राष्ट्रिय निकुञ्जमा एक वन्यजन्तुको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जको केही ठाउँमा अन्डरपास राखिएकाले दुर्घटना घटेको हो। वन्यजन्तुको वासस्थान, गतिविधि लगायत वैज्ञानिक तथा प्राविधिक अध्ययन गरेर मात्र अन्डरपास (वन्यजन्तु जमिनबाट ओहोरदोहोर गर्ने पुल) र ओभरपास (वन्यजन्तु ओहोरदोहोर गर्ने अकासेपुल) बनाउनुपर्ने नेफेजको सुझाव छ।

‘वन्यजन्तुमैत्री पूर्वाधार निर्माणका केही काम भए पनि ती पर्याप्त नभएको र हाल निर्माण भएकाभन्दा अझ स्तरीय र प्रभावकारी निर्माण आवश्यक देखिएको नेफेजको प्रतिवेदनको निष्कर्ष छ। वन्यजन्तु सजिलै र स्वतन्त्र रूपमा ओहोरदोहोर गर्न सक्ने खालका पूर्वाधार तत्काल निर्माण गर्नुपर्ने, भौतिक पूर्वाधार निर्माण गर्नुपूर्व जैविक मार्ग, वन्यजन्तुको वासस्थान र संवेदनशील अवस्थामा रहेका बोटलनेक (वन्यजन्तु ओहोरदोहोर गर्ने साँघुरो जैविक क्षेत्र) को नक्सा तयार गर्नुपर्ने प्रतिवेदनमा सुझाव दिइएको छ।  

सूचना अधिकारी हरिभद्र आचार्य वन्यजन्तु क्षति न्यूनीकरणका प्रयास भइरहेको बताउँछन्। आरक्षहरूमा ‘स्पेस’का कमीका कारण जनावर बाहिर निस्कन बाध्य हुनु नै अहिलेको जटिल समस्या रहेको उनले बताए। ‘यस्तै पूर्वाधार निर्माणमा पनि सजगता अपाउन थालेका छौँ,’ उनले भने, ‘वन्यजन्तु संरक्षणमा नागरिकको दायित्व पनि उत्तिकै छ।’  

संरक्षणकर्मी डा. रोशन शेरचन पनि पूर्वाधार तयार गर्नु अगाडि सडक विभागले वन अथवा राष्ट्रिय निकुञ्जसँग समन्वयन गरेर अगाडि बढेको भए समस्यामा कमी आउने बताउँछन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, सडक विभाग, केन्द्रीय तथा प्रादेशिक मन्त्रालय, मध्यवर्ती क्षेत्र विकास परिषद्, संरक्षण क्षेत्र तथा वनका उपभोक्ता समूहहरूबीच सहकार्य तथा समन्वय अनिवार्य रहेको उनको बुझाइ छ। ‘कम्तीमा पनि आरक्ष क्षेत्रभित्र संरचना तयार गर्दा समन्वय हुनु जरुरी छ,’ उनले भने, ‘यसो भयो भने मान्छे पनि हिँड्ने जनावर पनि सुरक्षित हिँड्ने बाटो तय हुन्छ।’  

अब बन्ने संरचनामा यसप्रति झनै सजग हुनुपर्ने विज्ञको भनाइ छ। निजगढ विमानस्थल निर्माणका लागि प्रस्ताव गरिएको क्षेत्र जंगली हात्ती लगायत अन्य दुर्लभ वन्यजन्तुको जैविक मार्गमा पर्ने र पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएकाले विमानस्थल निर्माणको थालनीपूर्व यसले पार्ने वातावरणीय, सामाजिक, आर्थिक लगायत अन्य प्रभावबारे अझै प्रभावकारी र विस्तृत अध्ययन हुन आवश्यक छ।

पर्सा राष्ट्रिय निकुञ्जका निकुञ्जका सहायक संरक्षण अधिकृत रमेशकुमार यादव बाघकोे प्रजनन प्रक्रिया जटिल हुने बताउँदै बाघको मृत्युलाई ठूलो क्षतिको रूपमा लिन्छन्। पथलैयामा मृत्यु भएको बाघ बच्चा जन्माउन सक्ने पूर्ण वयस्क उमेरको रहेको उनले बताए। नेपालमा सन् २०१८ गरिएको पछिल्लो गणनामा बाघको संख्या २३५ पाइएको थियो। जसमध्ये पर्सा निकुञ्जमा १८ वटा पाइएको उनले बताए। विज्ञहरू बाघलाई जंगलको राजा पनि मान्छन्। बाघको सख्ंयाबाट जंगलको मौलिक अवस्था पत्ता लाग्ने बताउँदै बाघ इकोसिस्टमको महत्वपूर्ण सूचक रहेको बताउँछन्। 

‘यो बाघ दुर्घटनामा मरेको मात्र होइन,’ संरक्षणविद् रोशन शेरचन थप्छन्, ‘मानिसले बाघहरूलाई बचाउन नसकेको एउटा उदाहरण पनि हो।’ एकले अर्काको बाटो काट्ने भन्दा पनि बाघ र मान्छे आ–आफ्नो बाटोमा हिँड्न सक्ने अवस्था ल्याउनपर्नेमा उनको जोड छ। ‘यसका लागि आजैबाट जंगल क्षेत्रमा पूर्वाधार तयार गर्दा होसियारी अपनाउनुपर्छ,’ उनी थप्छन्, ‘यस्तो बाटो बनोस्, जहाँ बाघ र मान्छे दुवै सुरक्षित ओहोरदोहोर गर्न सकून्।’ नागरिकबाट

प्रतिक्रिया दिनुहोस