आलु खेती गर्ने रामपुरका कृषकलाई प्रबिधि सिकाइदै

आलु खेती गर्ने रामपुरका कृषकलाई प्रबिधि सिकाइदै

सुशीला रेग्मी, रामपुर (पाल्पा), २४ पुस

आलु ब्लक क्षेत्रका कृषकलाई आलु खेती सम्बन्धी प्रबिधि सिकाउन थालिएको छ । आलुको ब्लक क्षेत्र रहेको रामपुर नगरपालिका वडा नं ६ का कृषकलाई उत्पादन बढाउन खेती गर्ने प्रबिधि तथा ज्ञान सीप सिकाउन थालिएको छ । विजयपुर कृषि सहकारी संस्था रामपुरको आयोजना तथा कृषि ज्ञानकेन्द्र तानसेन पाल्पाको सहयोगमा एक कार्यक्रम आयोजना गरी आलु खेती सम्बन्धी सीप सिकाउन थालिएको हो ।

संस्थाका अध्यक्ष ओमप्रकाश रेग्मीको अध्यक्षतामा भएको तालिमको उद्घाटन नगर प्रवक्ता तथा वडा नं ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले गर्नुभएको हो । उहाँले आलु खेतीबाट कृषकलाई घाटा नहुने हुदा राम्रै उत्पादन लिन सकिने बताउनुहुदै आलुले बजार पाउदैन कि भन्ने चिन्तामा नरहन कृषकलाई आग्रह गर्नु भएको छ । आलु खेतीका अलवा अन्य कृषि खेती गर्न चाहने कृषकलाई वडाले सहयोग गर्ने उहाँले बताउनुभएको छ ।

संस्थाका उपाध्यक्ष घनश्याम देवकोटाको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन सचिव एकराज ढकालले गर्नुभएको हो । कार्यक्रममा सिताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्णकुमार अर्याल, वडा सचिव बासुदेव ढकाल, संस्थापक अध्यक्ष सुर्यप्रसाद रेग्मी लगायतले बोल्दै तालिम सफलताको शुभकामना दिनुभएको छ ।

तालिमको सहजिकरण नगरपालिकाका कृषि शाखा प्रमुख रामहरी पाण्डेयले गर्नुभएको छ । उहाँले आलु बालिमा लाग्ने रोग, किरा, मलजल, भण्डारण र बजारीकरण सम्बन्धमा कृषकलाई ज्ञान सीप सिकाउनुभएको छ । आलु ब्लक क्षेत्र भित्र रहेका कृयकलाई तालिम दिईएको हो । रामपुर नगरपालिका वडा नं ६ मा कृषि ज्ञानकेन्द्रको सहयोगमा आलु ब्लक कार्यक्रम अन्तर्गत छ सय रोपनी र रामपुर नगरपालिकाको एक वडा एक उत्पादन कार्यक्रम अन्तर्गत वडा नं ६ को सहयोगमा आलु खेती गरिएको छ । वडा नं ६ भित्र करिव एक हजार दुई सय रोपनी क्षेत्रफल भित्र आलु खेती गरिएको छ ।

प्रतिक्रिया दिनुहोस