लघुकथाः २ स्वतन्त्रता

लघुकथाः २ स्वतन्त्रता

पुष्करराज रेग्मी

देशमा लोकतन्त्र आइसक्यो । गणतन्त्र आइ सक्यो । महिलाहरुले ३३ प्रतिशत पाइसके । हजुरले आजसम्म केही गर्न सक्नु भएन । हजुर हिजो जस्तो हो आज पनि त्यस्तै हुनुहुन्छ । चन्द्रेको श्रीमति सांसद भै सकि । कृष्णले श्रीमतिलाई कुन्नि कुन हो संस्थाबाट युके पठायो रे । मेरा सवै साथीहरु कुनै न कुनै संस्थामा लागेका लागै छन । सात वर्ष लगाएर आइए पास गरेकी फूलमाया एनजिओमा लागेर अव विदेश जादै छ रे । पल्लाघरकी काली पनि समावेशीमा परि रे । अरमानेकी स्वास्नीको उहा पार्टीमा कत्रो धाक छ । मलाइ भने हजुरले घरकैै काममा अल्मल्याउनु हुन्छ ।
मलाई पनि दिनुहोस स्वतन्त्रता, महिला अधिकार, म पनि लाग्छु पार्टीमा , हिडछु संस्थामा ।
श्रीमती अनिताको सधैको यस्तै कुरा सुनेर श्रीमान अमरले अनितालाई स्वतन्त्र छाडिदियो । अनिता लागिन पार्टीमा । हिडिन संघसंस्थामा महिला अधिकार खोज्न ।
अनिता केही वर्षमै धेरैसँग परिचित भइन । महिला समूह, आमा समूह, साँस्कृतिक समूह, आर्थिक, सामाजिक, राजनैनितक , समावेशी आदी सवै किसिमका समूहमा महिला तथा पुरुषस्ाँग उनी निकै घुलमिल भइन । अहएको काम गर्ने, चियापान र फूलमाला वितरणमा संलग्न हुने,वोलाएको ठाउँमा पुग्ने, सवै मिटिङ्ग एटेन्ड गर्ने गरिन । विभिन्न तालिम, गोष्ठी, सेमिनारमा भाग लिदै गइन । थोरै समयमा धेरै संघसंस्थामा र आफ्नो पार्टीमा समेत तन,मन र धन खर्चेर काम गरिन । नव पहिचान वनाइन । स्वमसेवी र क्रियाशिल भइरहिन । अनिताकै क्रियाकलापले कतिपय संघसंस्था र भातृ संघसंस्थाले समेत ले समेत स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म ख्याति कमाए । प्रशंशित र पुरस्कृत भए । सवैले भन्ने गर्दथे, अनिता धीर, गम्भीर सकृय दूर दृष्टि भएकी महिला हो उसले केही गर्न सक्छे ।
केही महिलाहरु मिलेर महिला वचत संस्था खोले । तर अनितालाई अंशियार वनाएनन । महिला सञ्जालको चुनाव भयो । अनितालाइ सदस्यसम्म पनि दिइएन । दैनिक पाँच सय पाइने तालिम भयो । अनितालाई सहभागि गराइएन । सोच्दै नसोचेको देख्दै नदेखेको महिलाले नेतृत्व पाइन । पार्टी सभापतिको वुहारी प्रमुख प्रशिक्षक भइन । पार्टी सचिवको छोराले दलित कोटामा छात्रवृत्ति पाएछ । अनिताको सक्रियामा स्थापित एनजिओको सचिवले कल्पनालाइ हाइलाइट गराउन लाग्यो । मिटिङमै नआउने अञ्जली विदेश जान पाइन । त्याग गर्नेलाई भन्दा र्सोजन्य दिनेलाई सम्मान गरियो । अनिता अचेल घरमै छिन । मौन छिन । अमरले एकदिन सोध्यो ‘अशियार वन्ने वेलामा, विदेश जाने वेलामा, छोरालाई छात्रवृत्ति दिलाउने वेलामा, वैनीलाई विदेश पठाउने वेलामा, नेतृत्व लिने वेलामा,तिमी किन घरैमा छौ ?’
श्रीमानले व्यङ हानेको सुनेर अनिता अमर प्रति खनिइन – ‘ हो म केही भइन, किनकी हजुर केही हुनुहुन्न । हजुरले कसैलाई भनिदिनु भएन । म माथि भिटो लगाउने कोही भएन । प्यानल भित्र छिरिएन । रमझम साँझमा जान सकिएन । मैले इत्रेर हास्न जानिन । वसको सिटमा टाउको अड्याउन जानिन । काठमाण्डौ जाँदा नाइट वसमा गइन । मोटरसाइकलको पछाडि वस्न मानिन । घरैमा वोलाएर ख्वाइन पियाइन । फेवातालमा डुङ्गा चढिन । मिस्कल दिनेलाइ कल गरिन । एताको कुरा उता लाइन । अध्यक्षलाई पाहुर लगिन । नेताको स्वास्नीको चाकरी गरिन । राजनीति जानिएन । कुटनीति गरिएन । त्यसैले कहिपनि परिएन ।
श्रीमति अनिताको लामो भाषण सुनेपछि अमरले भन्यो ‘ तिमी सून्दर छौ, तिमी शान्त छौ तिमी विशाल छौ । तिमी शुशील छौ । तिमी धीर छौ । गम्भीर छौ । तिमी फूल होै । आफ्नै फूलवारीमा फुलेकी छौ । अनन्तकालसम्म स्वतन्त्र भएर फुल्ने छौ । स्वतन्त्रता आफै भित्र खोज । अधिकार आफैसँग छ । स्वतन् त्रता खोज्न अँन्त नलाग । किनकी तिमी नै श्रष्टा होै तिमी स्वयम नै स्वतन् त्रता होै । ’

प्रतिक्रिया दिनुहोस