अकबरे खुर्सानी : कतै रोगले सखाप, कतै मालामाल

अकबरे खुर्सानी : कतै रोगले सखाप, कतै मालामाल

नगदेबालीमा पर्ने अकबरे खुर्सानी पछिल्लो समय यहाँका किसानका लागि अर्थोपार्जन गर्ने प्रमुख बाली बनेको छ । छोटो समयमै उल्लेखनीय आम्दानी लिन सकिनाले किसानले अकबरेलाई व्यावसायिक गर्दै लगेका हुन् । 

अन्तर्राष्ट्रिय बजारबाट समेत अकबरेको माग आउन थालेपछि किसानले अन्य बाली मासेर पनि अकबरे लगाएका छन् । एउटै बालीबाट लाखभन्दा बढी आम्दानी लिन सकिन्छ । सहजरूपमा खेती सकिने र कम मिहिनेत पर्नाले पनि किसान उत्प्रेरित बनेका हुन् । गएको वर्ष अकबरेबाट उल्लेखीय आम्दानी लिएको भए पनि यस वर्ष रोगले सखाप परेको इलाम नगरपालिकाका किसान डिल्ली चापागाईं बताउँछन् । 
  
गएको वर्ष अकबरेबाट रु डेढ लाख कमाइ भएकोमा यस वर्ष रु ५० हजार मात्र हुने चापागाईंको अनुमान  छ । ‘डाँठ कालो भएर कुइने रोगले सबै सखाप पारेको छ’, चापागाईंले भने, ‘बढी पानी र हुस्सु परेकाले होला उत्पादन ह्वात्तै घटेको छ ।’ गएको वर्ष एक हजार बिरुवा लगाएकोमा करिब डेढ/दुई सय बिरुवाले मात्र उत्पादन दिँदै गरेको चापागाईंको भनाइ छ । समयमा रोगको औषधि हाल्न सक्दा अकबरेबाट प्रशस्त आम्दानी लिन सकिने चापागाईंको अनुभव छ ।
 
अकबरेको माग गर्मी मौसममा भन्दा चिसोमा बढी हुन्छ । यो पुस र माघमा अकबरेका माग उच्च हुन्छ । किसानले पनि यही मौसममा अकबरेबाट प्रशस्त आम्दानी लिनुपर्ने हुन्छ । पछिल्लो समय विदेशबाट पनि अकबरेको माग आएकाले अकबरे नबिक्ला भनेर डराउनु पर्दैन ।

यो वर्ष किसानको घरघरबाटै रु ४८० देखि ५०० प्रतिकिलोका दरले अकबरे बिक्री भइरहेको छ । सूर्योदय नगरपालिका-१२ आठघरेका किसान मदन राईले यो वर्ष प्रतिकिलो रु ६०० का दरले पनि अकबरे बिक्री गरेका छन् । विगत सात वर्षयता अकबरेको व्यावसायिक खेती गरिरहेका राईले उत्पादन गरेको अकबरेको माग त स्थानीय बजारदेखि विदेशमा समेत रहेको छ । राईले यो वर्ष २०० किलो अकबरे हङकङ पठाएको जानकारी दिनुभयो । ‘भारत, अमेरिका, साउदी, कतार, मलेसिया र हङकङमा बसोबास गर्ने नेपालीले इलामको अकबरे माग गर्ने गरेका छन् ।’ राईसँग दानाअर्थात् अकबरेको बीउको माग पनि उत्तिकै छ । 
  
गत वर्ष रु २५ हजार प्रतिकिलोका दरले सात किलो दाना बियाँ उत्पादन गरेका राईले यो वर्ष बीउको तयारी गरिरहेको बताए । राईले आफ्नो खेतीमा विशेष गरी गाईको गोबरमल, गहुँत, निमको पिना, हड्डीको धुलो र आफैँले उत्पादन गरेको गड्यौले मल प्रयोग गरिरहेका छन् । दहीबाट घ्यू निकालेर बनाइएको मोहीलाई पनि निश्चित पद्धतिमा ढालेर रोगबाट बालीनाली बचाउन प्रयोग गर्नेगरेको राई बताउछन् । 

अकबरेमा रोगको सङ्क्रमण 
प्राविधिकका अनुसार अहिले अकबरेमा ब्याक्टेरियल बिल, ड्यापिङ अफ र मोटल भाइरस नामक रोगले सखाप बनाएको छ । ब्याक्टेरियन बिल रोग अन्य रोगभन्दा विषालु रोग हो । अकबरे ओइलाउँदै जाने र डाँठ कालो हुने यसको लक्षण हो । 
 
यसबाट अकबरे बचाउनका लागि माटो परीक्षण गर्नुपर्ने, प्राङ्गरिक तरिकाले खेती गर्नुपर्ने र एउटै ठाउँमा वार्षिकरूपमा फरक-फरक खेती लगाइरहनुपर्ने हुन्छ । कृषि ज्ञान केन्द्र इलामका कृषि प्रसार अधिकृत रोजन खड्काका अनुसार यो रोग बीउ र मोटो दुवैबाट लाग्‍न सक्छ । अकबरे रोप्नुपूर्व कीटाणु नष्ट गर्ने औषधिमा लगाउँदा पनि रोग जान्छ भने रोपेपछि बारीमा उम्रिएको झार फ्याक्दा पनि नियन्त्रण हुन सक्छ । ‘बिरुवा गोड्दा घाउ बनेको छ भने त्यहाँबाट पनि हावाको माध्यमबाट यो रोग सर्छ’, अधिकृत भट्टराईले भने, ‘यो रोग बढी घाम लाग्ने र बलौटे माटोमा देखिन्छ ।’ 
 
यस्तै अर्को अकबरेमै देखिने रोग (ड्यापिङ अप) पनि बिरुवाको डाँठमै पहिले देखिने गर्छ । यो रोगले भने बिरुवाको फेद र डाँठ सुकेर जाने गर्छ । किसान एवं प्राविधिक खेमराज भट्टराईको भनाइ छ । ‘यसका लागि चाहिँ कालो प्लाष्टिकमा ड्याङ बनाएर खेती गर्दा उचित हुन्छ’, उनी भन्‍छन् । यस्तै, पछिल्लो समय अकबरेमा देखिएको रोग मोटल भाइरसले धेरै नोक्सानी गरेको कृषि विशेषज्ञको भनाइ छ ।
  
अकबरे फल दिने समयमा छिर्के हुने, पहेँलो रङको देखिने लक्षण देखिने कृषि विशेषज्ञ योगेन्द्रमान श्रेष्ठको भनाइ छ । यो रोगबाट अकबरे बचाउन गाईको दूधम (आधा लिटर)मा पानी (चार लिटर) हालेर बिरुवामा हाल्दा नियन्त्रण हुने विशेषज्ञ श्रेष्ठको भनाइ छ । जिल्लाका पञ्चकन्या, सोयाङ, नामसालिङ, सुम्बेक, सुलुबुङ, माइमझुवा, गोदक, कन्याम, लक्ष्मीपुरलगायतका गाउँका किसानले अकबरेको व्यावसायिक खेती गर्दै आएका छन् । जिल्लाको १५५ हेक्टर क्षेत्रफलमा अकबरे खेती हुँदै आएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस