भैरवस्थान मन्दिरमा दर्शनार्थी पर्यटकको घुईंचो-भिडियाे

भैरवस्थान मन्दिरमा दर्शनार्थी पर्यटकको घुईंचो-भिडियाे

पाल्पा, ऐतिहासिक, पर्यटकीय तथा धार्मिक महत्व बोकेका पाल्पाका प्रसिद्ध भैरव मन्दिरमा आउने पर्यटकको सङ्ख्या बढ्दो छ । सदरमुकाम तानसेन देखि झन्डै नौ किलोमिटर पश्चिममा अवस्थित यस मन्दिरमा कोरोनाका कारण रोकिएका दर्शनार्थी पर्यटकको घुईंचो बढेको हो ।

नेपालका विभिन्न जिल्लाका दर्शनार्थीसँगै छिमेकी देश भारतको विभिन्न प्रदेशहरुबाट समेत भक्तजनहरु आउनेक्रम बढेको हो । पाल्पाका तत्कालीन सेन वंशीय राजा मणिमुकुन्द सेनले १६ औँ शताब्दीमा भैरव बाबा उत्पत्ति भएको ठाउँमा यो मन्दिर निर्माण गरेका थिए । एशियाकाे सबैभन्दा ठूलो त्रिशूल रहेकाले पनि पर्यटकको आकर्षण बढेको हो । पौराणिक मान्यताअनुसार पाल्पा गौँडाका प्रमुख राजा खड्क शमशेरले आफ्नी रानीको इच्छाअनुसार मन्दिरमा त्रिशूल चढाएका थिए । त्रिशूलमा सुनको लेपन लगाइएको हुँदा जतिबेला पनि नयाँ र ताजा जस्तै देखिन्छ ।

त्यस्तै मन्दिरको अर्को विशेषता भाकलस्वरुप ल्याइएका पशुको बलि दिँदा खुकुरी, खुर्पा र दाउलाई अहिलेसम्म धार नलगाइकन एकै पटकमा सजिलैसँग काटिने गरेको यहाँका समुदाय बताउँछन् । दसैँको नवरात्र, वैशाख र मङ्सिरमा बढी भीड लाग्ने गरेतापनि पछिल्लो समय बाह्रै महिना मन्दिरमा पूजाआजा र अवलोकनका निम्ति पर्यटकको सङ्ख्या बढ्दो छ । यहाँबाट विभिन्न हिमशृङ्खलाको पनि दृश्य अवलोकन गर्न सकिने हुँदा पर्यटकको आकर्षण ह्वात्तै बढेको हो ।
मन्दिर परिसरमा रहेका रोटघरहरुले बर्सेनि सरदरमा रु ४० देखि ५० लाखसम्म आम्दानी रोट पकाएरै गर्ने गरेका छन् । भैरवस्थान मन्दिरमा मानापाथीको रोट चढाउने प्रचलन रहेको छ ।

यहाँका रोटघरहरुले पुजाचल्ने दिनमा दैनिक ५ हजार देखि १० हजारसम्म कमाउने गरेका छन् । १८ बर्ष देखि रोट व्यवसाय गर्दै आएका तेज प्रसाद न्यौपानेले घरमा ७ जनाको परिवार रोट पकाएर बिक्री गरि परिवार पालेको बताए ।
भैरव बाबासँग भाकल गरेमा मनोकामना पूरा हुने विश्वासले विभिन्न ठाउँबाट आउने दर्शनार्थीले प्रसादस्वरुप रोट चढाउँदै आएका छन् । यहाँ हाँस, कुखुरा, बोका, पाडाको पनि बलि दिने गरिन्छ । तानसेन तम्घास सडक खण्डमा अवस्थित यस मन्दिरले जिल्लाको धार्मिक तथा पर्यटन विकासका लागि महत्वपूर्ण भूमिका खेलेको छ ।

प्रतिक्रिया दिनुहोस