रामपुरमा खोपकेन्द्र भवन उद्घाटन

रामपुरमा खोपकेन्द्र भवन उद्घाटन

सुशीला रेग्मी

रामपुर (पाल्पा), मङ्सीर २०

रामपुर नगरपालिका वडा नं ३ स्थित बगाहा खोपकेन्द्र भवन उद्घाटन भएको छ । वडा अध्यक्ष दिनेशकुमार खनालको अध्यक्षतामा भएको कार्यक्रममा उद्घाटन उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले उद्घाटन गर्नुभएको हो ।

भवन उद्घाटन गर्दै नगर उपप्रमुख आचार्यले नगरपालिकाले अति आवश्यक सेवालाई पहिलो प्राथमिकता दिएर भौतिक पूर्वाधार थप गर्दै गएको बताउनुभयो । उहाँले नयाँ निर्माण भएको खोपकेन्द्र भवनका लागि आवश्यक पर्ने फर्निचरका सामग्री खरिद गर्न उपप्रमुख कोषमार्फत रु एक लाख रकम सहयोग गर्ने घोषणा गर्नुभएको छ । नगर स्वास्थ्य अधिकृत गिरीराज घिमिरेले भवन अभावमा यसभन्दा अगाडी चौतारी, खुल्ला चौरमा बसेर खोप सेवा दिनु परेको बताउँदै अब भवन बनेपछि सेवा दिन सजिलो पर्ने बताउनुभयो । नेपाली कांग्रेस रामपुर नगरपालिका वडा नं ३ का वडा सभापति विष्णु रेग्मीले नगरपालिकाले भवन निर्माणमा वजेट उपलब्ध गराएर सहयोग गरेकोमा धन्यवाद दिदै यस खोपकेन्द्रबाट नागरिकलाई धेरै सहज हुने बताउनुहुन्छ । भवन निर्माण समितिका अध्यक्ष श्यामप्रसाद भट्टराईले रामपुर नगरपालिकाको रु तीन लाख, वडा कार्यालयको रु एक लाख सहयोगमा भवन निर्माण प्रक्रिया अगाडी बढाएको बताउनुभयो । यस भवन निर्माणका लागि यहाँका स्थानीय, वन उपभोक्ता समितिबाट रु एक लाख २० हजार सहयोग प्राप्त भएको छ । कार्यक्रम संचालन वडा सचिव मदन पराजुलीले गर्नुभएको हो ।

कार्यक्रमको अवसरमा नगर उपप्रमुख आचार्य र वडा अध्यक्ष खनालले भवन निर्माणमा जग्गा सहयोग गर्नुहुने रामपुर नगरपालिका वडा नं ३ बगाहा बस्ने नरबहादुर थापा र जिताकुमारी थापाको परिवारलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो । कार्यक्रममा सहभागी पाहुनालाई रामपुर नगरपालिका ३ स्थित चनौलीमा रहेको लाङघाली समाजसुधार सामुदायिक केन्द्रद्धारा पन्चेबाजाले स्वागत गरिएको थियो । रामपुर नगरपालिका भित्र २१ वटा खोपकेन्द्र, १३ वटा स्वास्थ्य चौकी छन् ।

प्रतिक्रिया दिनुहोस