स्थानीय तहमा निर्माण हुने ३९६ अस्पताल शिलान्यास

स्थानीय तहमा निर्माण हुने ३९६ अस्पताल शिलान्यास

माथागढीकाे झडेवामा अस्पताल शिलान्यास

पाल्पा (माथागढी) मंसिर १५

गजेन्द्र पन्थी

माथागढी गाउँपालिकाको वार्ड नं ४ झडेवामा १५ शैयाको अस्पताल बन्ने भएको छ । नेपाल सरकारले देश भरका कुल ३९६ स्थानीय तहहरुमा ५, १०र १५ शैयाको अस्पताल बनाउने तयारी गरे अनुरुप पाल्पा जिल्लाको ३ ओटा स्थानीय तहहरुमा यस्तो अस्पताल बन्न लागेको हो ।

देशै भरी आज एकै दिन स्थानीय तहमा निर्माण हुने ३९६ ओटा अस्पतालहरुको शिलान्यास कार्यक्रम रहेको थियो । माथागढी गाउँपालिका वार्ड नं ४ झडेवा को मलेवास स्थित अस्पतालको शिलान्यास गर्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सासंद माननीय नारायण प्रसाद आर्चायले प्रदेश सरकार स्थानीय तहहरुको सर्वपक्षिय विकासमा लागि परेको बताउनु भयो । उहाँले नागरिकले आधारभूत रुपमा पाउनु पर्ने स्वास्थ्यको अधिकारलाई मध्यनजर गर्दै नेपाल सरकार र स्थानीय तहको सहयोगमा अस्पताल बनाउने तयारी रहेको बताउनु भयो । माननीय आचार्यले प्रदेश सरकारले भौतिक निर्माण,कृषी, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत जस्ता क्षेत्रहरुमा पनि तीब्र रुपमा काम गरिरहेको बताउनु भयो ।

कार्यक्रमका अतिथि गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले प्रदेश सरकार सँगको सहकार्यमा सम्पन्न गर्नु पर्ने योजनाका शतप्रतिशत कामहरु माथगढी गाउँपालिकाले सम्पन्न गरेको बताउदै सबै जसो विकास निमार्णका कामहरुमा माथिल्ला सरकारहरुले स्थानीय तहसँग समन्वय र सहकार्य गरे काम छिटो र सही ढँगले सम्पन्न हुने बताउनु भयो । अध्यक्ष थापाले आफूहरुले समयमै अस्पताल निर्माणको लागि चाहिने आवश्यक जग्गा उपलब्ध गराउन सकेकाले गर्दा समयमै काम प्रारम्भ हुन लागेको समेत उल्लेख गर्नुभयाे । हाल झडेवा स्वास्थ्य चौकी रहेको स्थानमा नै १५ शैयाको अस्पताल बन्ने भएको हो । हाल रहेको झडेवा स्वास्थ्य चौकीको भवन निर्माण गर्न स्वर्गीय जीवनाथ पन्थीले २०४४ सालमा (४। ५) साढे चार रोपनी जग्गा निशुल्क प्रदान गर्नु भएको थियो । अब भने अस्पताल बन्न ९ रोपनी जग्गा चाहिने भए पछि स्वर्गीय जीवनाथ पन्थीको छोरा राजेश पन्थी, माथागढी वार्ड नं ४ मलेवास निवासी राम बहादुर पन्थी, चन्द्रदेव पन्थी, टंकनाथ पन्थी , खुम बहादुर पराजुली र डिल बहादुर झेडीले हाल रहेको स्वास्थ्य चौकी सँग जोडीएको थप आबश्य जग्गा निशुल्क दिनु भएको हो ।

कृुल १८ करोड ६ लाख रुपैयाँको लागानीमा बन्न लागेको यो अस्पताल २ बर्ष भित्र सम्पन्न हुने इन्जिनियर धमेन्द्र यादवले बताउनु भयो । शिलान्यास कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष निर्मला भट्टराइले अस्पताल बन्ने भएपछि गाउँपालिका पुरै जनता खुशी भएको बताउनु भयो । कार्यक्रममा वार्ड नं ६ का वडा अध्यक्ष रनबहादुर खाम्चाले अब ग्रामिण भेगका जनताहरुले पनि आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित हुन नपर्ने र यसले गर्दा बेरोजगार समस्या समेत हल हुृने भएकाले आफूहरु खुशी भएको बताउनु भयो । कार्यक्रम स्वास्थ्य शाखाका प्रमुख केशव जि.सी.को सञ्चालन र वार्ड नं ४ का वडा अध्यक्ष तथा झडेवा स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष मधु पराजुलीको अध्यक्षतामा चलेको हो । यो स्वास्थ्य संस्था स्वास्थ्य चौकी, इलाका स्वास्थ्य चौकी हुदै अस्पताल सम्म स्तरोन्नती हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस