पत्रकार महासंघ पाल्पा अध्यक्ष अर्याललाई ग्रामीण पत्रकारिता पुरस्कार

पत्रकार महासंघ पाल्पा अध्यक्ष अर्याललाई ग्रामीण पत्रकारिता पुरस्कार

पाल्पा, मंसिर १०

‘विनय कसजु ग्रामीण पत्रकारिता पुरस्कार’ पाल्पाका पत्रकार राजेश अर्याललाई प्रदान गरिने भएकाे छ । प्रतिष्ठानले कसजुको भावनानुसार ग्रामीण पत्रकारिताका क्षेत्रमा विशेष योगदान दिएका पत्रकारलाई प्रोत्साहनस्वरुप पुरस्कार प्रदान गर्न थालेको जनाएकाे छ ।

नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष तथा सामुदायिक रेडियाे मदनपाेखराका स्टेशन म्यानेजर समेत रहेका अर्याललाई कसजुको पहिलो स्मृति दिवसका अवसरमा पुरस्कारको घोषणा गरिएको हो । तानसेन नगरपालिका वडा नं. १०, मदनपोखराका स्थानीय बासिन्दा अर्याललाइ उपयुक्त समयमा कसजुको गृहजिल्ला पाल्पामै समारोह आयोजना गरेर पुरस्कार प्रदान गरिने जनाइएको छ ।

प्रतिष्ठानका अध्यक्ष शम्भु श्रेष्ठकाे अध्यक्षतामा मङ्गलबार बसेको प्रतिष्ठानको बैठकले पाल्पास्थित सामुदायिक रेडियो मदनपोखरामा दुई दशकदेखि कार्यरत अर्याललाई पुरस्कार दिने निर्णय गरेको बताइएकाे छ । रेडियोमार्फत ग्रामीण क्षेत्रका सूचना तथा समाचारलाई उजागर गर्न, आवाजविहीनको आवाज उठाइदिन र गाउँलेलाई सञ्चारमाध्यमको पहुँच बढाउन २०५६ सालदेखि निरन्तर योगदान पु¥याएवापत उहाँलाई पुरस्कृत गर्ने निर्णय गरिएको प्रतिष्ठानका सचिव जीवन भण्डारीले बताए ।

गत वर्ष आजकै दिन दिवङ्गत ग्रामीण पत्रकारिताका अगुवा, सहित्यकार एवं पहिलो प्रमुख सूचना आयुक्त कसजुको स्मृतिमा केही महिना अगाडि प्रतिष्ठान स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस