लकडाउनले शिक्षकलाई उद्यमी बनायो

लकडाउनले शिक्षकलाई उद्यमी बनायो

डडेल्धुराको अमरगढी-५ का रामशरण रोका विगत १० वर्षदेखि शिक्षण पेसामा थिए। लकडाउन अघिसम्म उनको जीवन सहज नै थियो। शिक्षण पेसामा रमाइरहेकै थिए। परिवारको दैनिकी चलाउन उनलाई असहज लागेको थिएन। 

तर चैत ११ बाट भएको लकडाउनले डडेल्धुराकै एक निजी विद्यालयमा अध्यापन गराइरहेका रामशरणलाई कोरोना भाइरसको महामारीले निकै सतायो। उनी जस्तै निजी संस्थामा काम गरेर खानेहरूको गुजारा चलाउन कठिन बनाइदियो। लकडाउनमा निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी बेरोजगार भए। लकडाउनको असहज अवस्थामा विद्यालय संचालक र सरकारले पनि निजीका शिक्षक र कर्मचारीलाई सौतेलो व्यवहार गरेको उनको गुनासो छ। 

लामो समय अरुको प्रतीक्षामा बस्ने उनीसँग समय थिएन। खानलाउन नै समस्या भएका बेला अरूको मुख ताक्नु भन्दा केही गरौँ भनेर विकल्प खोज्नतिर लागे उनी। आफूले गर्दै आएको काम रोकिँदा परिवारको गुजारा चलाउन नसक्नुको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ। रामशरणले पनि त्यही पीडा भोगे। तर त्यही पीडालाई उनले प्रेरणाको स्रोत बनाए।

पहिले पोखरामा बसेकाले त्यताका पनि उनका थुप्रै साथी छन्। कोरोनाका कारण बेरोजगार भएको समयमा एकदिन उनको पुराना साथीहरूसँग फोनमा कुराकानी भयो। साथीहरूको सुझाव र इन्टरनेटको माध्यमबाट डडेल्धुरामा चप्पल उद्योग खोल्न उनी निकै प्रेरित भए। सबै कुरा मिल्दै जान थाल्यो। उद्योग खोले पनि। 

सदरमुकामको विद्युत रोड छेउमै उनको चप्पल उद्योग छ। ‘सफल चप्पल उद्योग’का नामले उनी उद्योग सञ्चालन गरेका छन्। ८ लाख लगानी गरी विराटनगरबाट मेसिन तथा चप्पल बनाउन प्रयोग हुने कच्चा पदार्थ उत्पादन पनि शुरू गरेको उनले सुनाए।

‘घरमै बसेर के गर्नु’ भनेर धेरैसँग सुझाव लिएँ। फेरि सबैले गरेजस्तो व्यापार गरेर कुनै फाइदा थिएन। बजारको अध्ययन गरेपछि त उद्योग संचालन गरेको हुँ,’ उनले भने, ‘सुदूरपश्चिमका पहाडी जिल्लामा अहिले कतै पनि चप्पल उद्योग छैन। ७ पहाडी जिल्लामा आफूले उत्पादन गरेका चप्पल आपूर्ति गर्ने योजना छ हेरौँ कत्तिको सफल हुन्छ।’

उनले सुदूरपश्चिमका पहाडी जिल्लामा पहिलो पटक चप्पल उद्योग सञ्चालनमा ल्याएपछि स्थानीयसहित यहाँका व्यापारीहरू पनि खुशी भएका छन्। उनी भन्छन्, ‘यहाँका व्यापारीहरूले महँगो भाडा तिरेर चप्पल आयात गर्नुभन्दा मेरै उत्पादत बेच्छौँ भनेका छन्। दिनमा एक हजारदेखि १५ सय जोर चप्पल उत्पादन गर्ने लक्ष्य छ। माग अनुसार बढाउन पनि सकिन्छ।’ 

दैनिक ५ हजार आम्दानी गर्ने लक्ष्य
चप्पल उत्पादनबाट दैनिक पाँच हजार आम्दानी गर्ने लक्ष्य उनले बनाएका छन्। दिनमा पाँच सय जोर चप्पल बेच्न सके दैनिक ५ हजारसम्म आम्दानी गर्न सकिने उनको भनाइ छ।

‘चप्पलको मूल्य एक सय रूपैयाँ हाराहरी आउँछ। सबै ठाउँबाट माग आए अर्को मेसिन पनि ल्याउने विचार गरेको छु,’ उनले भने, ‘सुलभ मूल्य हुने हुँदा तराईबाट समेत माग आउन सक्छ।’

बेरोजगारलाई रोजगारी
अहिलेलाई घर परिवारका सदस्यको सहयोगमा उनले उद्योग संचालन गरिरहेका छन्। उद्योग सञ्चालनमा आउने बितिकै  कम्तीमा ५ जनालाई रोजगारी दिन सकिने उनको भनाइ छ।

बेरोजगार बसेका घरका सदस्यहरूलाई समेत रोजगार दिने उनको योजना छ। ‘सुरूमा सञ्चालनमा आउँदा घरकै परिवारका सदस्यहरू मिलेर काम गछौँ। अनि उद्योग विस्तार गरेर वेरोजगार युवाहरूलाई रोजगारी दिने सोचमा छु,’ उनले भने।

रोजगारी नपाएर थुप्रै युवाहरू बेरोजगार छन्। नेपाली युवालाई रोजगारी दिन सके एक/दुई जनालाई भएपनि आफ्नै देशमा रोक्न सकिने उनको छ।

स्थानीय तहको आश्वासन
रामशरणले स्थानीय तहबाट समेत उद्योग संचालनका लागि सहयोग पाइरहेको बताए। उद्योग सञ्चालनका लागि सामग्री डडेल्धुरा पुर्‍याएकै दिन अमरगढी नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले फोन गरेर सहयोग गर्ने वचन दिएको उनी बताउँछन्।

‘फोन गरेको दोस्रो दिन नगरप्रमुखज्यु आफैँ यता आउनु भयो। अनुगमन गरेर जानु भयो,’ उनले भने, ‘स्थानीय उत्पादनलाई प्राथमिकता दिन आफूले पनि सक्दो सहयोग गर्ने बताउनु भएको छ। उत्पादनको बजारीकरणमा सहयाग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।’ ललित बाेहाेरा (नेपाललाइभ)

प्रतिक्रिया दिनुहोस