युवा समूहका सदस्यहरुका लागि नेतृत्व विकास तालिम

युवा समूहका सदस्यहरुका लागि नेतृत्व विकास तालिम

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा बगनासकाली गाउँपालिका वडा नं. ८ बराङदीमा गठित युवा समूहको आयोजनामा बराङदीमा २ दिने युवा नेतृत्व विकास तालिम सुरु भएको छ ।

इन्सेक र नोरिकको आर्थिक सहयोगमा सञ्चालित तालिमको उद्घाटन गर्नुहुँदै बगनासकाली गाउँपालिका वडा नं. ८ का वडाअध्यक्ष गणेशप्रसाद बस्यालले यो युवा समूहले समुदाय स्तरमा गर्दै आएका रचनात्मक कार्यक्रमहरुबाट आफु प्रभावित भएको बताए । उनले युवाहरुले गर्ने हरेक कार्यक्रमहरुमा स्थानीय सरकारको तर्फबाट पुर्ण सहयोग रहने समेत बताए । अध्यक्ष बस्यालले समुदाय स्तरमा अहिले पनि बालबिबाह हुने गरेको पाइएकोले यसको न्युनीकरणका लागि आवश्यक कार्यक्रम बनाउन युवा समुहलाई आग्रह गरे ।

कार्यक्रममा नेपाल परिवार नियोजन संघ पाल्पा शाखाका प्रवधन्क शोबाकान्त न्यौपानेले युवा समुह मार्फत समुदाय स्तरमा भएका युवा र परिवार नियोजन चेतना बृद्धि लगायतका कार्यक्रमको प्रशंसा गरे ।

इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले युवा समूह मार्फत बगनासकाली गाउँपालिकाका बिभिन्न वडाहरुमा युवा लक्षित कार्यक्रमहरु संचालन गर्दै आएको र यसको माध्यमबाट युवाहरुमा नेतृत्व बिकासको राम्रो अवसर प्राप्त भएको बताए। वडा नं. ८ का वडा सदस्य मिनप्रसाद न्यौपाने र वडा नं. ७ की सदस्य रिताकुमारी भट्टराईले युवाहरुको नेतृत्वमा सामाजिक रुपान्तरणका प्रयास हुनु सराहनीय कार्य भएको बताए ।

तालिममा परिवार नियोजन संघ पाल्पा शाखाका प्रवधन्क शोबाकान्त न्यौपाने, इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमुर्ति तिमिल्सिना, युवा अभियन्ता कला दाहाल, पत्रकार दयाराज न्यौपाने र बेद युवा समुहका अध्यक्ष बरुण बस्यालले मानवअधिकार, युवा, नेतृत्व बिकास लगायतका बिषयमा सहजीकरण गरेका छन् । तालिममा युवा समूहमा आवद्ध बराङदी, खानीगाउँ, र चापपानीका गरि २० जना युवाहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस