महामारीको भुङ्ग्राबाट कोरोनालाई नियाल्दा

महामारीको भुङ्ग्राबाट कोरोनालाई नियाल्दा

आफ्नै घरभित्र कोरोनासँग पैठेजोरीः कात्तिक ८ गते शनिवार विहान बुबा अचानक अचेत भइ लड्नु भएछ । भाइले मलाई फोन गरी ‘तुरुन्तै आउनु ! बुबा फेन्ट हुनुभयो’ भनेर बोलायो । म हतारिंदै घरमा पुगें । सबैको सल्लाह बमोजिम म र भाञ्जी डा. गीताले प्रभासस्थित लुम्विनी मेडिकल कलेज पु¥यायौं ।

अस्पतालमा हामीले २ दिन अगाडि ज्वरो आएर रोकिएको र आज अचानक अचेत भएको बतायौं । त्यहाँ अचेत(फेन्ट) हुनुको कारण खोजियो । टाउकोको सिटिस्क्यान, मुटुको इसिजी, छातिको एक्सरे, ब्लड, युरिन, प्रेसर लगायत सबै जाँच भयो । अचेत हुनुको कारण प्रेसर घटेको भन्ने डाक्टरहरुको निष्कर्ष थियो । प्रेसरको औषधी १५ दिनकालागि रोक्ने भनियो । डक्टरकै सल्लाह बमोजिम घर लैजान मिल्ने कुरा भयो । केही औषधी समेत सिफारिस गरिदिनु भयो । भाञ्जी र मैले कोरोना परीक्षणको लागि स्वाव पनि दिने भन्यौ । डक्टरहरुले कोरोना परीक्षण गर्न पर्दैन भन्ने राय व्यक्त गर्नुभयो । हाम्रो जिद्दीका कारण कोरोनाको स्वाव लिने काम भयो । हामीले बुवालाई लिएर फक्र्याैं । त्यसदिन म बिना संकोच बुबाकै कोठामा सुतें । अर्को दिन रिपोर्ट नआउन्जेल स्याहार–सुसारका काम निकै नजिकबाट गरियो । अर्को दिन दिउसो ठिक ५ बजे कोरोनाको रिपोर्ट पोजेटिभ आयो । दिउँसो बुबालाई पखाला शुरु भैसकेको थियो । पखाला लागेपछि हामीलाई कोरोना लागेको हुन सक्ने निश्चित प्रायः भयो । रिपोर्ट पनि त्यस्तै आयो । बुबा अचेत भएको, ज्यान गलेको र पखाला पनि शुरु भएको अवस्थालाई मध्यनजर गरी हामीले पुनः तत्कालै अस्पताल लग्यौं ।

हाम्रो जिद्दीका कारण कोरोनाको स्वाव लिने काम भयो । अर्को दिन दिउसो ठिक ५ बजे कोरोनाको रिपोर्ट पोजेटिभ आयो । अस्पतालमा विरामीको अवस्थालाई देखेर बुबाले त्यहाँ बस्न मान्नुभएन । हेल्मेट र रेनकोट लगाएर बुबाको स्याहार गरियो । भाइ, बुहारी, छोरी र बुबा पोजेटिभ ।

अस्पताल पु¥याएपछि बुबालाई भित्र लगियो । भित्रका केही विरामीको अवस्थालाई देखेर बुबाले त्यहाँ बस्न मान्नुभएन । हामीले मनाउनका लागि धेरै कोशिस ग¥यौं तर बुबाको घरमै फर्कने अडानपछि हामीले बुबालाई लिएर फर्कने निधो ग¥यौं । बुहारी र छोरीलाई दिदीको घरमा छुट्टै बस्ने व्यवस्था मिलायौं । बाहिरबाट घरमा आवश्यक पर्ने सामग्रीको व्यवस्था मिलाउन भाइ लक्ष्मण र श्रीमती बवितालाई जिम्मा दियौं । यता, कोरोना पोजेटिभ बोक्ने गाडी पाउन निकै मुस्किल प¥यो । रातको १० बजिसकेको थियो । धेरै वटा एम्बुलेन्सलाई प्रयत्न गरियो, उपाय लागेन । कोरोना मृतक बोक्ने जिल्ला अस्पतालको गाडी मुस्किलले फेला प¥यो । गाडी आउन केही अबेर पनि भयो । गाडी आएपछि बुबा र म सोही गाडीमा घर फक्र्याै । भाइ आफ्नै बाइकमा फर्के । मृतक बोक्ने एम्बुलेन्स चढ्दा कता–कता मन भित्रको डर बाहिर पोखिन्छ कि ? भन्ने आभाष भयो । बुबालाई भने कस्तो खालको गाडी हो भन्ने कुरा थाहा दिइएन । यस्ताबेला सहयोग गरेकोमा चालक भाइलाई मनले सलाम ठोक्यो । अर्को दिनदेखि विरामीको स्याहारमा भाइ र म जुट्याैं। पहिलो दिन पिपिई नपाउन्जेल हेल्मेट र रेनकोट लगाएर बुबाको स्याहार गरियो । अर्को दिनदेखि पिपिई र फेससिल मगाएर सेवा गरियो । बुबालाई कोरोनाले निकै च्याँप्दै गयो । भाञ्जी डा.गीताले नियमित सम्पर्कमा रहेर सेवा गरिरहनु भयो । केही दिन ज्वरो आयो । तारन्तार पखाला लाग्यो । बान्ता पनि भयो । खोकी र आछ्युँ बेलाबखत आउन थाल्यो । यी सबै लक्षणका औषधीहरु गीताकै सल्लाह बमोजिम चलायौं । कोरोनाले झन–झन च्याँप्यो । तर सबै दिन नियमित एक घण्टाको फरकमा तातो झोलिलो कुरा ख्वाउन छाडेनौं । ठिक–ठिक समयमा औषधिलाई निरन्तरता दियौं । दुई दिनसम्म त आश हराउँदै गएको थियो । विस्तराबाट उठ्न नसक्ने अवस्थामा पुग्नुभएको थियो । हामीले पिपिई, डबल मास्क र फेस सिल लगाएर कोरोना विरुद्द बुबाको आत्मबल बढाउँदै लड्यौं । रिपोर्ट आएको पहिलो दुई दिन स्वास्थ्यमा जटिलता देखिँदै गयो ।

दोश्रो दुई दिन सबैकुरा विस्तरामै सेवा गर्न पर्ने अवस्था बन्यो । त्यसपछिका दिनमा क्रमशः स्वास्थ्यमा सुधार आउँदै गयो । अब त सुधार आयो भनेको फेरी दुई दिन जति बुबाको मुख सुकेर प्याक्प्याक्ती भयो । यो ज्याद्रो कोरोनाको लक्षण पनि कस्तो ? पखालाको औषधी चलायो झन बढी पखाला, ज्वरोको औषधी चलायो झन हनहनी ज्वरो । आयुर्वेदको औषधी ख्वाउँदा पाँच मिनेट पनि पेटमा नअडिने, जस्तो खायो त्यस्तै सुलुत्तै । छिन–छिनमा र दिन–दिनमा लक्षणमा परिवर्तन । यसबाट बच्न गाह्रो पनि छ है भन्ने अनुभूति दिलायो । अहिले भने कुनै लक्षण देखापरेको छैन । स्वास्थ्यमा निकै सुधार आएको छ ।

छैठौं दिन हामी दुई भाइले पिसिआरका लागि स्वाब दियौं । दुई दिनपछि भाइको पोजेटिभ आयो । मेरो नेगेटिभ आयो । पिसिआर निशुल्क गर्ने व्यवस्था भएको वडाध्यक्षले जानकारि दिए अनुरुप दुई भाइ टुँडिखेलसम्म पुगेका थियौं । उता बुहारी र छोरीको समेत पोजेटिभ आइसकेको थियो । बुबालाई स्वास्थ्यमा सुधार आइसकेकोले म छुट्टै क्वारेन्टिन बस्ने निधो गरें । भाइ, बुहारी, छोरी र बुबा पोजेटिभ जति घरमै बस्ने सल्लाह भयो । त्यसै गरियो ।

डरको भकारी भित्र बालमनोविज्ञानः

फूलपाती भित्र्याउने बखत कोरोना भित्रिएछ । उसै पनि यसपटक जुठाका कारण टिको थिएन । जमरा छर्न पाइएको थिएन । निष्पट्ट अध्यारो जस्तै भएको थियो यो दशैं । मनै उराठ भइरहेको थियो । खुसीसँग जवाफ साट्न बालबच्चा ‘बाबा हामीले यसपाली किन दशै नमनाउने ?’ भनेर बारम्बार अनुहार चाहार्थे । सुकेका ओठ मुस्कुराइहाल्छ कि भन्ठान्थे । उनीहरुको रहर माथि बादलको कहर बसिसकेको थियो–जुठा माथि जुठा । अचानक आएको खवरपछि अष्टमीको दिनदेखि म बच्चासँग छुट्टिएँ ।

हिजो द्वन्दकालको समयमा कसैले जोडले पाध्यो भने पनि घर भित्रै बम पड्क्यो कि ? भन्ने त्रासमा बालबालिका भए जस्तै आज कोरोनाले हत्तु पारेको छ । कोरोनाको डरको भकारी भित्र बालबालिका लुकामारी गरिरहेका छन् । हाउगुजी मानेका छन् । उनीहरुको सबै ध्यान मोवाइल र कोरोनामा चुर्लुम्म डुबेको छ । बालमनोविज्ञान घाइते भएको छ । संस्कार र संस्कृति सिक्ने मौकामाथि कोरोनाको नाङ्गो हस्तक्षेप बढेको छ । यो दुर्दशा टुलुटुलु हेर्ने र भोग्ने सिवाय उपाय भएजस्तो लाग्न छाडेको छ । म बुबाको स्याहारमा जुटेपछि घरमै बसें । यता कोठामा छोराछोरीले ‘बाबा कहिले आउनु हुन्छ ?’ भनेर सम्पर्क गरिरहे । ‘बुबालाई निको भएपछि आउँछु’ भन्दै टार्दै गएँ । बीचमा छोराले चिठी लेखेर मम्मीसँग पठाएछ । जुन कुराले मनमा चस्को प¥यो । आफूलाई पनि कोरोनाले लगिहाल्यो भने यो बच्चोले के लेख्ला ? के सोच्ला ? के गर्ला ? भन्ने कुराले निकै सतायो । हत्तेरी !

महामारीको भुङ्ग्रा भित्रको पाठः

२०१९ मा शुरु भएर कोभिड–१९ नाम राखेको कुरा मनले गलत सावित गरिदियो । बरु कोरोनाले छोएपछि निको हुँदै गएमा सरदर १९ दिन भित्र पहिलेको अवस्थामा फर्कने हुनाले कोभिड–१९ नामाकरण गरेको मनले ठहर ग¥यो । विरामीलाई स्वासप्रश्वासमा समस्या आएमात्रै अस्पताल लैजानुपर्ने रहेछ । नत्र घरमै राम्रो सेवा र स्याहार सुसार पाएमा विरामीलाई निको हँुदो रहेछ भन्ने कुरा अनुभवले सिकायो । कोभिडले भिडभाडै गरेर भाँती–भाँतीका लक्षण देखाउँदो रहेछ । एक घण्टाको फरकमा जीवनजल, सुप तथा फरक–फरक तरिकाको झोलिलो पदार्थ खवाइरहनु पर्दो रहेछ । नियमित डाक्टरको परामर्श लिइरहनु पर्दो रहेछ । अस्पताल मात्रै समस्याको समाधान होइन रहेछ । धैर्यता र विरामीको स्याहारमा कुनै कसर बाँकी नराखेर सेवा गरेमा निकोहुँदो रहेछ ।

विरामीको नजिक गएमा कोरोना सरिहाल्छ भन्नेकुरा भ्रम मात्रै रहेछ । स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो । बाँचुञ्जेल मज्जाले खाउँ स्वास्थ्य बनाउँ । व्यक्तिगत स्वार्थ त्यागौं । धनको घमण्ड तोडौं । जस्ता विषय जीवनका पाठ बने । विरामीको स्याहार कर्ताले डवल मास्कको प्रयोग गर्ने, विरामीलाई स्याहार गरिसकेपछि राम्रोसँग मिचिमिचि साबुनपानीले हात धोएर मात्रै मास्क निकाल्ने गर्नुपर्दो रहेछ । सकेसम्म अनुहारको भागमा हातले छुँदै नछुने । छुनै परेमा बेस्सरी साबुनपानीले हात धोएर मात्रै छोएमा निकै राम्रो सावधानी हुने अनुभवले बतायो ।

कोरोनाको भुङ्ग्रो भित्र भुनभुनिएको सर्खारः

कता–कता खित्खिती हाँसो लाग्छ । कता–कता रिस उठ्छ । कता–कता घोरिन मन लाग्छ । कता–कता रुन मन लाग्छ । कता–कता ऐठन भएजस्तो लाग्छ । महामारीमा सुल्टो गर्छु भन्दा उल्टो हुँदो रहेछ । आत्तिएको बेला बुद्धि कुबुद्धिमा स्वतः परिणत हुँदो रहेछ । यतिबेला सर्खारलाई पनि यस्तै भाछ कि भन्ने लाग्यो । एकजना संक्रमित भेटियो भन्दा सबै लकडाउन भयो । सबै परीक्षा रद्द भए । उद्योग धन्दा कलकारखाना चौपट बने । व्यापारी भागाभागको स्थितिमा पुगे । कतिपय व्यक्ति तथा संघसंस्था महायज्ञमा जस्तै दानवीर बने । कतिपय वेखर्ची बनेर सडकमै सुते । प्रहरीले लाठी बजायो । मास्क नलगाई हिडनेलाई प्रशासनमै लगेर एकसय रुपैंयाको रसिद थमाएर मास्क लगाई पठाइयो ।

कोरोना राहत कोषमा शिक्षक कर्मचारीको दिन तोकेर सोझै पालिकाले रकम काटे । बजारका मुख्य चोक–चोकमा स्यानिटाइजर छर्दै काम देखाइयो । त्रासदिपूर्ण वातावरणका वीचमा जनता घरभित्र ककरिएर बसे । झ्यालबाट बाहिर हेरे पनि कोरोना सरिहाल्छ कि भन्ने त्राहिमामको वातावरण र्सिजना गरियो । लकडाउन थपिँदै गयो । जनजीवन अस्तव्यस्त बन्यो । राहत कोषको रकम कसरी र केमा खर्च गर्ने होला ? भनेर पालिकाहरुलाई टाउको समाइको विषय बन्यो । रकम सिध्याउन बाहिरबाट गाउँ फर्केकालाई छोपी–छोपी क्वारेन्टीनमा राखियो । क्रमशः सरकारी ढुकुटी रित्तिँदै गयो । अनिकालमा बीउ जोगाउने कुराको कुनै हेक्का भएन । लकडाउन खुकुलो र पूर्ण रुपमा हटाउन बाध्यताको अवस्था आइलाग्यो । यसैवीच सरकारका केही भमराले मौरीसितै महको स्वाद लिएको हल्लाले झ्याली पिट्यो ।

सामान्य नागरिकले चिया–चौतारीमा काटने अड्कल पनि नेतृत्वले नसोचेको हो कि भन्ने कुराले मनमा डेरा जमायो । अहिले दिन–दिनै ह्वार्र–ह्वार्ती कोरोना संक्रमित बढिरहेका छन् । हुनेखानेले शुरुवातमै सरकारी कोषबाट पिसिआर गरे । अहिले राज्यले शुल्क निर्धारण गरेको छ । सचेतकहरुले ‘कि पहिले पिसिआर गर्नेहरुबाट पनि शुल्क उठाउ कि त अहिले पनि शुल्क नलिग र विकास बजेट समेत महामारीमा प्रयोग गर’ भन्ने कुरा नसुनिने गरी उठाएका छन् । प्रतिप्रक्षी आफ्नै घरभित्रको रडाको मिलाउन र भागबन्डामा चाखे थाप्न तम्सिए जस्ता देखिन्छन् । अहिले पूर्ण रुपमा बजार खुलेको छ । सवारी चलेकै छन् । शिक्षा क्षेत्र बाहेक अरुसबै अंग राम्रैगरी चलेको छ । रद्द भएका परीक्षाहरुको समय तालिका सार्वजनिक गरिएको छ । चोकमा स्यानीटाइजरको धुँवा उड्न छाडेको छ । दानवीरहरु रित्तिएजस्ता देखिन्छन् । प्रहरी देख्दा गुरुरु भित्र दौडनु पर्ने थिति छैन । धेरैका मुखमा मोखरा छन् । पल्लाघरबाट अब हाम्रो घरका सदस्य संक्रमित हुने पालो भनेर दिन गनेर छिमेकी कोरोनासँग जुध्न तयार भए जस्ता देखिन्छन् । यै हैछ महामारी भनेको । कस्ले छेक्ने ? कस्ले रोक्ने ? को छुत ? को अछुत ? तर, विश्वभर चलिरहेको महामारी जाडो यामसँगै नेपालका पनि उग्र रुप लिने संकेत देखाइसकेको स्थिति छ । गर्मी छउन्जेल युरोपको शीतलमा भ्रमण ग¥यो । अब यता शीतल र आनन्द मानेर घर–घर चाहार्ने दाउ हेरेर बसेको छ । चोक–चोकमा ढुकेर बसेको छ । शहरिया महलको टुप्पोमा चढेर नाच्नेवाला छ । भीडभाडमा हुलहुज्जत गर्न छिर्ने प्रयासमा छ । यसले धेरै बृद्ध–बृद्धालाई निशाना बनाउने खतरा देखिन्छ । बालबालिकालाई निमोठ्ने संकेत गरेको छ । कतिपय युवालाई थाङ्नोमा सुताइदिने वाला छ । अब, आफै जोगिऔं । आफैं सुरक्षित बनौं ।

चितुवाको सिकार मृगः

चितुवाले टाढाबाट ड्वाकेर बस्छ । मृगको बथान घाँसमा चरिरहेका हुन्छन् । एक्कासी मृगको समूहमा चितुवा पसेर मृगलाई लखेटछ । अनि एक्ल्याएर समात्छ । अरु मृगहरु यताउति दौडिन्छन् । अनि चितुवाले मृगका आफ्नै बा, आमा, भाइ, भतिज, काका मध्येको एकलाई घोक्रो फुटाल्दै रगत पिइरहेको हुन्छ । मृगको खुट्टा फाल्ने बाहेक कुनै जोर चल्दैन । अरु मृगहरु टाढै बसेर त्यो दृश्य ठाडो मुन्टो लगाएर हेरिरहेका हुन्छन् । चितुवा अघाउन्जेल हेरिरहन्छन् । ठ्याक्कै यस्तै लाग्यो कोरोना । विरामीले ऐया….ऐया….. भन्दा न त नजिक जान मिल्ने ? न त के ख्वाम ? भन्न पाइने । न त सुम्सुम्याएर ढाडस दिन पाइने । टाढा बसेर गहभरी आँशु लिएर टुलुटुलु कहराएको स्वर सुनेर बस्न पर्न सक्ने रहेछ । अझ आफ्नै जन्मदिने आमा–बाको त्यो कहराई सुन्दा त आँशुले भरिएका आँखा भित्रबाट कोरोनालाई अदृश्य चितुवा जस्तै देखिँदो रहेछ । बा–आमाले हुर्काउँदा बढाउँदाको दुःख गहभरीका आँशु बनेर भरिदो रहेछ ।

बिर्को बन्द गर्दैगर्दाः

कोरोना कालबाट मुक्ति दिलाउन हौसला र सहयोग गर्नुहुने इष्टमित्र, दिदीभिनाजु, दाजुभाई र विशेष गरी बविता र डा.गीतालाई हृदयदेखि आभार तथा धन्यवाद । –हाल क्वारेन्टीनबाट

प्रतिक्रिया दिनुहोस