कालीगण्डकी कोरिडोरको कामले गति लियो

कालीगण्डकी कोरिडोरको कामले गति लियो

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गको विस्तारको कामले गति लिएकाे छ । कालीगण्डकी काेरिडाेर अन्तर्गत (पिपलडाँडा-गैडाकाेट) खण्डमा कालाेपत्रेकाे काम सुरु भएको छ । पाल्पा – कालीगण्डकी काेरिडाेर अन्तर्गत पाल्पा र नवलपरासी खण्डकाे सडक कालाेपत्रे गर्ने कार्य धमाधम चलिरहेकाे छ । पर्वतमा पर्ने ५५ किलोमिटर खण्डमा रोकिएको कामले तीव्रता पाएको छ ।

पाँच अर्ब ४७ करोडको लागतमा निर्माण शुरु भएको कालिगण्डकी करिडोरको अहिले गैंडाकोटदेखि पाल्पाको राम्दीसम्म १३२ किलोमिटरको काम भइरहेकाे छ । सडक निर्माणकाे ठेक्का पाएकाे भारतीय कम्पनी ईकेके कन्सटक्शनले स्थानीय नेपाली ठेकेदार गौली ग्रुपलाई ठेक्का दिएको छ । सडक निर्माणकाे सम्झाैता अनुसार पाल्पाकाे पीपलडाँडा राम्दीदेखि पूर्वी नवलपरासीको गैँडाकोटस्थित कालिगण्डकी चोकसम्मको १३२ किलोमिटर सडक कालोपत्रे गरिनेछ । आयोजनाको सडक ११ मिटरको चौडाइमध्ये सात मिटरमा कालोपत्रे, एक एक मिटरको किनारा र एक एक मिटरको नाला रहने कालीगण्डकी काेरिडाेरले जनाएकाे छ ।

लोकमार्ग आयोजना कार्यालयले चालू आवभित्र १२ किलोमिटर ट्र्याक खोल्ने, ७ किलोमिटरमा कालोपत्र गर्ने र बाँकी खण्डको स्तर सुधार गर्नेगरी काम अघि बढाएको छ । कोरिडोर आयोजना कार्यालय पाल्पाका प्रमुख नगेन्द्र सुवेदीले सेतीवेणीदेखि रानीपानीसम्मको खण्ड कालोपत्र गर्न बोलपत्र आह्वान भई निर्माण कम्पनीले काम शुरू गरिसकेको जानकारी दिए । यसको लागत ४१ करोड रुपैयाँ रहेको छ ।

लोकमार्ग अन्तर्गत स्याङ्जा र पर्वत जोड्ने मोटरेबल पुल सेतीखोलामा निर्माणाधीन छ । यस सडक खण्डको मोदीवेणी घाटमा मोटरेबल पुल निर्माण सम्पन्न भइसकेको छ ।

लमाएखोलाको पुलको निर्माण पनि अन्तिम चरणमा रहेको सुवेदीले बताए । चालू आवभित्रै सेतीवेणीदेखि अर्मादीसम्म सवारीसाधन सञ्चालन गर्नेगरी काम अगाडि बढेको उनको भनाइ छ । सडक खण्डको मोदीवेणी क्षेत्रमा भने अझै पनि ट्र्याक खुल्न बाँकी छ । बाँकी रहेको ट्र्याक तिहारसम्ममा खोलिसक्ने कार्यालयको तयारी छ ।

यो सडकले चीन र भारतलाई जोड्छ । मुख्यगरी विहादी गाउँपालिकादेखि फलेवास नगरपालिकासम्म जोड्ने ट्र्याकमा अहिले स्तरोन्नतिको काम भइरहेको छ । यो खण्ड पनि कालोपत्र गर्न टेण्डर आह्वान गर्ने तयारी रहेको पर्वतका प्रतिनिधिसभा सदस्य पदम गिरीले बताए । सांसद गिरीले चालू आर्थिक वर्षमै लोकमार्गको रानीपानीदेखि बर्राचौर बाच्छा पाङराङ कुर्घा हुँदै फलेवास ढिकसम्मको सडक कालोपत्र गर्न बजेट निकासाको प्रक्रिया भइरहेको जानकारी दिए । ठेक्का आह्वान प्रक्रिया अघि बढेको भन्दै उनले बजेटको सुनिश्चितता अर्थ मन्त्रालयबाट भएलगत्तै बोलपत्र आह्वान गरिने समेत जानकारी दिएका छन् । बोलपत्र आह्वानको प्रक्रियाका लागि कोरिडोरको कार्यालयलाई निर्देशन दिइएको र फाइल स्वीकृत गराएर चालू वर्षदेखि नै कालोपत्रको काम शुरुआत गराइने प्रतिबद्धता समेत सांसद गिरीले व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस