वगनाशकालीकाे आवधिक योजना निर्माण हुँदै

वगनाशकालीकाे आवधिक योजना निर्माण हुँदै

पाल्पा, असाेज २१ 

बगनासकाली गाउँपालिले त्रिवर्षीय आवधिक योजना निर्माण गर्न लागेकाे छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी त्रिवर्षीय आवधिक योजनामा समेट्न सकिने विषयका बारेमा जिल्लाका पत्रकारहरुसँग सुझाव मागेको छ ।

वगनाशकालीमा व्यवसायिक कृषि, पशुपालनका माध्यमबाट युवाहरुलाई गाउँमै रोजगार सिर्जना गरी आर्थिक समृद्धिको दिशामा अगाडि बढाउनका सकिने, उत्पादन र पूर्वाधारका कार्यक्रमहरुलाई पनि आवाधिक योजनामा समावेश गर्नुपर्ने, पम्परागत रुपमा गरिदै आएका कृषिउपजहरुलाई व्यवसायिक रुपमा उत्पादन गर्न सकेको खण्डमा जनताको आयस्तरमा समेत वृद्धि गर्न सकिने जस्ता सुझाव कार्यक्रममा सहभागी पत्रकारहरुले दिएका थिए ।

कार्यक्रममा पत्रकार कृष्ण पोखरेलले आर्थिक समृद्धिका लागि उत्पादन र रोजगारीलाई प्रथमिकता दिई योजना निर्माण गर्नुपर्ने बताए । उनले गाउँपालिकाले जिल्लामा बालमैत्री, खरको छानो विस्थापित, शुन्य होमडेलिभर जस्ता थुप्रै नमुना काम गरेको बताए । मुक्ति न्यौपानेले समुदायको आवश्यकतालाई पहिचान गरी योजना निर्माण गर्नुपर्नेमा जोड दिए । भोजराज भट्टराईले जडिबुटी प्रशोधन केन्द्र, नगदेवालीको पकेट क्षेत्र, थोपा सिँचाई जस्ता कृषिजन्य वस्तुहरुको उत्पादनमा जोड दिन गाउँपालिकालाई आग्रह गरे । देव पचभैयाले ग्रामीण क्षेत्रका सडक पूर्वाधारलाई आवधिक योजनामा समावेश गर्नुपर्ने बताए । कार्यक्रममा पत्रकारहरु कमल तिमिल्सेना, दयाराज न्यौपाने, नेत्र गैरे, भोजराज तिमिल्सेना, विष्णु घिमिरे लगायतले स्थानीयस्तरमा रहेका स्रोतहरुको पहिचान गरी रोजगार सिर्जना गर्ने खालका योजनाहरु ल्याउनुपर्ने बताए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्ण बस्यालले पत्रकारहरुको सुझावलाई आवाधिक योजनामा समावेश गर्ने बताए । उनले स्वच्छ खानेपानी, स्वास्थ्य उपचारबाट कुनै पनि जनता बञ्चित हुन नपर्ने गरी योजनाहरु ल्याएको र आगामी दिनहरुमा पनि ति योजनाहरुलाई आवाधिक योजनामा समावेश गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले निर्वाचित पछि स्थानीय तहमा कर्मचारी व्यवस्थापन र कानुन निर्माणमा चुनौति रहेकाले तीन वर्षको अवधिमा आवाधिक योजना निर्माण गर्न नकिएको र अब छिट्टै नै योजना निर्माणमा आफुहरु लागेको बताए ।

गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले सोंचे जति गाउँपालिकामा काम नभएको र जति भएका छन् ति कामहरु प्रभावकारी भएको बताइन् । प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले कषि, पशुपालन, रोजगारलाई प्राथमिकतामा राखेर आफुहरु अगाडि बढेको बताए ।

अलाना इन्टरनेश्नल सर्भिशेष तथा बगनासकाली गाउँपालिकाका आवधिक योजनाका संयोजक कृष्ण पौड्यालले पत्रकार राज्यका चौथो अङ्ग भएकाले पत्रकारले दिएका सुझावहरुलाई आवधिक योजना निर्माणमा मार्गदर्शक बन्ने बताए । कार्यक्रम बालमैत्री स्थानीय शासनका फोकल पर्सन मनोज आचार्यको सञ्चालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस