मुम्बई फेरि शीर्ष स्थानमा उक्लियो, राजस्थान माथि जित

मुम्बई फेरि शीर्ष स्थानमा उक्लियो, राजस्थान माथि जित

काठमाण्डाैं, असाेज २१

आइपिएलमा मुम्बई इन्डियन्स फेरि शीर्ष स्थानमा उक्लिएको छ। मंगलबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ५७ रनले पराजित गरेपछि मुम्बईले फेरि शीर्ष स्थानमा कब्जा जमाएको हो।

मुम्बईले ६ खेलबाट ८ अंक जोड्दा रनरेटमा पछि पर्दै दोस्रो स्थानमा झरेको दिल्ली क्यापिटल्सले ५ खेलबाट ८ अंक नै जोडेको छ। 

मंगलबार अबुधावीमा भएको खेलमा पहिले ब्याटिङ गरेको मुम्बईले ४ विकेटको क्षतिमा १९३ रन जोड्यो। उसका लागि सूर्यकुमार यादवले ७९ रनको योगदान दिए। उनले ४७ बलमा ११ चौका र २ छक्का हिर्काए।

हार्दिक पाण्ड्याले १९ बलमा नटआउट ३० रन जोडे। त्यसअघि ओपनर क्वान्टन डि ककले २३ रन र कप्तान रोहित शर्माले ३५ रन जोडेका थिए। 

बलिङमा राजस्थानका श्रेयस गोपालले २ विकेट लिए भने जोफ्रा आर्चर र कार्तिक त्यागीले १-१ विकेट हात पारे। 

१९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८.१ ओभरमा १३६ रनमै अलआउट भयो।

राजस्थानका लागि जोस बटलरले ७० रन जोडे पनि जित निकाल्न पर्याप्त हुन सकेन। किनभने राजस्थानले तेस्रो ‌ओभर चल्दा महत्वपूर्ण ३ विकेट गुमाउदा १२ रन मात्र जोडेको थियो।

ओपनिङमा आएका यशस्वी जसैवाल शून्यमा आउट भए भने कप्तान स्टिभ स्मिथले ६ रन भन्दा जोड्न सकेनन्।

लगत्तै सञ्जु सामसन पनि शून्यमै पेभिलियन फर्के। 

बटलरबाहेक जोफ्रा आर्चरले ११ बलमा २४ रन जोडे पनि अन्य ब्याट्सम्यान सस्तैमा आउट भए। 

मुम्बइको इनिङ ध्वस्त पार्न मुम्बईका जसप्रित बुमराहले ४ विकेट लिए। उनले ४ ओभरमा २० रन खर्चिए। ट्रेन्ट बोल्ट र जेम्स प्याटिनसले २-२ विकेट हात पारे।

प्रतिक्रिया दिनुहोस