१२ वर्षमा कसरी टाट पल्टिए अनिल अम्बानी ?

१२ वर्षमा कसरी टाट पल्टिए अनिल अम्बानी ?

भनिन्छ नि, धन–सम्पत्ति भनेको क्षणभंगुर चिज हो । कसैलाई यो संकथनमा विश्वास नभए भारतीय धनाढ्य अनिल अम्बानीको हिजोको तुजुक र आजको दुर्दशालाई हेर्दा हुन्छ ।

सन् २००८ मा फोर्ब्सले प्रकाशित गर्ने विश्वभरका धनाढ्यहरुको सूचीमा छैटौं स्थान ओगटेका थिए अनिलले । त्यसबेला उनीसँग ४२ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति थियो, जुन अब इतिहास भयो । १२ वर्षको अवधिमै उनी अकल्पनीयरुपले टाट पल्टिएका छन् ।

गत सोमबार लन्डनको अदालतमा अनिल आफूसँग सम्पत्तिको नाममा एउटा कार मात्रै भएको भनेर आफ्नो गरिबीको चित्र देखाइरहेका थिए । वकिलको शुल्क तिर्नका लागि आफूले श्रीमतीको गरगहनासमेत बेचेर सिध्याएको उनले सुनाए  । उनको यो दावी पूर्णरुपमा सत्य नहुन पनि सक्छ । आफ्नो अवस्थालाई अतिरञ्जना गरेर ऋणमोचनका निम्ति ‘ट्रिक’ लगाएका हुन पनि सक्छन् । तर अनिलले यो १२ वर्षमा आफ्नो सबै ब्यापार–व्यवसाय चौपट पारेकोचाहिँ सत्य हो ।

दाजु मुकेश अम्बानी अहिले सम्पत्तिमाथि सम्पत्ति थुपारिरहेका छन् । फोर्ब्सको पछिल्लो विश्व वरियतामा उनको सातौं स्थान छ । उनी भारतका नम्बर एक धनाढ्य हुन् । मुकेशसँग अहिले ७८ अर्ब डलरभन्दा बढीको खुद सम्पत्ति छ । जबकि अनिलचाहिँ आफूसँग एउटा कार मात्रै बाँकी भएको बताइरहेका छन् ।

मुकेश र अनिलबीच १५ वर्षअघि सम्पत्तिको बराबर बाँडफाँट भएको थियो । तर, अहिले यी दुईको आर्थिक स्थितिमा कुनै तुलना छैन । दुई वर्षको अन्तरालमा जन्मेका दुई छोराबीच यस्तो असन्तुलनको कल्पना उनीहरुका पिता धिरुभाइ अम्बानीले जीवित छँदा सायदै गरेका थिए ।

अनिल अम्बानीको अधोगति कसरी सुरु भयो र यति चाँडो उनी हरितन्नम हुन पुगे त ? कथा सुरु गरौं,  धिरजलाल हिराचन्द अम्बानी अर्थात् धिरुभाइ अम्बानीबाट ।

****

भारतका सर्वकालिन सफल विजनेस टाइकुन मानिन्छन् धिरुभाइ अम्बानी । उनको जीवनीमा ‘गुरु’ नामक बायोपिक पनि बनेको छ ।

‘यदि तिमीले आफ्नो सपना निर्माण गरेनौं भने अरु कसैले तिमीलाई किन्छ र आफ्नो सपना पूरा गर्छ’ भन्ने धिरुभाइको भनाई चर्चित थियो । यमनको एडेन शहरमा एउटा पेट्रोल पम्पका सामान्य काम गर्थे उनी । आफैं व्यवसाय गर्ने सोचले सन् १९५८ मा भारत फर्किँदा उनीसँग ५ सय भारु मात्र साथमा भएको बताइन्छ । टेक्सटाइलबाट व्यवसाय सुरु गर्दै उनले अन्ततः सम्पत्तिको विशाल साम्राज्य खडा गरे ।

रिलायन्स ग्रुपको छातामुनि आफ्ना व्यवसायहरुलाई फैलाएका धिरुभाइसँग मृत्युअघि २.९ अर्ब डलर बराबरको सम्पत्ति थियो । फोर्ब्सले प्रकाशित गर्ने विश्वका धनाढ्यको सूचीमा उनी एक सय ३८ औं स्थानसम्म उक्लेका थिए । सन् २००२ मा धिरुभाइको मृत्युभएपछि दुई छोराहरु मुकेश र अनिलमा उनको विरासत सर्यो ।

त्यसो त सन् १९८६ मा पहिलोपटक हृदयघात भएपछि धिरुभाइले रिलाइन्स इन्डष्ट्रीमा आफ्नो पकड खुकुलो बनाएर छोराहरुलाई महत्वपूर्ण भूमिका दिइसकेका थिए । त्यसैले दुवैमा अनुभवको कमि थिएन । दाजुभाइको कार्यशैली र स्वभावमा भने निकै अन्तराल थियो ।

बाबुको मृत्युपछि मुकेश रिलायन्स इन्डष्ट्रिजका अध्यक्ष बने भने अनिल प्रबन्ध निर्देशक । बिस्तारै विजनेसको स्वामित्वलाई लिएर मुकेश र अनिलबीच रस्साकस्सी सुरु भयो । मृत्युअघि धिरुभाइले कुनै वसियतनामा छोडेका थिएनन् । विवाद लम्बिँदै गएपछि दाजुभाइको झगडा मिलाउन आमा कोकिलाबेनले हस्तक्षेप गर्नुपर्यो ।

आमाको रोहबरमा सन् २००५ मा सम्पत्तिको भागबण्डा टुंगियो । रिलाइन्स इन्डष्ट्रिजलाई दुई फ्याक पारियो । त्यसपछि दुई दाजुभाइले आ–आफ्नो बाटो र लय समाते । त्यसबेला उनीहरुबीच कम्तिमा ५ वर्षसम्म आपसी प्रतिस्पर्धा नगर्ने विषयमा अलग्गै सम्झौता भएको थियो ।

अनिलले रिलायन्स कम्युनिकेसन्स, रिलायन्स क्यापिटल, रिलायन्स इनर्जी र रिलायन्स नेचुरल रिसोर्सेज लिमिटेडको स्वामित्व प्राप्त गरेका थिए । यी सबैलाई समेटेर उनले रिलायन्स अनिल धिरुभाइ अम्बानी (एआरएडी) ग्रुप खडा गरे । तेल, ग्यास, पेट्रोकेमिकल्स, रिफाइनिङ लगायतका उद्योगहरु मुकेशको भागमा परे । उनले ती उद्योगहरुलाई रिलायन्स इन्डष्ट्रिज अन्तर्गत  राखेर अघि बढाए ।

भागबण्डापछि अनिलले आक्रामक ढंगले सुरुवात गरे । दाजुलाई उछिनेर अघि बढ्न उनी व्यग्र थिए । सुरुमा सफल पनि भए । सन् २००८ को फोर्ब्सको सूचीमा उनी दाइलाई उछिन्दै विश्व वरियताको छैटौं नम्बरमा पुगेका थिए । अनिलको रिलायन्स पावरले सोही वर्ष तीव्र गतिमा आइपीओ खरिदको रेकर्ड नै राखेको थियो । भारतीय पूँँजीबजारमा रिलायन्स पावरको आइपीओ खुलेको ६० सेकेन्डभित्र सबै बिक्री भएको थियो ।आपसी प्रतिस्पर्धा नगर्ने सम्झौताको म्याद सन् २०१० मा सकिएपछि बन्धनमुक्त भएका मुकेश संकटमा रहेका भाइलाई अझै संकट थप्न आइपुगे

अरु हिसाबले पनि अनिल त्यसबेला भारतका प्रभावशाली व्यक्ति मानिन्थे । उनको तुजुक कम्ता थिएन । राजनीतिज्ञ अमरसिंहदेखि अभिनेता अमिताभ बच्चनजस्ता भारतका प्रभावशाली हस्तिहरु उनको पछि–पछि देखिन्थे । उनीचाहिँ विश्व सुन्दरी ऐश्वर्या रायको पछि लागेका थिए । ऐश्वर्यालाई पाउनका लागि आफ्नी पत्नीसँग सम्वन्धविच्छेद गर्नसमेत उनी अग्रसर भएका थिए ।

रोचक प्रसंग के छ भने, अनिलका लागि ऐश्वर्याको हात माग्न अमिताभ बच्चन ऐश्वर्याको घरमै पुगेका थिए । तर, विवाहित अनिललाई छोरी सुम्पन ऐश्वर्याको परिवार राजी भएनन् । भवितव्यले ऐश्वर्या अन्ततः अमिताभकै बुहारी बन्न पुगिन् ।

****

अनिलको अधोगति सन् २०१० पछि सुरु भएको हो । त्यसअघिसम्म उनी मजबुत स्थितिमा थिए । उनले अघि सारेका नयाँ योजनाहरुले भारतीय बजारमा निकै तरंग पनि ल्याएका थिए ।

त्यसबेला मनोरञ्जनमा उद्योगमा देखिएको उभारलाई क्यास गर्नका लागि अनिल यस क्षेत्रमा होमिएका थिए । सुरुमा निकै पैसा कमाए पनि । रिलायन्स इन्टरटेनमेन्ट ७ सय थियटर स्क्रिनसहित भारतको सबैभन्दा ठूलो मल्टिप्लेक्स अपरेटर बन्यो ।

सन् २००५ मा अनिलले मनोरञ्जन उद्योगमा आफूलाई प्रवेश गराए । उनले अद्वाब्स फिल्म्सको बहुमत सेयर खरिद गरेका थिए । यस कम्पनीले फिल्मको प्रशोधन, उत्पादन, वितरणलगायतका कामहरु गथ्र्यो । त्यसलाई अनिलले सन् २००९ मा रिलायन्स विग इन्टरटेनमेन्टको नाम दिए ।

तर, विस्तारै प्रतिस्पर्धा बढ्न थाल्यो । रिलायन्स इन्टरटेनमेन्ट घाटामा जान थाल्यो । २०१४ सम्ममा सबै स्क्रिनहरु कम मूल्यमा बेचिदिए । सन् २०१७ मा कम्पनीले ५ सय ५३ करोड र २०१८ मा ६ सय ६ करोड घाटा खाएको बताइएको छ ।

अनिल अम्बानीको विशेष चाखचाहिँ टेलिकम विजनेसमा थियो । उनले प्राप्त गरेकोमध्ये रिलायन्स टेलिकम्युनिकेसन अर्थात आरकम सबैभन्दा ठूलो विजनेस थियो । र, उनले सबैभन्दा ठूलो धक्का पनि यही विजनेसमा खाए ।

सन् २००२ मा रिलायन्स इन्फोकमको नामले सुरु हुँदा आरकमले सीडीएमए (कोड डिभिजन मल्टिपल एक्सेस) प्लेटफर्म रोजेको थियो, जुन त्यसबेला नयाँ प्रविधि थियो । तर, एयरटेल र हच जस्ता प्रतिस्पर्धि कम्पनीहरु जीएसएम (ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन) प्रयोग गरिरहेका थिए ।

सीडीएमए प्रविधि रोज्नु नै अनिल अम्बानीका लागि आत्मघाती कदम बन्यो । दुरसञ्चार उद्योग फस्टाउने क्रममा सीडीएमएमा आधारित रिलायन्स पछि पर्यो किनकी यसले टु जी र थ्रिजीलाई मात्रै सपोर्ट गथ्र्यो । जब ४ जीको युग सुरु भयो, आरकम फतक्कै गल्यो ।

समय बित्दै जाँदा टेलिकम उद्योगमा प्रतिस्पर्धा निकै चर्को बनिरहेको थियो । कम्पनीहरुबीच सब्सक्राइबर बढाउने र मूल्य घटाउने होड निकै बढ्यो । यस्तो अवस्थामा बजारमा टिकिरहनका लागि अनिलले आफ्नो व्यवसायमा लगानी थप्नुको विकल्प थिएन । यसका लागि उनी ठूलो ऋण लिन वाध्य भए । प्राइस वार बढ्दै जाँदा टेलिकमहरुको मुनाफा घट्न थाल्यो । आरकम धराशयी बन्न थाल्यो । जति आक्रामक रणनीति लिए पनि अनिलले यसलाई जोगाउन सकेनन् । उनको ऋण चुलिँदै गयो, कम्पनीको घाटा पनि बढ्दै गयो ।

यही उहपाह बीचमा कम्पनीमाथि निर्णायक प्रहार त्यतिबेला भयो, जब अनिलका दाइ मुकेशले यो व्यवसायमा इन्ट्री गरे । आपसी प्रतिस्पर्धा नगर्ने सम्झौताको म्याद सन् २०१० मा सकिएपछि बन्धनमुक्त भएका मुकेश संकटमा रहेका भाइलाई अझै संकट थप्न आइपुगे । मुकेशले इन्फोटेल ब्रोडब्यान्ड खरिद गरे । सन् २०१६ मा उनले रिलायन्स जिओ इन्फोकम लन्च गरेर भारतीय दुरसञ्चार उद्योगमा आँधि ल्याइदिए । अरु दूरसञ्चार कम्पनीहरुको भागाभाग भयो । अनिलको आरकमले एैया पनि भन्न पाएन ।

ऋण र घाटाको जाँतोभित्र पिल्सीएको आरकमले सन् २०१७ मा आफ्नो ताररहित सेवा बन्द गर्यो । त्यसपछि अनिलले अन्य व्यवसायमा आफ्नो ध्यान लगाए । ऋणमोचनका लागि आफ्नो सम्पत्तिहरु बेच्न थाले । उनले आफ्नो कम्पनी आरकम जियोलाई बेच्नका निम्ति दाजु मुकेशसँग सम्झौताको प्रयास पनि गरे । तर, भारतीय दूरसञ्चार विभागले जियोलाई आरकमको सबै दायित्व बहन गर्नुपर्ने शर्त राखेपछि मुकेश पछि हटे ।

मुकेश अम्बानी

आरकम मात्र नभएर अनिलका अन्य कम्पनीहरुको पनि अवस्था नाजुक नै छ । उनको रिलायन्स क्यापिटल गत वर्षको मेमा म्युचल फन्ड विजनेसबाट बाहिर निस्कियो । यसले रिलायन्स निप्पोन लाइफ एसेट म्यानेजमेन्ट लिमिटेड (आरएनएएम) मा रहेको सबै स्टक बेचेको छ । बिक्रीबाट आएको ८६ करोड डलर रिलायन्स क्यापिटलको ऋण तिर्न खर्च गर्ने अनिलले बताएका छन् ।

जुलाईमा अनिलले विभिन्न व्यवसायका सम्पत्ति बेचेर उनलाई कम्पनीले २ खर्ब १७ अर्ब रुपैयाँ प्राप्त भएको बताएका थिए । सेप्टेम्बरमा उनले रिलायन्स क्यापिटल लेन्डिङ विजनेसबाट बाहिर निस्कने घोषणा गरे । त्यसबेला उनले सेयरहोल्डरहरुलाई  रिलायन्स क्यापिटलले वित्तीय सेवाको क्षेत्रमा भयंकर क्षति व्यहोरेको बताएका थिए । रिलायन्स होम फाइनान्स पनि असफलता उन्मुख छ ।

यसैगरी, अनिलका अन्य व्यवसाय रिलायन्स इन्फ्रा र रिलायन्स पावरको पनि अवस्था राम्रो छैन । यी दुवै कम्पनीहरु घाटामा डुबेका छन् । गत ८ जनवरिमा रिलायन्स पावरले स्टक एक्सचेन्जलाई ६ सय ८५ करोड भारु ऋण देखाउँदै टाट पल्टिएको भनेर सुचना दिएको थियो ।  त्यसपछि एस बैंकले रिलायन्स पावरको ३० प्रतिशत सेयर खरिद गर्यो । यसैगरि, अहिले अदानी ग्रुप लगायतले पनि रिलायन्स पावरको एउटा सब्सिडरी कम्पनी खरिद गर्न चासो दिएको छ ।

यता रिलायन्स इन्फ्राको ऋण पनि सन् २०१९ को सेप्टेम्बरसम्म एक सय ४८ अर्ब भारु पुगेको थियो । गत डिसेम्बर ३१ सम्म अनिलका कम्पनीहरु रिलायन्स कम्युनिकेसन्स, रिलायन्स नेभल एन्ड इन्जिनियरिङ, रिलायन्स इन्फ्रास्ट्रक्चर र रिलायन्स पावरलाई कुल मिलाएर ४३ हजार ८ सय करोडको ऋणले थिचेको छ ।

गत जनवरीमा रिलायन्स नेभल एन्ड इन्जिनियरिङ पनि टाट पल्टिने प्रक्रियामा गएको सञ्चारमाध्मयहरुले उल्लेख गरेका छन् । यसले करिब ९ हजार ४ सय ९२ करोड भारु ऋण तिनुपर्ने छ ।

****

सबै उपाय सकिएपछि सन् २०१८ को मेमा अनिलको आरकम बैंकरप्सी (टाटपल्टाई) को प्रक्रियामा गयो । नेसनल कम्पनी ल ट्रिबुनल (एनसीएलटी) ले आरकमविरुद्ध स्वीडिस कम्पनी इरिक्सनले हालेका तीनवटा उजुरी स्वीकार गर्यो । आरकमले आफ्नो ११ सय करोड भारु तिर्न बाँकी रहेको इरिक्सनको दावी थियो ।

भारतको सर्वोच्च अदालतले यदि एक महिनाभित्र आरकमले इरिक्सनको ५ अर्ब ५० करोड भारु तिर्न सकेन भने अनिलले जेल जानुपर्ने फैसला सुनायो । अनिल गम्भिर संकटमा परे । तर, त्यही बेला दाजु मुकेशले उनलाई काँध थापे । पुरानो तिक्तता र मनमुटाब बिर्सेर मुकेशले अनिलको साढे ५ अर्ब भारु तिरिदिए र भाइलाई जेल जानबाट जोगाए । यसले धनाढ्य दाजुभाइको सम्बन्धमा नयाँ बहार आयो ।

दाइले ऋण तिरिदिएपछि सन्तोषको सास फेर्दै अनिलले वक्तव्यमार्फत भनेका थिए, ‘कठिन समयमा मैले परिवारबाट सहयोग पाएको छु । जतिबेला मलाई सबैभन्दा बढी सहयोग चाहिएको थियो, मेरो परिवार मेरो लागि अगाडि सर्यो । यसले हाम्रो परिवारको दह्रो मूल्य–मान्यतालाई दर्शाउँछ ।’

पारिवारिक मूल्यमान्यता जति दह्रो भए पनि दाजुले भाइलाई एउटा सीमासम्म मात्रै साथ दिन्छन् । मुकेशले अनिलको एउटा संकट त टारिदिए, तर उनका लागि यत्रतत्र संकटै संकट थिए ।

यसैबीच चीनका तीनवटा बैंकहरुले अनिललाई बेलायतको उच्च अदालतमा मुद्दा हाले । अनिलले आफ्नो व्यवसाय विस्तार गर्न भनेर ती बैंकहरुबाट ठूलो परिमाणमा ऋण लिएका थिए । उक्त ऋणको सावा–व्याज तिर्न नसकेपछि बैंकहरु कानूनी प्रक्रियामा गएका हुन् ।

तीन चिनीया बैंकलाई अनिलले ऋण र ब्याज गरी कुल मिलाएर ७१ करोड ७६ लाख डलर तिर्नुपर्ने छ । बेलायतको उच्च अदालतले अनिललाई १२ जूनसम्ममा चिनीयाँ बैंकहरुको सो ऋण चुक्ता गर्न २२ मे २०२० मा आदेश दिएको थियो । यसैगरि कानूनी खर्चका रुपमा उनीसँग ५० हजार पाउन्ड असुलउपर गर्न अदालतले भनेको छ । तर, अनिलले एक पैसा पनि तिर्न सकेका छैनन् ।

यही मुद्दाको भर्चुअल सुनवाईका क्रममा अनिलले आफू रित्तिएको भनेर बयान दिएका हुन् । आफूसँग अब उल्लेख्य मूल्यका कुनै पनि वस्तु नभएको उनले अदालतलाई बताएका थिए । यद्यपि, उनको बयानमा ऋणदाताहरु सन्तुष्ट छैनन् ।

प्रतिवादी तर्फका वकिलहरुले अम्बानीको बिलासी जीवनशैलीलाई औंल्याउँदै उनी टाट पल्टेको अस्वीकार गरेका छन् । अनिलले ३२ लाख डलर मूल्यका कार चढ्ने गरेको, उनीसँग प्राइभेट जेट रहेको, मुम्बईको आलिसान महलमा बस्ने गरेको श्रीमती टिना अम्बानीलाई जन्मदिनमा हेलिकोप्टर उपहार दिएको लगायतका दृष्टान्त पेश गर्दै उनीहरुले अनिलले ऋण नतिर्नका लागि आफूलाई कंगाल देखाइरहेको जिकिर गरेका छन् । अनिलले भने ती सबै वस्तुहरु आफ्नो व्यक्तिगत नभएको बताएका छन् ।

‘अम्बानीले सन् २०१२ मा गरेको लगानीको मूल्य ७ अर्ब डलरभन्दा बढि थियो जुन अहिले ८ करोड ९० लाख रुपैयाँमा झरेको छ । उहाँका दायित्वहरुलाई विचार गर्ने हो भने खुद सम्पत्ति शून्य छ । हो, उहाँ धनी व्यापारी हुनुहुन्थ्यो, तर अहिले हुनुहुन्न,’ अम्बानीका वकिल रोबर्ट होवेले अदालतलाई भनेका छन् ।व्यापार–व्यवसायमा आफूहरुलाई स्थापित गर्ने सपना देख्नेहरुका लागि अनिल अम्बानी एउटा गतिलो ‘केस स्टडी’ हुन सक्छन्

अम्बानीले ३० करोड ५० लाख डलर आफ्नो व्यक्तिगत घाटा रहेको बताएका छन् । जनवरी र जून २०२० को बीचमा मात्रै उनले ९.९ करोड रुपैयाँको गहना बेचेको उनको दावी छ ।

गत १५ जूनमा इन्डष्ट्रियल एन्ड कमर्सियल बैंक अफ चाइनाको नेतृत्वमा एक्सपोर्ट इम्पोर्ट बैंक अफ चाइना र चाइना डेभलपमेन्ट बैंकले अनिल अम्बानीको सम्पत्ति सार्वजनिक गर्न माग गरेको थियो । बैंकहरुको प्रतिनिधत्व गर्दै बान्किम थान्कीले भनेका छन् कि अम्बानीले उनीहरुको ऋण ततिर्नका लागि अनेकन तिगडम बुनिरहेका छन् ।

गत शुक्रबारको सुनवाईपछि बैंकहरुले एउटा विज्ञप्ति जारी गरी अम्बानीविरुद्ध सबैखाले कानूनी उपचारको खोजी गर्ने बताएका छन् । ‘उनीबाट ऋण असुल्नका लागि उपलब्ध सबै कानूनी उपायहरुको अबलम्बन गरिने छ,’ बैंकहरुको साझा विज्ञप्तिमा उल्लेख छ ।

अनिलले ऋण नतिर्दा चिनियाँ बैंकहरु पनि संकटमा पर्नेछन् । अब ऋण असुल्नको लागि एक मात्र विकल्प भनेको अनिलका बाँकी सम्पत्तिहरुको लिलामी हो । अनिलले आफूसँग ठूलो सम्पत्ति केही नरहेको बताए पनि त्यसमा बैंकहरु विश्वस्त छैनन् । तर, अनिलको सम्पत्ति लिलामी गराएर ऋण असुलउपर गराउन चिनीया बैंकहरुको निम्ति चुनौतिपूर्ण छ ।

विदेशी ऋणदाताले यदि ऋण नतिर्ने मनसाय देखाएको खण्डमा त्यसको असुली प्रक्रिया कुनै पनि बैंकको लागि झण्झटिलो, खर्चिलो र जटिल हुने गर्छ । विगतमा अनिल अम्बानीको उच्च हैसियतलाई हेरेर बैंकहरुले आँखा चिम्लेर ऋण दिए । अहिले उनीहरु टाउकोमा हात राखिरहेका छन् । उनीहरुले सीधै भारतमा आएर अम्बानीका सम्पत्ति खोजविन गरी नियन्त्रणमा लिन गर्न सक्दैनन् । उनीहरु भारतीय कानून बमोजिम जानुपर्ने हुन्छ ।

भारतीय कानूनबमोजिम जाँदा भारत सरकार वा रिजर्भ बैंक अफ इन्डियासँग सहयोग माग्नुपर्नेछ । तर, भारत सरकार र त्यहाँका सरकारी निकायले आफनो नागरिकको हितलाई प्राथमिकतामा राख्छन् । सर्वप्रथम भारतको अदातले अनिललाई टाट पल्टेको भनेर स्वीकार गर्नुपर्ने हुन्छ ।

टाट पल्टिएको अवस्थामा हुने ऋणको भुक्तानी सम्वन्धिमा देशहरुका आआफ्ना कानून हुन्छन् । केही कुरा तलमाथि भए पनि ऋणदाताले आफू टाट पल्टिएको दावी गरेपछि सम्पत्तिको लिलामीमा नै जाने हो । लिलामीबाट आएको पैसाले सर्वप्रथम कर्मचारीको बाँकी बक्यौता भुक्तानी गर्नुपर्ने हुन्छ । त्यसबाट उब्रेको पैसा ऋणदाताको भागमा आउँछ ।

हालै भारतको सर्वोच्च अदालतले स्टेट बैंक अफ इन्डियाद्वारा अनिलविरुद्ध इन्सल्भेन्सी प्रोसिडिङ (टाट पल्टेको घोषणा गर्ने प्रक्रिया) पुन: सुरु गर्न दायर गरेको याचिकालाई खारेज गरेको थियो । अम्बानीका दुई फर्महरुबाट उक्त बैंकले १२ सय करोड ऋण उठाउनुपर्नेछ । यसअघि उक्त प्रक्रिया सुरु भइसकेको भए पनि दिल्ली उच्च अदालतले रोकेको थियो । त्यसलाई पुनः सुरु गर्न स्टेट बैंक अफ इन्डियाले दायर गरेको रिट सर्वोच्चले खारेज गरेको हो ।

०००

भाग्य र कर्मले साथ दिएर कोही मान्छे रातारात धनाढ्य बन्छन् भने यी दुई तत्वको जोडघटाउ नमिल्दा कोही महलबाट सडकमा पनि खस्छन् । कुनै बेला भारतकै १ नम्बरका धनाढ्य अनिलको आज यो दुर्दशा होला भन्ने कमैको कल्पनामा थियो ।

१२ वर्षअघि बराबरी सम्पत्ति भागबण्डा गरेका दाजुभाइबीच आज आकाश जमिनको फरक भएको छ । दाजु मुकेश भारतका मात्रै होइन, एसियाकै सबैभन्दा धनाढ्य कहलिएका छन् । उनीसँग ८५ अर्ब डलरभन्दा बढिको नेट वर्थ छ । भाइ अनिल भने रसातलमा पुगेका छन् ।

अनिल अम्बानी कहाँ चुके त ?

जब मान्छे कालान्तरमा असफल सावित हुन्छ, त्यसपछि सबैले उसको कमजोरीको चर्चा गर्न थाल्छन् । उसका अनेक गल्तिहरु निकालिन्छ । त्यही मान्छे यदि सफल हुन्थ्यो भने उसको क्षमता र प्रतिभाको मात्रै बखान हुन्थ्यो ।

अनिल अम्बानीले आफ्नो व्यवसाय प्रवर्द्धनका क्रममा आक्रामक निर्णयहरु लिएका थिए । यदि उनी सफल भएको भए प्रेरणादायी व्यवसायी कहलाइन्थे । असफल भए, त्यसैले उनमा सबैले खोटैखोट देखिरहेका छन् ।

अनिल अम्बानीको पतन हुनुमा भाग्य र कर्म दुवैको हात रहेको बताउँछन् जानकारहरु । न उनले पुर्ख्यौली व्यवसायहरु जोगाउन सके, न आफूले सुरु गरेका व्यवसायलाई स्थापित गर्न । उनले आवश्यकताभन्दा बढी जोखिम उठाए । जबकि दाजु मुकेशको शैली उनको भन्दा निकै फरक रह्यो । उनी भाइजस्तो हतारमा दौडिएनन् ।यो पनि पढ्नुहोसगगनचुम्बी महलमा अम्बानीको दैनिकी

चरित्र, शैली र स्वभावको हिसाबले मुकेश र अनिलमा निकै भिन्नता रहेको उनीहरुका निकटवर्तिलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन् । कहिल्यै ‘लाइमलाइट’ मा आउन नचाहने र सधैँ आफ्नो काममा दत्तचित्त रहने स्वभाव मुकेशमा पहिल्यैदेखि थियो । अनिलचाहिँ पहिल्यैदेखि सामाजिक सम्वन्धहरुमा रमाउँथे । ‘पावर सेन्टर’ हरुसँग उनको राम्रो कनेक्सन थियो । ठूला लगानीकर्ताहरुलाई आफ्नो कम्पनीमा आकर्षित गराउन उनी माहिर थिए ।

दाजु र भाइको व्यवसायिक सोचमा पनि भिन्नता रह्यो । कुनै पनि व्यवसायिक योजना बनाउँदा मुकेश लामो समयका लागि सोच्छन् । आवश्यक पर्दा जोखिम पनि मोल्छन् । अनिलचाहिँ छिटो पैसा कमाउने व्यवसायमा बढी आकर्षित भए । छोटो बाटो हिँड्न खोज्दा उनी पछारिए । यसलाई प्रारब्ध वा कर्मको फल जे मान्दा पनि भयो ।

जे होस्, व्यापार–व्यवसायमा आफूहरुलाई स्थापित गर्ने सपना देख्नेहरुका लागि अनिल अम्बानी एउटा गतिलो ‘केस स्टडी’ हुन सक्छन् ।

(भारतीय सञ्चारमाध्यमको सहयोगमा)

प्रतिक्रिया दिनुहोस