पाल्पाली ढाकाकी पर्यायवाची पूर्णमाया (भिडियाे सहित)

पाल्पाली ढाकाकी पर्यायवाची पूर्णमाया (भिडियाे सहित)

‘पाल्पाली ढाकाकी जननी पूर्णमाया’
मुक्ति न्यौपाने/पाल्पा
वि.सं. २०१२ सालमा गणेशमान र पूर्णमाया रोजगारीका शिलशिलामा भारतको नयाँ दिल्ली पुगे । महर्जन दम्पत्ती दिल्लीमै कपडा उत्पादन गर्ने कारखानामा काम गर्थे । त्यस समय नेपालमा कपडाको ठूलो कारोबार हुँदैनथ्यो । सीमित प्रयोगका लागि बङ्गलादेशबाट नेपालमा कपडासँगै ढाका आयात हुने गरेको थियो । २०१३ सालमा एउटा तान बनाएर महर्जन दम्पत्तीले नेपालमै ढाका बुन्न थाले । २०१५ सालमा महर्जन दम्पत्तीले भारतबाटै धागो ल्याएर नेपालमै हाते तानमा व्यावसायिक ढाका बुन्न सुरु गरेका हुन् । अहिले जिल्लामा बीस वटा ढाका उद्योगहरु दर्ता भई सञ्चालनमा छन् । गाउँका घरघरमा सानो संख्यामा उद्योग गर्दा नगरि पनि ढाका बुन्ने महिलाहरु पनि पाल्पामा छन् ।


जिल्लाकै पहिलो ढाका उद्यमी पूर्णमाया महर्जन पाल्पालाई त्यहि ढाकाको नामले चिनिन थालेकोमा आफूहरुको मेहनतले सार्थकता पाएको सम्झिन्छिन् । भारतमा धागो बेर्ने काम सिकेर २०१५ सालमा तीनवटा तान लगाएर व्यावसायिक ढाकाको सुरुवात भएको उनी बताउँछिन् । नेपालका अधिकांश जिल्लाबाट पाल्पा जिल्ला सदरमुकाम तानसेन आएर ढाका बुन्न महिलाहरुले फारम नै भर्नुपर्ने अवस्था थियो । अहिले त्यस्तो छैन । महिलाहरु हातेतानमा ढाका बुन्न अल्छि गर्ने गरेको पूर्णमाया बताउँछिन् । आफ्नै घरका तानमा पाँच सय जना महिलाहरुले एक साथ काम गर्ने गरेको सम्झिँदै पूर्णमाया भन्छिन्, ‘श्रीमान् घरका खेतबारीमा काम गर्थे, महिलाहरु यहाँ आएर ढाका बुनेर गुजारा गर्थे । अहिले एकल महिलाको सारथी बनेको छ, पाल्पाली ढाका । किनकी पाल्पाका ढाका उद्योगहरु अधिकांश एकल महिलाहरु गुजारा गर्न कै लागि काम गर्दै आएका छन् ।’
१९९४ सालमा जन्मिएकी पूर्णमाया महर्जन पाल्पाली ढाका कपडा बुनाई उद्योग सञ्चालन गरेकी छिन् । उनी आँफै ढाका बुन्ने र सिकाउने काम समेत गर्छिन् । पाल्पाली ढाका २०१५ सालमा दर्ता भएको होे । २०११ सालमा बिहे गरेकी पूर्णमायालाई सुरुका वर्षमा घर सम्हाल्न निकै कठिन भयो । पछि आफू उद्यमशीलतातर्फ उन्मुख भएपछि भने भयो । उनका चार छोरा र दुई छोरी छन् । श्रीमान् (गणेशमान महर्जन) भारतको दिल्लीमा काम गरेर फर्केपछि दुई दम्पत्तीले ढाका उद्योग सम्हाले । गणेशमान महर्जन समाजसेवामा तल्लिन बनेपछि पूर्णमायाले पूर्ण रुपमा ढाकाको नेतृत्व लिएकी थिईन् ।
‘तानसेनमा खद्दरको साडी, अन्य कपडा बुन्दाबुन्दै बंगलादेशको राजधानी ढाकामा बुन्ने कपडाको डिजाइन आयो । त्यही डिजाइनमा बुनेर सुरु गरेपछि ढाका कपडा भन्ने भएको हो । जुन ढाका त्यस समय पनि महँगोमा पनि बिक्री हुन थाल्यो, पूर्णमायाले भनिन्, हामीले घरेलुमा दर्ता गरेर ढाका बुन्न थाल्यौं भारतबाट फर्केपछि श्रीमान् घरेलुमा जागिर गर्नुहुन्थ्यो ।’ त्यस समय तानसेनमा घरेलु शिल्पकला भण्डार खुलेको थियो । ढाकालाई घरेलु शिल्पकलाले देशका विभिन्न स्थानमा पठाउने गथ्र्यो । त्यसपछि बजारमा पाल्पाली ढाका कपडाको खोजी भयो । ढाकाको पछ्यौरा, खद्दरको साडी, तन्ना त्यो बेलामा बढी बिक्री हुन्थ्यो ।
तत्कालिन राजा महेन्द्रले धेरै पटक ढाकाको विषयमा सोधखोज गरे । पछिका राजा विरेन्द्रले पनि गणेशमानबाट ढाकाको विषयमा जानकारी लिएर हौसला प्रदान गरेको महर्जन बताउँछिन् । त्यस समयमा सार्क सम्मेलनमा धेरै नै ढाकाको साडीका लागि माग आएको थियो । कारखानामा निकै हतारहतार गरेर ढाकाको साडी बनाएको महर्जनले बताईन् । उनी भन्छिन्, ‘धेरै साडीको माग आयो कि काम गर्नेलाई निकै हतार भयो तर हामीले साडी बुनेर दियाँै । त्यसपछि विभिन्न देशहरुबाट समेत हाम्रो ढाकाको माग बढी भयो ।’
पाल्पाली ढाकाको मागमा वृद्धि भएपछि २०३० सालमा महर्जन दम्पत्तिले टहरा बनाएर तानसेनको बारुदखानमा समेत ढाकाका तानहरु थपे । बजारमा ढाकाको माग बढी भएपछि पु¥याउनका लागि गाउँगाउँबाट महिलाहरु खोजेर ल्याएर बुन्ने काम सिकाईयो । ढाकाको उत्पादन बढ्यो । पाँच सय कामदार एकैसाथ रेखदेख गरेको सुनाउँदै पूर्णमाया भन्छिन्, काम सिकाउने मात्र होइन, जागिर नै दिइन्थ्यो । क्यान्टिन चलाउने, पास बुक बनाउने, पैसा बचत गर्ने धेरै काम आँफै पनि गर्थे । अन्यत्र तान थिएन । महिलाहरुलाई रोजगारी र तानसेनमा व्यापारिक कारोबार हुन थाल्यो ।
तानसेनमा अहिले साना÷ठूला तथा दर्ता भएका नभएका गरि ५० भन्दा बढी ढाकाका उद्योगहरु सञ्चालनमा छन् । पूर्णमायाको ढाका उद्योगमा अहिले २६ तानमा २६ जना महिलाहरुले काम गर्दै आएका छन् । जिल्लामा बाहिरी जिल्लामा बुनिएको ढाका समेत पाल्पाली ‘ट्याग’ दिएर बिक्रि गर्दा पूर्णमायाको चित्त दुख्ने गरेको छ । पाल्पामा अहिले ढाका बुन्ने मान्छे सजिलै पाइँदैन । पुराना तान थन्किएका छन् । नयाँ जेकार्ड प्रविधिमा पाल्पाली ढाका बुनिँदै आएको छ ।
पाल्पाली ढाकाको विविधिकरण गरि धेरै किसिमका वस्तुहरु निर्माण भएका छन् । सजावटका सामाग्रीदेखी पाल्पाली ढाका अहिले पर्स, टाई, ब्याग, आसकोट, कुर्ता, दौरा सुरुवाल तथा गिफ्ट सामाग्री समेत निर्माण हुन थालेको छ । यतिबेला जिल्ला भित्रने आन्तरीक तथा बाह्य पर्यटकहरुले आफन्तहरुलाई ढाका चिनो लैजाने गरेका छन् । जिल्लामा वार्षिक २० करोड बराबरको ढाकाको कारोबार हुने गरेको छ । जाडो याममा बढी मात्रामा ढाकाको कारोबार हुन्छ । पाल्पाको जिल्ला सदरमुकाम तानसेनसँगै ग्रामीण भेगहरु कसेनी, मदनपोखरा, कुुसुमखोला, चिर्तुङ्धारा, बन्दिपोखरा, अर्गलीमा ढाका कपडा बुनिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस