जाे ४० वर्षदेखी नून खाएनन्, काेराेना आफ्नै शरीरमा परीक्षण गराउन आह्वान (भिडियाे)

जाे ४० वर्षदेखी नून खाएनन्, काेराेना    आफ्नै शरीरमा परीक्षण गराउन आह्वान  (भिडियाे)

पाल्पा, भदाै १७

काेभिड १९, कोरोना भाइरसले विश्व समुदाय प्रभावित भएको छ । यस्ताे समयमा स्याङ्जाका पदमप्रसाद पाण्डेले विश्व समुदाय र जीव वैज्ञानिकहरुलाई आफ्नै शरीरमा कोरोना भाइरसको प्रभाव परीक्षण गराउन स्वेच्छिक आह्वान गरेका छन् ।

यो केवल हाम्रो शरीरभित्र हुने जीवाणु र विषाणुबीचको एउटा युद्धमात्रै हो । यस प्रयोगमा हाम्रा शरीरभित्र रहेका जीवाणुले कोरोना, कोभिड १९ लाई जित्न सफल हुनेमा हामी दुवैलाई कुनै दुविधा र आशंका छैन । र, हामी मरेमा कसैले पनि हाम्रो परिवारलाई कुनै क्षतिपूर्ति दिनुपर्ने छैन ।
साथसाथै योबेला हामी आफूलाई कुनै कोरोना प्रभावित रोगीको सेवामा लगाउन पनि चाहन्छौं । पदम प्रसाद पाण्डे र दाजु शंकर प्रसाद पाण्डेले यस्ताे बताएका हुन्।

कोरोनाले मृत्यु भएका व्यक्तिको जाति, लिङ्ग, वर्ण, धर्मभेदविना सद्गत र क्रियाकर्म गरिदिन तयार छौं । कसैलाई खाने वस्तु र आवश्यक औषधिको अभाव भए हामी आफूले सकेको आर्थिक सहयोग गर्न पनि तत्पर छौं ।
विश्वका कहलिएका योगी, धर्मगुरु भनिएकाहरु पनि त्राहीमाम् भएर ‘दुला’ पसेका बेला यस्तो आह्वान गर्दा हामीलाई धेरैले ‘हावा, मुर्ख, घमण्डी, सस्तो प्रचारवाज’ का रुपमा लिएर खिसिट्युरी गर्न सक्नुुहुन्छ । हाम्रो यस्तो चाहना स्वेच्छिक मृत्युवरणको अधिकार नभएको देशमा अपराध पनि ठानिन सक्छ । तर, हाम्रो यो आह्वान अपराध पनि हैन, यो ‘आत्महत्या प्रयास’ पनि हैन ।
योबेला हामी दुई भाइले विगत ५० वर्षदेखि गरेको साधना र दृढ आध्यात्मिक अभिमुखीकरणबाट आर्जन गरेको ज्ञान अनि हाम्रो आन्तरिक र बाह्य शारीरिक संरचना र सामथ्र्यलाई प्रयोग गरी अहिले हाम्रा नेपाली दाजुभाइ र समस्त मानव जातिले भोगिरहेको त्रास र कोलाहललाई बन्द गर्न आफ्नो ठाउँबाट प्रयास गर्न चाहेका मात्रै हौं ।

पाण्डे दाजुभाइका आह्वानका आधारहरु

विगत ५० वर्षको योग, ब्रह्मचर्य, फलाहार, जुत्ता चप्पल वीना माटोसँगको निरन्तर संसर्ग र नुनविनाको वैकल्पिक शाकाहारको अभ्यासले विकास भएको हाम्रो रासायनिक सम्पदा र आध्यात्मिक अभिमूखीकरणले निर्माण भएको दृढ आत्मविश्वासका आधारमा हामीले यो आह्वान गरेका हौं ।

नदेखिने ब्रह्म, ईश्वर, माया, भगवान, भगवती आदि अवैज्ञानिक र अन्धविश्वास मानिने दृष्य–अदृष्य शक्तिहरूको अस्तित्व स्वीकार्ने हामी कोरोनाको अस्तित्व नस्वीकार्ने हैन । तर, उसलाई आफ्नो शत्रु ठान्दैनौं बरु आफ्नै अस्तित्वको आधार र विकासमा सहायक ठान्छौं र डराउँदैनौं ।

हामी दुबैले उपलब्ध र सम्भव भएसम्म सर्वोत्तम सात्विक भोजन गर्ने, पवित्र कमाइले खाने र सबैप्रति मनमा सद्भाव राख्ने अभ्यास सानैदेखि गर्न पायौं । यिनै अभ्यासको प्रतिफल आजको हाम्रो शरीर, मन, बुद्धि र साहस हो ।

सन्तुलित आहार–विहारले जीवाणु सक्षम बनेर विषाणुलाई परास्त गर्दै जीव विकसित हुन्छन् । विषाणु र जीवाणुको संघर्षले नै सृष्टिचक्र चलिरहने हो । विषाणु र जीवाणु बाइनरी अपोजिशन हुन्, एउटा स्थिर अर्को क्रियाशील ।

अति सूक्ष्म लेउलाई झ्याऊ (एल्जी) हुँदै विशाल वटवृक्षसम्म विकसित गराउने, अमीवालाई गड्यौला आदि हुँदै हर परिवर्तनमा एक पाइला अघि बढाएर बुद्धसम्म पु¥याउने यिनै दुई तत्वको संघर्षले हो । आफ्नै कोकुनमा बन्दी रेशम कीरालाई सुन्दर पुतली बनाउने, कडा बोक्रामा कैद चल्लालाई चारो ठुङ्न सिकाउने, सुकेको बीऊलाई अंकुरित गराउने र सामान्य महिलालाई महान आमा र शाल–नालले बाँधिएको नीरीह प्राणीलाई सक्षम शिशु बनाउने तिनैको संघर्षले हो । संघर्षमा प्रतिपक्ष सहायक हुन्छ, शत्रु हुँदैन ।

घाँसको रसबाट रक्त, माष, मेद अस्थि, मज्जा, वीर्य र शुक्राणु बनाउने प्रक्रियाको प्रत्येक पाइलामा यिनै विषाणुले सघाउने हुन् । भोजनले भन्दा उपवास, आकास, अवकासले दिने लाभ यही आन्तरिक ऊर्जा हो ।

बाहिरी धातु सुनजस्तै भित्री धातु वीर्य हो । वीर्यलाई विन्दू अथवा वज्र पनि भनिन्छ । विन्दू हलचल हुँदा, स्वास र मुटु दुबैमा हलचल पैदा हुन्छ । सक्षम जीवाणुको फौज पुनर्जन्मका लागि होमिन तत्पर हुन्छन् । तन्त्र बुझेकाले वा स्वयंलाई चिनेकाले मात्र ओशोको भाव, गान्धीको प्रयोग बुझ्छन् । यन्त्रका आधारमा पाएको ज्ञानले बुझ्न सम्भव हुन्न ।

जीवाणुलाई शक्तिशाली बनाउने भोजन फलाहार हो । मांशाहारले प्रदूषित बनेका रगत, मन र बुद्धिले कोरोना देख्दा भेडीगोठमा बाघ पसे झैं भएको हो । मधुकैटभलाई जितेर विष्णु, रावणलाई जितेर राम, कंशलाई जितेर कृष्ण बनेझैं आ–आफ्ना विषाणुलाई जितेर नै जीवन अघि बढ्दै जाने हो । पूराणहरूले दानव र देव भनेकोलाई यान्त्रिक आँखाले वीषाणु र जीवाणु नामाकरण गरे । जीवाणु साकार हुन्छ विषाणु ब्रह्म जस्तै निकार हुन्छ ।

औषधी विज्ञानका सीमाहरू

ढुङ्गो–माटोका सूक्ष्माणुहरू, रसायनका क्रिया–प्रतिक्रियाहरू एवं जीवबाट अलग्याइएका जीवांशहरूलाई यन्त्र र पूर्व अनुभवका आधारमा मात्र पाएको ज्ञानलाई जस्ताको तस्तै जीवित प्राणीमा लागू गर्नु यान्त्रिक ज्ञानको बाध्यता हो । शत्रुलाई मारेर समाधान खोज्ने पूर्व अनुभवको आधारमा नै एलोपैथीको एण्टिबडी पद्दतिको विकास भएको थियो । नाम नयाँ दिए पनि भाइरस पूरानै हो केवल पहिला नदेखेकोलाई नयाँ भनिएको हो ।

विनियोजनले, विभाजनले देखाउने वृद्धि र योगले दिने समृद्धिका उपलब्धि फरक हुन्छन्, एकले आयतन बढाउँछ, अर्कोले घनत्व । यान्त्रिक आँखाले वीर्य र खकार, मासिक स्राव र अन्य रक्तस्राव, दूध र रक्तलाई समान देखायो । मशीनले नदेखाउने या छामेर नभेटिने भिन्नताको अस्तित्व स्वीकारेन । आस्थामा अडेको आन्तरिक सम्बन्धको पनि यान्त्रिक प्रमाण खोजियो । आफ्नै शरीरका एउटा अङ्गले अर्कोलाई नछुने अभ्यास अमानवीय अपराध मात्र देखियो । राम र रहीम समान देख्ने यान्त्रिक आँखाले प्रकृतिको कुनै उत्पादन समान नभएको देखेन ।

गीताको अद्वेतको झझल्कोले नै आइन्सटाइनको ‘एमसी स्वायर’ सिद्धान्त जन्म्यो । यान्त्रिक आँखाद्वारा हिग्स बोसनले देखेको ‘गडपार्टिकल’लाई पूराणले प्रेत भन्छ । शूक्ष्म शरीर निर्माण गर्न श्राद्ध कर्म गरिन्छ । त्यो भन्दा धेरै पर ‘कारण शरीर’ छ । त्यसलाई पनि गीताले भौतिक शरीर नै मान्छ । त्यहाँसम्म यान्त्रिक आँखा पुग्लान् तर त्यो भन्दा पनि परको सुशुप्तिमा रमाउने देहीको आनन्दमय गुफासम्म यान्त्रिक आँखाको पहुँच पुग्दैन । आत्मा त्यो भन्दा पर छ । बुद्धिद्वारा अग्राह्य छ । अनुभूति मात्र हुन्छ, वर्णन या व्याख्या संभव छैन ।

हाम्रो निष्कर्ष

हामी दुवैले यो जीवनको उत्तराद्र्धसम्म आउँदा नेपाली समाजलाई आफ्नो क्षेत्रबाट सकेको योगदान गर्दै आएका छौं । कोरोना भाईरसले नेपाली समाज आक्रान्त भएको यो घडीमा हामी आफ्नै शरीरमा कोरोना भाइरसको प्रभाव परीक्षण गराउन इच्छुक छौं । उपयुक्त सात्विक आहार विहार योग ध्यानको अभ्यासले हाम्रा शरीर र मन दुबै सबल छन् । त्यसमाथि कोरोना र हाम्रा शरीर शत्रु हैनन् बरु सहकर्मी हुन् । ‘बाइनरी अपोजिशन’ हुन् । एक अर्काका पूरक हुन् । अज्ञानताले शत्रु ठान्दा भयभीत भएका मात्र हौं । भयले नेपाली समुदायलाई झन कमजोर बनायो भन्ने बुझाइका आधारमा हामी यो परीक्षणका लागि प्रस्तुत भएको हौं ।

प्रतिस्पर्धीलाई मार्ने एण्टिबायोटिक पद्धतिले समाज र स्वास्थ्यको समस्या समाधान गरेन । जीवनी शक्ति बढाउने पद्धति अपनाऔं । कि इश्वरप्रति कि आफैप्रति विश्वास गरौं, मशीनलाई नै ज्ञानको आधार नमानौं । बोट बढ्नमा बीऊ र जराको पनि महत्व नबिर्सौं । पृथ्वी जस्तै जीवनको यात्रा पनि गोल छ । दौडेर उछिनेर पुगिने ठाउँ कतै छैन । बाहिरी सहकार्य र भित्री प्रतिस्पर्धाले जीवन सुख शान्ति र आनन्दले पूर्ण हुन्छ । पूर्णत्व उपलब्धी हुन्छ ।

एण्टिबायोटिकको सहारा न्यूनतम लिएका कारण हामी नेपालीका जीवाणुहरू विषाणु परास्त गर्न सक्षम छन् । केही दशकयता पश्चिमले विकास गरेका खोपहरू मार्फत हामीमा भित्र्याइएका विजातीय वीषाणुहरूसँगको संघर्षमा पनि हाम्रा जीवाणुहरू अहिलेसम्म हारेका छैनन् । यी आधारहरुबाट हेर्दा हाम्रो जीवनी शक्ति आफ्ना भाइरससँग लड्न अझै पनि सक्षम छन् । हाम्रा आफ्नै अद्वितीय जडीबुटी, योग, शुद्ध आहार विहारमा रहन हामीलाई अझै पनि सम्भव छ ।

यो परीक्षणमा लाभ मात्रै छ, घाटा कसैलाई छैन । सबभन्दा अधिक लाभ हामी दुई भाइलाई छ । यो परीक्षणबाट कोरोनाको काल्पनिक भयबाट कमसेकम हाम्रा नेपाली जनतालाई थोरै भए पनि ढाढस मिल्नेछ, आत्मवल विकास हुनेछ ।

हाम्रो शरीरमा कोरोना भाइरसको प्रभाव परीक्षण गर्ने अवसर उपलब्ध गराउन यस आह्वानपत्रका सबै पाठकहरुले आफ्नो ठाउँबाट पहल गरिदिनुभएमा हामी दुबै धेरै आभारी हुनेछौं ।

(लेखकद्वयमध्ये खाली खुट्टा हिँड्ने पूर्वसांसद शंकरप्रसाद पाण्डेय नेपाली कांग्रेस पार्टीमा विगत ५० वर्षदेखि क्रियाशील छन् । अर्का लेखक पदमप्रसाद पाण्डेय सेवानिवृत्त शिक्षक हुन् । लेखकद्वय हाल स्याङ्जा जिल्लाको विर्घा–वलथुम्कोमा साधनारत छन् ।

प्रतिक्रिया दिनुहोस