नेपाल आइडल सिजन ३ को विजेता सज्जा चोलागाईं, काे हुन्?

नेपाल आइडल सिजन ३ को विजेता सज्जा चोलागाईं, काे हुन्?

काठमाडौं । चर्चित गायन रियालिटी शो ‘नेपाल आइडलले’ आफ्नो सिजन-३ को विजेता घोषणा गरेको छ।

शुक्रबार काठमाडौं स्टुडियोबाट अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले दर्शकको भोट र निर्णायकको मुल्यांकनको आधारमा विजेता घोषणा गरेका हुन।

र विजेता बनेकी छन् सज्जा चोलागाईं।  सिजन ३ को विजेता भएसँगै उनले नगद ५० लाख रुपैयाँ जितेकी छिन्।

मोरङ पथरी घर भएकी चौलागाईं नेपाल आइडलमा प्रवेश गरेसँगै उत्कृष्ट प्रस्तुती दिदै आएकी थिइन्।

नेपाल आइडलमा छनोट भएसँगै उनको ‘रक पप’ र ‘भर्सटायल’ गायकीको चर्चा हुने गथ्र्यो।

जजहरुले उनको प्रस्तुति र बोल्ड स्वरको प्रशंसा गर्ने गर्थे।

संगीतमा सानैदेखि रुचि भएको उनी बताउँछिन्। घरमा गुनगुनाइरहने उनी स्कुल जान थालेपछि सांगीतिक कार्यक्रममा भाग लिन थालिन्।

कक्षा ८ मा पढ्दा स्कुलमा भएको गायन प्रतियोगितामा उनले पहिलो स्थान प्राप्त गरेकी थिइन्। बाबा मोरङमा र आमा साइप्रसमा भएकी सज्जा आफ्नो भाइसँगै हुर्किएकी हुन्।

स्कुल सकिएपछि काठमाडौँ छिरेकी उनले म्युजिकमा कुनै औपचारिक शिक्षा लिएकी छैनन्।

काठमाडौं आएपछि उनी ठमेल, दरबारमार्ग तथा कमलपोखरी क्षेत्रमा रहेका लाउन्जहरूमा उनी लाइभ गीत गाउने गर्थिन्।

उनको ‘दी लोडिङ’ नामक ब्यान्ड थियो। उक्त ब्यान्डमा उनले शास्त्रीय संगीत, हिन्दी र अंग्रेजी कभर गीत गाउँने गर्छिन।

कलेज पढ्दै, लाइभ गीत गाउँदै उनको दैनिकी चलिरहेको थियो। लाउन्जहरूमा हिन्दी, रक र अंग्रेजी गीत बढी गाउनुपथ्र्यो। तीनदेखि चार घण्टा निरन्तर गीत गाउनुपथ्र्यो।

पहिलो पटक उनले फ्लेवर्स रेस्टुरेन्ट तारागाउँमा गाएकी थिइन्। गाएर कमाएको पहिलो कमाइ पाँच सय रपैयाँ थियो।

उनका आमाबुवाले गाउन सधैं सहयोग गरे। ब्याचलर्स पढ्दै गरेकी विद्यार्थी सज्जा नेपाल आइडल सिजन–३ को अडिसनले यस प्रतियोगितामा सहभागी भइन।

सुरुमा उनले डिजाइनर बन्ने सपना बोकेकी थिइन् तर गीतले उनलाई पछ्याइरह्यो। स्कुल, कलेज, स्टेज सिंगर हुँदै उनी नेपाल आइडलको उपाधी विजेतासम्म बनेकी छन्।

नेपाल आइडलमा अरूले गाएको सुन्दा यत्तिको त म पनि गाउन सक्छु भन्ने आफूलाई लाग्ने भएरै आफू सहभागी भएको उनले बताउँने गर्थिन।

सज्जा गायक सविन राईकी फ्यान हुन। नेपाल आइडलले आफूलाई संगीतसँग अझ नजिक बनाएको उनी बताउँछिन्।

उत्कृष्ट ३ मा छनोट भएकी उनै सज्जा आज नेपालको पहिलो महिला नेपाल आइडल तथा सिजन ३ को विजेता घोषित भएकी छन्।

नेपाल आइडलको पहिलो सिजनको आइडल बुद्ध लामा हुन भने, सिजन-२ को उपाधी रवी वडले जितेका थिए।

नेपाली सांगीतिक क्षेत्रमा बेग्लै उचाइ कायम गरेको नेपाल आइडल अहिले धेरैको सपना हो।

सिजन ३ मा सज्जाले नेपाल आइडलको उपाधि कब्जा गर्दा किरणकुमार भुजेल सेकेन्ड रनर अप र प्रवीण वेडवाल फर्स्ट रनर अप भए। प्रवीणले पुरस्कारस्वरुप नगद १० लाख जितेका छन्। त्यस्तै किरणले नगद ५ लाख रुपैयाँ जित्न सफल भएका छन्।

प्रतिक्रिया दिनुहोस