कोरोनाको आत्मकथा

कोरोनाको आत्मकथा

विश्व महामारी


डा. रवीन्द्र समीर
, यो पृथ्वी पशुपक्षी, बोटबिरुवा तथा हामीजस्ता करोडौं कीटाणुको पनि हो भन्ने तथ्य मान्छेले कहिल्यै महसुस गरेन। पृथ्वीलाई मात्र होइन; अन्तरिक्ष, चन्द्रमा तथा मंगल ग्रहलाई पनि कब्जा जमाउन मान्छे लालायित छ। मान्छेले चराचर जगत्लाई सहअस्तित्वका रूपमा कहिल्यै सोचेन। हाम्राबारे मात्र होइन, आफूबाहेक अन्य मान्छेबारे समेत सोच्ने चौडा छाती मान्छेसँग भएन। हाम्रा प्राकृतिक बासस्थानमा हमला गर्दा हामीहरू मानिसको बासस्थानमा हमला गर्न बाध्य भएको तथ्य बुझ्नु जरुरी छ।

हामी आफ्नै संसारमा रमाइरहेका थियौं। चमेराको कोषमा उसलाई घात नगर्ने गरी बसेका थियौं। चमेराको सालकसँग संसर्ग भएपछि हामी सालकभित्र पस्यौं। चीनको उहानमा कोही भोकका कारण तथा कोही भोगका कारण चमेरा, सालकलगायत नचिनेका प्राणी धमाधम खाइरहेका थिए। उहानको सी फुड मार्केटमा हामी सेप्टेम्बरमै पुगेका थियौं। मान्छेले कुरा गर्दा, खोक्दा, हाच्छ्युँ गर्दा तथा सामानबाट समेत हामी उहानका घरघरमा पुग्न सफल भयौं। उहानमा आँखाको डाक्टरले सिटी स्क्यानबाट हामीलाई चिनेको थियो। तर, उसको मुख थुन्ने काम भयो। धन्यवाद छ, ती मुख थुन्ने अधिकारीलाई।

संसारभरका धेरै व्यक्ति मेडिकल साइन्स पढ्न, अनुसन्धान गर्न तथा भ्रमण गर्न उहानमा बसेका थिए। जब डिसेम्बरको अन्तिममा हामी कोरोना भाइरस हौं भन्ने पत्ता लगाए, अधिकांश देशले चार्टर फ्लाइट गरेर आफ्ना नागरिकलाई स्वदेश लिएर गए। उहानका मान्छेहरू अन्य देशमा भ्रमण गर्न जाने प्रक्रिया चलिरहेको थियो। हामी मानव निर्मित हवाईजहाज तथा पानीजहाज चढेर धेरै देशमा पुग्यौं, बिनाभिसा र बिनापैसा। हामीलाई पाहुना बनाएका ती व्यक्तिहरू रोगको लक्षणपूर्वको अवस्थामा थिए। लक्षणपूर्वको अवस्थामा कोरोना संक्रमण सर्ने उर्वर समय हो भन्ने उनीहरूलाई थाहा भएन।

युरोप, अमेरिकालगायत देशका मान्छेले हामीलाई स्टेडियम, बार, रेस्टुरेन्ट, क्यासिनो, नाइट क्लब, अस्पताल, फिल्म हल आदिमा पुर्‍याए। हामीलाई बोकेका मान्छे जता गए, हाम्रो फैलावट दिन दुगुना रात चौगुना हुँदै गयो। 
अमेरिकाका राष्ट्रपतिले चाइनिज भाइरस भनेर हामीलाई हेपे। ब्राजिलका राष्ट्रपति, रुसका राष्ट्रपति तथा अन्य देशका शक्तिशाली व्यक्तिहरूले हामीलाई हेप्नु हेपे। अमेरिकामा हाम्रोविरुद्ध बन्दुक र्‍याली भयो। ठूलाठूला क्षेप्यास्त्र र शक्तिशाली बम त बेलुनजस्ता भए भने नाथे बन्दुकले हामीलाई के नै पो हुन्थ्यो र ?

हामी कहिले सार्स त कहिले मर्स बनेर पहिले पनि आएका थियौं। हामी पटकपटक आउन सक्छौं भनेर मान्छेले मास्क, पीपीई, आईसीयूको क्षमता, अक्सिजन, भेन्टिलेटर, औषधि तथा खोपमा ध्यान दिनुको साटो मिसाइलमा ट्रिलियन डलर खर्च गरिरहे। कठै ! ती हतियार टिटानसका बासस्थानमा परिणत भए। आणविक रूपमा शक्तिशाली देशको शक्ति संसारले छर्लंग देख्यो, स्वास्थ्य सुविधा उत्कृष्ट भएका देशको कथा पनि संसारले पढ्यो। खाद्य तथा औषधिको स्टोर पनि संसारले छर्लंगै देख्यो।

जंगलमा आगो लागेपछि, बस्तीमा भेल पसेपछि, युद्ध सुरु भएपछि तथा महामारी फैलिएपछि कर्ताको पनि केही लाग्दैन। उसले चाहेर पनि नियन्त्रण गर्न सक्दैन। यो महामारी हाम्रो हातबाट अघि बढिसक्यो। जनस्वास्थ्यका मापदण्ड पालना गरेर तथा नियन्त्रणको प्रभावकारी उपाय अवलम्बन गरेर यो महामारीलाई साम्य बनाउन सकिन्छ।

मान्छेहरू पैसा कमाउने मेसिनमा परिणत भएका थिए। जति कमायो त्यति तिर्खा लाग्ने रोगले ग्रस्त भएका थिए। उनीहरू आफ्नो परिवारलाई समेत समय दिन नसक्ने पागलपनमा सवार थिए। पैसा, पद, शक्ति, सम्मान तथा सुविधाको नाममा मेसिन भएका मान्छे अहिले ग्यारेजमा थन्किएका छन्। अझै पनि यति घाटा लाग्यो भनेर औंला भाँच्दैछन्। दैनिक काम गरेर खाने मान्छेहरू भोकको कारणले मृत्यु हुँदा पनि यिनका मनमा कहिल्यै हरि पलाएन।

मान्छेहरूले यतिविधि हाम्रो घृणा गर्नु जरुरी छैन। हामी सार्सजस्तो १० प्रतिशत मृत्युदर वा मर्सजस्तो ३० प्रतिशत मृत्युदर वा इबोलाजस्तो ५१ प्रतिशत मृत्युदर बोकेर आएको भए अहिले के स्थिति हुन्थ्यो होला ? हामी ९० प्रतिशत मृत्युदर बोकेर आएको भए ? हामी मान्छेलाई मार्न होइन, सबक सिकाउन आएका हौं। हामीले पशुपक्षीलाई केही गरेका छैनौं, वनस्पतिलाई केही गरेका छैनौं, भुसुनालाई समेत केही गरेका छैनौं। अप्रिय मान्छे ! तिमीले पक्कै पनि केही बुझ्यौ कि भन्ने हाम्रो विश्वास छ। अबको युद्ध हतियारले होइन, जीवाणुले हुनेछ भनेर तथ्यबोध गर्नु जरुरी छ।

इटाली, न्युयोर्क, लन्डन, ब्राजिल लगायतका ठाउँले हृदयविदारक पीडा भोग्नु पर्‍यो। मान्छेसँग लड्नका लागि उनीहरूसँग हतियार थियो तर हामीसँग लड्न चाहिने मास्क, पन्जा, चस्मा, पीपीई, औषधि, बेड तथा भेन्टिलेटर पर्याप्त थिएनन्। त्यहाँ हाम्रो आक्रमणले डरका कारण धेरै जनाको मृत्यु भएको थियो। डेथ अडिट गरेको भए सबै जानकारी आउने थियो। 

आत्मबल बलिया भएका मान्छेसँग हाम्रो केही चल्दैन। हामीलाई मान्छेको शरीरमा पस्न निकै सजिलो छ। नाक, मुख र आँखाबाट हामी मान्छेको फोक्सोमा पुग्छौं। फोक्सोमा भएका कोषलाई हाइज्याक गरेर हामीहरू फोटोकपी गरेजस्तै ठूलो संख्यामा मान्छेको फोक्सोमा रहन्छौं। हामी जीवित कोषमा छोटो जीवन बिताउँछौं, प्रायःजसो केही हप्ता मात्र। तर हाम्रा अनुजहरू रक्तबिज जस्तै फैलिन्छन्, करोडौंको संख्यामा। हामी मान्छेको प्रतिरक्षा प्रणालीमाथि आक्रमण गर्छौं। हामीले कोषहरूलाई नष्ट गर्दै फोक्सोलाई पानी र पीपले भर्छौं।

 त्यसपछि मान्छेका संवेदनशील अंगहरू जस्तै मस्तिष्क, मुटु, मिर्गौला, कलेजो तथा स्नायुमा अक्सिजन सप्लाई कम वा बन्द गरेर कमजोर बनाउँछौं। रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिको सजिलै मृत्यु हुन्छ भने उमेरदार र स्वस्थ व्यक्तिलाई मार्न हामी असमर्थ हुन्छौं। त्यति मात्र होइन, हामीले शरीरका विभिन्न भागमा रगत जमाएर ढिक्का बनाउँछौं, यसको दीर्घकालीन असर रहिरहन्छ।

हामीले मान्छेले जस्तै आफ्नो स्वरूप फेरिरहन्छौं। म्युटेसन भएपछि कहिले कमजोर हुन्छौं त कहिले शक्तिशाली हुन्छौं। कहिले लक्षणरहित हुन्छौं त कहिले लक्षणयुक्त। हाम्रोबारेमा विश्व स्वास्थ्य संगठनलगायत ठूला संस्था एवं वैज्ञानिकले समेत कुरा फेरिरहन्छन्। सुरुमा विश्व स्वास्थ्य संगठनले भनेको थियो, स्वस्थ व्यक्तिले मास्क लगाउनु पर्दैन। पछि आफ्नो धारणा परिवर्तन गर्‍यो। पहिले लक्षणविहीन संक्रमितले रोग सार्न सक्दैनन् भन्यो। पछि सक्छन् भन्यो। हाम्राबारे यो संसारमा कोही पनि विज्ञ छैन। जसले अध्ययन र अनुसन्धान गरेर नियमित अपडेट हुन्छ, त्यही नै विज्ञ हो भन्ने हाम्रो बुझाइ छ।

मान्छेको मूर्खता देखेर कहिलेकाहीँ हामी हाँस्ने गर्छौं। जब हामीले जोखिम वर्गलाई आक्रमण गर्छौं, उनीहरूको पहिलेदेखि कमजोर अंगलाई फेल गराउँछौं। प्रतिरक्षा प्रणालीमा आक्रमण गर्छौं र उसको मृत्यु हुन्छ। मान्छे भन्छन्— ऊ आफ्नो पुरानो रोगले मरेको हो, कोरोना त देखिएको मात्र हो। यो सरासर गलत धारणा हो। हामीले आक्रमण नगरेको भए ती दीर्घबिरामी अरू थप वर्षहरू बाँच्ने थिए।

मान्छेका बानी हाम्रा लागि निकै अनुकूल विषय भएका छन्। दिनमा दर्जनौंपटक अनुहार छुने, मास्क नलगाउने, लगाए पनि नाकमुनि वा चिउँड़ोमुनि लगाउने, भीडभाडमा जाने, हामी लुकेर बसेका ठाउँमा छोएपछि हात नधुने, झ्यालढोका बन्द गरेर बस्ने तथा आफ्ना मान्छे भएको ठाउँमा पहिलेजस्तै असुरक्षित व्यवहार गर्दा हाम्रा सिपाहीहरूलाई निकै सजिलो भएको छ। मास्क मात्र नभएको भए मान्छेको कुन हालत हुन्थ्यो कल्पनातीत विषय छ।

मान्छेप्रति हामी निकै आभारी छौं। उनीहरूले यातायातका साधन नबनाएका भए हामी उहानमा मात्र सीमित हुने थियौं। चीन सरकार कठोर छ, चिनियाँ जनता धेरै अनुशासित छन्, त्यसैले हामीलाई उनीहरू मन पर्दैन। हामीलाई त मास्क नलगाउने, कोरोना पार्टी गर्ने, बन्द हलभित्र कन्सर्ट गर्ने, गाउने, चिच्याउने, सडकमा जुलुस तथा विरोध प्रदर्शन गर्ने एवं हामीलाई सामान्य रुघाखोकी भनेर बेवास्ता गर्ने व्यक्ति तथा समाज निकै प्रिय लाग्छ।

परीक्षण, क्वारेन्टाइन, आइसोलेसन, अस्पताल, लकडाउन तथा कफ्र्यु हामीलाई पटक्कै मन पर्दैन। नेपालमा संक्रमित देशबाट तथा रेड जोनबाट घनाबस्ती भएका ठाउँमा ह्वाहर्वार संक्रमित आएको, उनीहरूलाई नाकामा क्वारेन्टाइनमा नराखेको, अलिकतिलाई टेस्ट गरेर सहर छिर्न दिएको र तीन दिनपछि तपाईं पोजिटिभ हुनुहुन्छ भनेर फोन गएको तथा यो बीचमा ती मान्छेले धेरैलाई संक्रमित बनाएको गतिविधि एकदम मन परेको छ। क्याबात् सरकार !

गुलियो, चिल्लो र जंक फुड खाएर अत्यधिक मोटाउने, शारीरिक श्रम नगरेर सानो उमेरमै दीर्घबिरामी हुने, बाहिरको खाना खाने, घाम नताप्ने, समयमा नसुत्ने लगायतका बानी भएका मान्छे हाम्रा प्रिय बासस्थान हुन्। त्यति मात्र होइन; लोभ, मोह, अहंकार, प्रज्ञापराध लगायतका बानी तथा एकअर्कोलाई सहयोग नगरेर प्रतिस्पर्धा गर्ने बानीले सिर्जित मानसिक तनाव हाम्रा लागि रमाइलो कुरा हो। आफूले आफ्नो आत्मबल घटाउने, अर्को व्यक्तिको प्रगतिमा ईष्र्या गर्ने, जति भए पनि सन्तुष्ट नहुने तथा अतिरिक्त अनुरागको बानीले मान्छेको रोगसँग लड्ने क्षमता घटेको छ। त्यस्ता व्यक्ति हाम्रा लागि सही निशाना हुन्।

हामीलाई अचम्म लाग्छ कि स्वास्थ्य सेवालाई व्यापार बनाइएको छ। नजन्मिएको बच्चाले तथा कोमामा पुगेको अर्थात् होश नभएको बिरामीले समेत उपचारको शुल्क तिर्नुपर्ने देशमा सामाजिक सुरक्षाको के कुरा गर्नु ? अस्पतालले उद्योगसँग प्रतिस्पर्धा गर्ने, चिकित्सकले व्यापारीसँग प्रतिस्पर्धा गर्ने तथा औषधि कम्पनीले डिस्टिलरीसँग प्रतिस्पर्धा गर्ने अचम्मको स्वास्थ्य प्रणाली मान्छेले विकास गरेका छन्। हाम्रा पूर्वज सार्स तथा मर्स भाइरसका औषधि र खोप बनाएको भए अहिले हाम्रो जगजगी हुने थिएन। ४० वर्षपहिले देखिएको एचआईभी एड्सको खोप किन बनाइएन ? बर्ड फ्लु, स्वाइन फ्लुमात्र होइन; जनै खटिराको समेत खोप बनाइएको छैन। यसबाट अनुमान गर्न सकिन्छ कि मान्छेहरू आफूलाई बचाउने औषधि र खोपमा पनि नाफाघाटाको हिसाब गर्छन्।

हामीले सार्ने कोभिड-१९ को कुनै औषधि छैन। तर, औषधि माफियाहरू अहिले चर्को मूल्यमा विभिन्न औषधिको व्यापार गरिरहेका छन्। मलेरियाको औषधि हाइड्रोक्सोक्लोरोक्विनले मान्छेको मुटु तथा आँखामा गम्भीर असर गर्छ। यस्तो घातक औषधिको प्रयोगले धेरै संक्रमितको मृत्यु भएको हामीले सुनेका छौं। इबोला, एचआईभी र एड्स, जापानी इन्फ्लुएन्जा आदिका औषधि अन्धाधुन्ध चलाएको, ती औषधिको ‘ब्ल्याक मार्केट’ स्थापना गरिएको, संक्रमितलाई उपचारको नाममा सर्वस्वहरण गरेको तथा सुरक्षित मानिएका वनस्पतिजन्य औषधिलाई अवैज्ञानिक भनेर निरुत्साहित गरिएको देख्दा हामी कोरोना भाइरस खुसीले गद्गद् भएका छौं। एउटा रोगका लागि प्रयोग गरिने औषधिले पाँचवटा रोग लाग्ने अवस्था किन भइरहेको छ ? यो विषयमा हामीभन्दा मान्छे विज्ञ छन्।

सच्चा भाइरस हामी हौं कि मान्छे भन्ने विषयमा कहिलेकाहीँ हामीलाई संशय हुन्छ। हामी पनि एक ठाउँबाट अर्को ठाउँमा जान्छौं, हामी पनि जसले बस्न दिन्छ त्यसलाई आक्रमण गर्छौं, हामी पनि पस्ने बेला सियो भएर निस्किने बेला हात्ती हुन्छौं, हामी पनि कमजोरलाई आक्रमण गर्छौं। तर हामी मान्छेजस्तो कृतघ्न छैनौं। हामीले मानिसले जस्तो आफ्नो प्रजातिलाई मार्दैनौं, आक्रमण गर्दैनौं।

मूर्ख शासक हुनु हाम्रा लागि खुसीको कुरा हो। चाइनिज भाइरस भनेर हेप्ने अमेरिकाका राष्ट्रपति, सानो फ्लु भनेर हेप्ने ब्राजिलका राष्ट्रपति, आफ्नो देशमा यो भाइरस छिर्दैन भन्ने रुसका राष्ट्रपति, महामारीको अनुमान गर्न नसक्ने युरोपका केही देशका शासकहरू, मृतकको संख्या एक तिहाइ मात्र बताउने इराक सरकार लगायतका धेरै नेतृत्वका कारण हामी कोरोना गणलाई महामारी फैलाउन ठूलो सहयोग भएको छ। हामीले १० महिनाको समय दिँदा पनि आफूले तयारी नगर्ने तर जनतालाई गाली गरिरहने पदाधिकारी भएका देश पनि हाम्रा लागि उर्वर भूमि हुन्। टेस्ट, ट्रेस र ट्रिटलाई प्रभावकारी ढंगले कार्यान्वयन नगर्ने सरकारहरूलाई पुरस्कृत गरौं गरौं भन्ने भावना हामीमा आइरहन्छ।

इमानदार सरकार र अनुशासित नागरिक भएका देशहरू हामीलाई नष्ट गर्ने काममा सफल भएका छन्। न्युजिल्यान्डकी प्रधानमन्त्री त हामीलाई निमिट्यान्न पारेको खुसियालीमा छमछम नाचेको समाचार हामीले सुन्यौं। सरकारप्रमुख वा स्वास्थ्यमन्त्री विज्ञ भएका देशहरू, महिलाको नेतृत्व भएका देशहरू तथा विज्ञहरूको रोडम्यापमा चलेका देशहरूमा हामीलाई प्रभावकारी ढंगले नियन्त्रण गरेका छन्।

भारतको बिहार, उत्तर प्रदेश र पश्चिम बंगाल अबका हाम्रा हट स्पोट हुन्। सिमानामा सुरक्षाकर्मी र स्थानीय जनता परिचालन गरेर चौबीसै घण्टा गस्ती नगरे हामीलाई नेपालमा आफ्नो काम तमाम गर्न सजिलो हुनेछ। काठमाडौंलगायत जनघनत्व धेरै भएको ठाउँमा अहिलेजस्तै लक्षित समूहमा परीक्षण नगर्ने, आवतजावतलाई फिलिली बनाउने, कन्ट्याक्ट ट्रेसिङ नगर्ने तथा उपचारका तयारी नगर्ने हो भने हामी कोरोना भाइरसलाई खुदो हुनेछ।

सही तरिकाले अनिवार्य रूपमा मास्क नलगाउने, दूरी कायम नगर्ने, भीडभाड गर्ने, जमघट गरेर पर्व मनाउने, हात नियमित रूपमा सफा नगर्ने, जहाँ पायो त्यहीँ थुक्ने तथा बन्द हलमा कार्यक्रम गर्ने नागरिक हाम्रा लागि अत्यन्तै प्रिय व्यक्ति हुन्। हामीले उनीहरूलाई माया गरेर संक्रमित बनाउनेछौं अनि उनीहरूमार्फत अन्य धेरैलाई संक्रमण सार्नेछौं। आफ्नो धर्म निर्वाह गर्न हामी स्पष्ट छौं, कुशल छौं तथा हाम्रो रणनीति समयअनुसार फेर्न माहिर छौं। 

नेपाललाई हामीले सुरुमा धेरै दया गरेका थियौं। हवाईजहाज चढेर हामी थोरै मात्र आएका थियौं। चीनबाट युरोप, अमेरिका, बेलायत, ल्याटिन अमेरिका, अफ्रिका, अरब, भारत हुँदै नेपाल आउँदा हामी निकै थाकेका थियौं। यता आएपछि लामो समय हामी आराम गरेर बस्यौं। त्यसैले त लक्षणविहीन र कमजोर भएर बसेका थियौं। भारतसँग १८०० किलोमिटरभन्दा लामो खुला सिमाना भएको देशले पर्याप्त समय हुँदासमेत बोर्डर सिल गरेन। हामी कहाँ छौं भनेर जाँच भएन, अस्पतालको हालत सुधार भएन, आईसीयू बेडको पर्याप्त संख्या बढाइएन, हरेक अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएन, संसारमै राम्रो काम गरेका औषधि किन्ने काम भएन, भेन्टिलेटर पर्याप्त थपिएन, सम्भावित भोकमरीको वास्ता गरिएन। 

हामीसँग जनता त्राहिमाम भएको समयमा नेताहरू बकम्फुसे गफ लडाउन र आपसमा चिथोराचिथोर गर्न व्यस्त भए। हाम्रो नाममा भएको ठूलो अनियमितता देखेर हामीसमेत तीनछक पर्‍यौं अनि सक्रिय हुन बाध्य भयौं। नेपाललाई एउटा ठूलो मौका दिएका थियौं तर नेपालले त्यो मौकाको सदुपयोग गरेन। भुटान, श्रीलंका, माल्दिभ्स, भियतनाम, कम्बोडिया लगायतका देशले यस्तो मौकाको राम्ररी सदुपयोग गरे।

हाम्रो मृत्युदरका बारेमा भएका बहस सुन्दा हामी स्तम्भित भएका छौं। हामी सक्रिय उमेरका व्यक्तिमा फैलिएको अवस्थामा मृत्युदर एउटा र जोखिम वर्गमा फैलिएको अवस्थामा मृत्युदर अर्को हुन्छ भन्ने सबैले बुझ्नु जरुरी छ। भाइरसको नाताले हामी के भन्छौं भने— जसले पोसिलो खाना खान्छ, नियमित व्यायाम गर्छ, पर्याप्त सुत्छ, तनाव व्यवस्थापन गर्छ, सुरक्षित रहने हरदम प्रयास गर्छ तथा धेरै डर र चिन्ता मान्दैन; त्यस्ता व्यक्तिलाई हामी केही गर्न सक्दैनौं। हाम्रो कमजोरी यही हो। 
मान्छेहरू सोध्छन्— महामारी कहिले नियन्त्रण हुन्छ ?
महामारीबाट बच्ने चार अवस्था हुन्छन् :
– हामी अर्थात् कोरोना भाइरस म्युटेसन हुँदै जाँदा कमजोर भएमा।
– प्रभावकारी खोप आएमा।
–    मान्छेहरू संक्रमण भएर निको भएमा।
– संक्रमण धेरै फैलिएर हर्ड इम्युनिटी प्राप्त गरेमा।

अन्त्यमा, 
एकपटक संक्रमण भएर निको भएको व्यक्तिले अरूलाई रोग सार्न सक्दैन। ऊ आफू पनि इम्युन हुन्छ, अन्य संक्रमित व्यक्तिलाई उसको प्लाज्मा उपयोगी हुनसक्छ। तसर्थ संक्रमण भएका वा निको भएका व्यक्तिलाई हेला गर्ने, अछूत व्यवहार गर्ने गरेमा हामी कोरोना गण मान्छेको अज्ञानता देखेर झन् उत्साहित हुनेछौं। जंगलमा आगो लागेपछि, बस्तीमा भेल पसेपछि, युद्ध सुरु भएपछि तथा महामारी फैलिएपछि कर्ताको पनि केही लाग्दैन। उसले चाहेर पनि नियन्त्रण गर्न सक्दैन। यो महामारी हाम्रो हातबाट अघि बढिसक्यो। जनस्वास्थ्यका मापदण्ड पालना गरेर तथा महामारी नियन्त्रणको प्रभावकारी उपाय अवलम्बन गरेर यो महामारीलाई साम्य बनाएपछि हामी र मान्छेबीच सहअस्तित्वको सम्झौता हुनेछ अनि हामी एकअर्काको बस्तीमा अतिक्रमण गर्ने छैनौं। अन्नपूर्णबाट

प्रतिक्रिया दिनुहोस