तीन दिनको मौसम पूर्वानुमानः यस्ताे छ

तीन दिनको मौसम पूर्वानुमानः यस्ताे छ

पाल्पा, साउन २५ – आइतबार र साेमबार वर्षाकाे संभावना रहेकाले बाढी, पहिरोको र डुबानको जोखिम बढेको छ । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै रहेकाले देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज पूर्वको तुलनामा पश्चिम र मध्य क्षेत्रका धेरै ठाउँमा पानी पर्ने संभावना छ । मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र  सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने र अरु धेरैजसो ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम खालको पानी पर्ने संभावना छ । यस्तै राति प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा प्रदेश २ र वाग्मती प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने पूर्वानुमान गरिएको छ ।  

यसैबीच कैलाली, कन्चनपुर र बर्दियाको धेरै ठाउँमा निकै ठूलो पानी परेकाले टिकापुर आसपासको क्षेत्र डुबानको उच्च जोखिम परेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले कान्द्रा, मोहना, घुराहा, खुट्टिया, स्याउली र चौधर नदीको तटीय क्षेत्रका बासिन्दाले उच्च क्षेत्रमा बस्न आग्रह गरेको छ ।

यस्ताे छ, २५–२७ गतेसम्मकाे माैसम

मौसम विश्लेषण (Meteorological Analysis):-

मनसुनी न्युन चापीय रेखा हाल नेपाल नजिक दक्षिण तर्फ अवस्थित छ ।

हालको मौसमको अवस्था (Present Weather Status):

हाल देशका अधिकांश भू-भागहरुमा  समान्य देखि पूर्ण बदली रहेको छ भने प्रदेश १ र प्रदेश २ का थोरै तथा बाँकी प्रदेशहरुका केही स्थानहरुमा बर्षा भईरहेको छ।साथै सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षा पनि भैरहेको छ ।

आगामी तीन  दिनको मौसम पूर्वानुमान

साउन २५ गते (आईतबार)

दिउँसो : देशभर सामान्य देखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, र  सुदुरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती : देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश नं १, गण्डकी प्रदेश,  प्रदेश नं ५ , कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरु साथै प्रदेश नं २  र बागमती प्रदेश का  एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

साउन २६ गते (सोमबार)

दिउँसो : देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश,  प्रदेश नं ५,कर्णाली प्रदेश र  सुदुरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती : देशका अधिकांश भू-भागमा सामान्य  वदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १,  गण्डकी प्रदेश,  र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरु साथै  बागमती प्रदेश का  एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

साउन २७ गते (मंगलबार)

दिउँसो : देशभर आशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्य  वदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशका प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका का थोरै स्थानहरूमा भारी वर्षाको समेत हुनसक्ने देखिएकोले उक्त स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस