कोरोना संक्रमितलाई के खुवाउने ? के नखुवाउने ?

कोरोना संक्रमितलाई के खुवाउने ? के नखुवाउने ?

काठमाण्डाैं, साउन २५

कोरोना भाइरस (कोभिड- १९) संक्रमितको संख्या नेपालमा पनि उकालो लाग्दो छ । आइसोलेसन र क्वारेन्टाइनमा संक्रमित र आशंका गरिएकाहरूलाई राखिएको छ ।  

कोरोना भाइरसको औषधि पनि छैन । यसलाई निको बनाउने भनेको आफैँले हो । यसका लागि खानपान र जीवनशैलीलाई परिवर्तन गर्नु आवश्यक छ । जोसँग इम्युनिटी पावर धेरै छ, उसले रोगसँग सजिलै लड्न सक्छ । त्यसैले आइसोलेसनमा रहेका संक्रमितलाई इम्युनिटी पावर बढाउने खानेकुरा खुवाउनुपर्छ ।  

तर, उनीहरूका लागि पौष्टिक खाना नभएको गुनासो आइरहेको छ । चाउचाउ र बिस्कुटजस्ता खानेकुराले झन् असर गर्ने जनस्वास्थ्यविद्हरू बताउँछन् । यस्तै खानेकुरा संक्रमितलाई दिने गरेको पाइएको छ । संक्रमितका लागि खानेकुरा सरकारले नै व्यवस्था गरेको छ ।  

‘एक दिन खाएर मात्र रोगसँग लड्ने क्षमता बढ्ने होइन’, डा. अरुणा उप्रेती भन्छिन्, ‘हामीले हाम्रो जीवनशैली र खानपानलाई परिवर्तन गर्नु आवश्यक छ ।’

परम्परागत ज्ञान र जडिबुटीको प्रयोगमा जोड दिने हो भने इम्युनिटी पावर बढाउन सकिन्छ । ‘आधुनिक औषधिकोे मात्र कुरा हुन्छ’, उनले भनिन्, ‘हाम्रो घरआँगनको खानेकुराले पनि रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउँछ ।’

आइसोलेसनमा रहेका संक्रमितलाई भात, तरकारीमा मसला प्रयोग गरेर दिन उनले आग्रह गरिन् । ‘ज्वानो, मेथी, बेसार र मरिचजस्ता मसला खानामा प्रयोग गर्नुपर्छ’, उनले भनिन्, ‘तुलसीको पत्ता, शीतलचिनीलगायतका जडिबुटी संक्रमतिलाई खुवाउने हो भने इम्युनिटी पावर बढ्छ ।’

संक्रमितलाई भिटामिन डीको कमी

अध्ययनमा संक्रमितहरूलाई भिटाममिन डीको कमी भएको पाइएको छ । त्यसैले उनीहरूलाई बिहानको घाममा राख्नुपर्ने हुन्छ । 

‘भिटामिन डी कम भएकालाई सर्ने जोखिम पनि हुन्छ’, उनले भनिन्, ‘भिटामिन डीका लागि घाममा राख्नुपर्छ । ’

पत्रु खाना नदिऔँ

आइसोलेसनमा भएकालाई पत्रु खाना (जङ्क फुड) नदिन उनले आग्रह गरिन् । ‘पत्रु खानाले झन् जोखिम बढ्छ’, उनले भनिन्, ‘बरु स्थानीय खाना अण्डा, दाल, भात, कोदो, मकै, फापर, गँहुमा जोड गरौँ ।’

यी खानेकुराले इम्युनिटी पावर बढ्छ

बेसार, मरिच, खोर्सानी, जिरा, धनियाँ, मेथी, टुसा उमारेका खानेकुरा, मह, कागती, अमला, अम्बा, फलफूल, दही, मोही, चिज, माछा-मासु र अण्डा राम्रोसँग पकाएर खाने ।

यी खानेकुरा हाम्रो घरआँगनमा सहजै पाइन्छन् । एक दिन मात्र होइन, नियमित हामीले यी खानेकुरा खाने हो भने रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढ्छ, जसले आफूलाई पनि स्वस्थ राख्छ, अरूलाई पनि रोग सर्नबाट जोगाउँछ । 

डा. उप्रेतीका अनुसार यस महामारीसँगै हामीले हाम्रो खानपान र जीवनशैलीलाई बदल्नु आवश्यक छ । 

जीवनशैली बदल्न के गर्ने ? 

धुमपान, मद्यपान नगर्ने, नियमित ब्यायाम गर्ने, ध्यान, योग गर्ने, किताब पढ्ने, समयमा सुत्ने, समयमै उठ्ने, सकारात्मक सोच्ने, तनाव नलिने । https://shilapatra.com

प्रतिक्रिया दिनुहोस