बुटवलकाे लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका बिरामीमा कोरोना

बुटवलकाे लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका बिरामीमा कोरोना

बुटवल, साउन २०

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गराइरहेका बिरामीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भर्ना भइ उपचाररत व्यक्तिकाे प्रादेशिक अस्पतालको प्रयोगशालामै भएको परीक्षणमा कोरोना संक्रमण देखिएको हो । सङक्रमित कपिलवस्तुका पुरुष हुन् । आइतबार अस्पतालको आकस्मिक कक्षमा भर्ना भएर सोमबार साधारण बेडमा सरेका व्यक्तिमा सङक्रमण भएकाे अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

निमोनियाको उपचार गर्न आएका २२ वर्षीय ती पुरुषको रिपोर्ट पोजेटिभ आएपछि उनको उपचारमा संलग्न स्वास्थ्यकर्मी र चिकित्सकहरुलाई क्वारेन्टिनमा पठाइसकिएको सूचना अधिकारी डा. गौतमले बताए ।

तिलोत्तमा र स्याङ्जाका पुरुषमा पनि कोरोना

प्रादेशिक अस्पतालको प्रयोगशालामै भएको परीक्षणमा रुपन्देहीको तिलोत्तमा र स्याङ्जाका एक–एक जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

स्याङ्जाका संक्रमित विदेशबाट आएका हुन् । उनी पनि आफैं पीसीआर परीक्षण गराउन आएका थिए । संक्रमितहरु सबैलाई आइसोलेसनमा राखेर उपचार थालिएको डा. गौतमले बताए ।

यसैगरी तिलोत्तमाका संक्रमित कपिलवस्तुमा औषधि लिएर गएको समयमा मेडिकलका सञ्चालकका छोरीहरुमा कोरोना संक्रमण भएको थाहा पाएपछि आफ्नो पीसीआर परीक्षण गराउन अस्पताल आएका थिए ।

तीन जनामा कोरोना संक्रमण पुष्टि भएलगत्तै सबै निकायहरुमा जानकारी गराएर कन्ट्याक्ट ट्रेसिङको काम अघि बढिसकेको अस्पतालका सूचना अधिकारी डा. गौतमले बताए । अस्पताललाई सेनिटाइज्ड गरेर सबै सेवा सुरु गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस