पाल्पाको जिल्ला अस्पतालबाट तलब, काम रुपन्देहीको निजी क्लिनिकमा…

पाल्पाको जिल्ला अस्पतालबाट तलब, काम रुपन्देहीको निजी क्लिनिकमा…

पाल्पा, असार १९

जिल्ला अस्पताल पाल्पामा कार्यरत हेल्थ असिस्टेण्ट छविराज गिरी १ सय ४० दिनदेखि कार्यालयको सम्पर्कभन्दा बाहिर रहेका छन।

कर्मचारी समायोजनका क्रममा जिल्ला अस्पताल पाल्पामा दरबन्दी भएका सिनियर हेल्थ असिस्टेण्ट गिरी १ सय ४० दिनदेखि कार्यालयमा उपस्थित नभएपछि उनको नाममा ७ दिने सूचना जारी भएको छ।

प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालयले शुक्रबार गिरीको नाममा ७ दिने सूचना जारी गर्दै स्पष्टीकरण पेश गर्न भनिएको छ भने जिल्ला अस्पताल पाल्पामा दरबन्दी रहेका गिरी गत फागुन २ गतेदेखि कार्यालयमा उपस्थित भएका छैनन।

पाल्पा जिल्ला अस्पतालले आफ्नो कर्मचारी बिना सूचना लामो समयदेखि कार्यालयमा उपस्थित नभएपछि प्रदेश न-५ को सामाजिक विकास मन्त्रालयमा लेखि पठाएको थियो भने कर्मचारी सम्पर्कविहीन भएपछि प्रदेश न-५ को सामाजिक विकास मन्त्रालयले शुक्रबार ७ दिने सूचना जारी गर्दै सेवाबाटै बर्खास्त किन नगर्ने हो सो को स्पष्टीकरण पेश गर्नु भनेको छ।

मन्त्रालयको ७ दिने सूचनामा भनिएको छ,‘तपाईं छविराज गिरी पाल्पा अस्पताल तानसेनको पत्र तथा दैनिक रुपमा सोही अस्पतालबाट प्राप्त हाजिरी विवरणअनुसार सम्बन्धित कार्यालयबाट विदा स्वीकृत नगराई मिति २०७६ -११-०२ देखि हालसम्म पनि अस्पतालमा उपस्थित नभएको र स्वास्थ्यकर्मीहरुलाई लकडाउनको समयमा समेत अनिवार्य उपस्थितिका लागि स्वास्थ्य मन्त्रालयबाट पटकपटक भएको निर्देशन समेतलाई बेवास्ता गरेको भन्ने व्यहोरा बुझिन आएकाले नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ बमोजिमको काम गरेकोमा तपाईलाई नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ बमोजिम भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाउनु नपर्ने वा बर्खास्त गर्नु नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र यस मन्त्रालयमा स्पष्टीकरण सहित उपस्थित हुनुहोला।’

यसअघि जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीमा दरबन्दी रहेका गिरी २०७६ मंसिर २७ गते प्रदेशिक मन्त्रालयको सचिवस्तरीय निर्णयबाट जिल्ला अस्पतालमा पदस्थापन भएका थिए। 

जिल्ला अस्पताल पाल्पाबाट तलब खानेगरी पदस्थापन भएका भएपनि गिरी भने रुपन्देहीको देवदहमा रहेको आफ्नै निजी क्लिनिकमा मेडिकल प्राक्टिस गरिरहेका छन उनि देवदहमा रहेको अनिता मेडिकल नामक क्लिनिकमा काम गरिरहेका छन।

हाम्रो सम्पर्कमा आएका गिरीले भने आफू बिरामी भएको कारण अस्पतालमा जान नसकेको दाबी गरे‘किन हो तपाईँ १ सय ४० दिनदेखि दरबन्दी रहेको स्थानमा जानु भएको रहेन छ नि’ भन्ने रातोपाटीको प्रश्नमा उनले भने, ‘म बिरामी भएकाले बिदा लिएर नै बसेको हुँ ।’

तर जिल्ला अस्पताल पाल्पाको हाजिरी हेर्ने हो भने उनी मंसिर २७ गते सरुवा भएपछि माघको ५ गते मात्रै हाजिर हुन पुगेका छन भने माघको ५ गते हाजिर भई सोही दिन उनले १ साताको विदा माग गरी विदा बसेका थिए ।

गिरीको विदा माघ १२ गते सकिने भएपनि उनी एकैपटक फागुनको १ गतेमात्रै हाजिर हुन जिल्ला अस्पताल पुगेका छन भने फागुन १ गते हाजिर भई फागुन २ गतेदेखि १५ दिनका लागि विदा मागिएको भएपनि उनको विदा स्वीकृत भने भएन र विदा स्वीकृत नभएपछि गिरी रुपन्देहीस्थित आफ्नै घर फर्किए र आफ्नै क्लिनिकमा मेडिकल प्राक्टिस गर्न थाले ।

जिल्ला अस्पताल पाल्पाले ६० दिनसम्म गिरीको खोजी गरेन तर ६० दिन कटेपछि पनि उनी हाजिर हुन नआएपछि गिरीको नाममा जिल्ला अस्पताल पाल्पाले हाजिर हुन आउनेबारे पत्र काटेको देखिन्छ ।

२ पटक पत्र काट्दा पनि गिरी कार्यालयमा उपस्थित नभएपछि कारवाहीका लागि जिल्ला अस्पताल पाल्पाले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा लेखि पठाएको थियो ।

जिल्ला अस्पतालको पत्र प्राप्त भएपछि गिरीलाई सेवाबाटै बर्खास्त किन नगर्ने भन्दै प्रदेश सरकारले ७दिने सूचना जारी गरेको छ।नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ अनुसार कुनै कर्मचारी विदा स्वीकृत नगराई लगातार ६० दिनभन्दा बढी कार्यालयमा उपस्थित नभएमा बर्खास्त गर्न सकिनेछ भने नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ को उपदफा १ को ज मा यसबारे उल्लेख गरिएको छ ।

उनले भने‘काम गरेको ३५ वर्ष भइसक्यो ,पेन्सन पनि भयो त्यसकारण जागिर छाड्न लागेको हो केही बिदा बाँकी नै थियो त्यसकारण म कार्यालय नगएको हुँ अब आइतबार प्रदेश मन्त्रालयमा गएर राजीनामा दिन्छु ।’

गिरीले आफू बिरामी भएको दाबी गरेपनि उनले काम भने निजी क्लिनिकमा गरिरहेका थिए भने बिरामी मान्छेले कसरी निजी क्लिनिकमा काम गर्नुभयो त भन्ने हाम्रो संम्बादाताको प्रश्नमा उनले‘घरमा बस्न बोर लागेकाले क्लिनिकमा काम गरेको बताएका थिए। राताेपाटीबाट

प्रतिक्रिया दिनुहोस