नेपालमा कोभिड र कर्मकाण्डी नियन्त्रण

२०७७ जेठ २६, देबराज रेग्मी , चितवन । गत चैत्र महिनादेखि मुलुक कोरोना संक्रमणसँग जुधिरहेको छ। सरकारले कोरोना भाइरसको संक्रमण पत्ता लगाउने तथा तिनिहरूको व्यवस्थापन र उपचारको प्रयास जारी राखेको भएपनि उपलब्धि लगभग शुन्य छ । पछिल्लो तथ्यांक हेर्ने हो भने नेपाल सरकारको २ महिना भन्दा बढी लकडाउन पश्चात संक्रमणको सङ्ख्या आक्रमकरूपमा बढ्न थालेको छ। एकै दिनमा चार शयको हाराहारीमा संक्रमितहरु देखिन थालेका छन । जनस्वास्थ्यका जानकारहरुका अनुुसार सिमित टेस्टहरु हुदाँ पनि यसरि संक्रमितहरु ह्वात्तै बढीरहनु भनेको खतराको संकेत हो।


सरकार कोरोना नियन्त्रण गर्ने नाममा अव्यवस्थित र मापदण्ड बिनाका क्वारेन्टाइन बनाएर नियन्त्रणको भ्रम समुदायमा छरेको छ।
नाम मात्रका क्वारेन्टाइनमा बस्नेहरूबाट त्यहाँको सेवा-सुविधा, व्यवस्थाका बारेमा व्यापक गुनासो आइरहेको छ । उनीहरुको जोखिम पनि उच्च देखिन्छ । तसर्थ , नेपालको उच्च स्तरीय समन्वय समितिको कार्यशैलीप्रति आम समुदायको वितृष्णा बढिरहेको छ । यसले गर्दा सरकारले कोभिड १९ विरुद्ध गरिरहेको क्रियाकलाप कर्मकाण्डी भएको देखिन्छ।

पछिल्लो तथ्यांक हेर्ने हो भने नेपालमा ९५ प्रतिशत संक्रमितहरुमा कुनै लक्षण देखिएको छैन तर स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका अनुशार लक्षण बिहिनहरुलाइ पिसिआर टेस्ट नगरी घर पठाउने भनिएको छ। यसले संक्रमण नियन्त्रणमा अवरोध आउँनेमा कुनै दुई मत छैन ।

सरकारले महामारी नियन्त्रणको लागि विभिन्न स्वास्थ्य उपकरण, स्वास्थ्य सामग्री र सुरक्षा सामग्री खरिद गरेको छ। नेपालका विभिन्न शहरमा २० वटा कोरोना प्रयोगशाला निर्माण गरेको छ भने स्वास्थ्यकर्मीहरू निरन्तर उपचारमा खटाएको छ। तर, नियन्त्रणको प्रयास सफल देखिदैन ।

कोभिड-१९ को डर, त्रास, भय आम समुदायमा बढ्दै गएको छ । यसले चिन्ता, अनिद्रा, डेप्रेसन, आत्महत्याको विचार लगायत अरु कडा खालका मानसिक समस्या पनि देखिएका छन । संक्रमणको उच्च जोखिम, संक्रमणको भय र त्रास, अपर्याप्त सुरक्षा सामग्री, अधिक काम, सामाजिक उपेक्षा र निराशा जस्ता कारणले स्वाथ्यकर्मीमा तनाव, अनिद्रा, चिन्ता र डिप्रेसन जस्ता मानसिक स्वास्थ्य समस्याहरु देखिन थालेका समाचार बहिरिएका छ्न। अहिले कतिको रोजगारी गुमेको छ। कति आफ्नो बासस्थान पुग्न पाएका छैनन्। कति बाटोबाटोमा न खाने गाँस छ, न पिउने पानी छ, भोकै तिर्खै ज्यानको बाजी लगाएर हप्तौंहप्तासम्म हिँडेका छन् जसले गर्दा देशको आर्थिक र सामाजिक विकास तथा स्वास्थ्य क्षेत्रमा दीर्घकालीन नकरात्मक प्रभाव पर्न सक्नेमा कुनै दुई मत छैन । 

पछिल्लो समय भारतबाट अलपत्र नेपालीहरुलाई नेपाल भित्राएको सरकारले तिनिहरुको उचित ब्यबस्थापन गर्न सकेको छैन। नेपाल भित्रीएका नेपालीहरुलाई नाममात्रको क्वारेन्टाइनमा राखेर समुदायलाई उच्च जोखिममा राखेको सरकारले फेरि तेस्रो मुलुकहरूबाट पनि अलपत्र नेपालीहरुलाई नेपाल भित्राउने काम शुरु गरेको छ। अब फेरि तिनीहरुलाई पनि ब्यबस्थापन गर्न सकिएन भने झन जोखिम उच्च हुने पक्का छ।

लामो समयको लकडाउनले ठुलो आर्थिक क्षति भएको भन्दै सरकारले गत आइतबारदेखि लकडाउनको स्वरूप फेर्ने भनिएको भएपनि सरकारले कुनै निर्णय गरेको छैन। तर, सर्वसाधारण र ब्यापारीहरुले आफैँ विज्ञ बनेर आइतबारदेखि लकडाउन उल्लङ्घन गर्न थालेका समाचारहरु बाहिरिएका छन । यसले गर्दा समुदायका मानिसहरूमा महामारीको खतरा झन् बढेको छ भने मानसिक स्वास्थ्य एबम आर्थिक संकट निकै भयावह हुने निश्चित छ। तसर्थ, सरकारले कोरोना नियन्त्रणको लागि ठोस निर्णय लिनुपर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस